भर्निनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेको घरमा प्रहरीबाट खानतलासी
प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार
भर्जिनियाको मनसास पार्क प्रहरीले जुलाई ३१ मा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घरभित्रै खानतलासी गरेको छ । ३७ वर्षीय श्रीमान् नरेश भट्ट (भट्ट) र १ बर्षकी छोरीका साथ ममता काफले बस्दै आएको घारमा प्रहरीले बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको हो ।
बेलुका ७ बजेसम्म घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टीका पुलिसका गाडीहरु घरबाहिर पार्क गरिएको थियो। आज साँझ घरबाहिर १० वटा भन्दा बढी प्रहरीका कारहरु राखिएको थियो । प्रहरीले अगस्त ५ देखि ममता काफ्लेको खोजी तीब्र पारिरहेको छ ।
खानतलासीपछि प्रहरीले पत्रकार सम्मेलन गरेर यो अनुसन्धान प्रहरीका लागि उच्च प्राथमिकतामा रहेको बताएको छ । अनुसन्धानका क्रममा १० वटा सर्च वारेन्टहरु पूरा गरिएको र सयौं अन्तरवार्ताहरु लिइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने कुनै जानकारी भएमा प्रदान गर्न समुदायसमक्ष समेत आग्रह गरेको छ । अनुसन्धान जारी रहेको, सकृय रहेको र आफूहरुले अनुसन्धानमा प्रगति गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । समुदाय र मिडियाका धेरै प्रश्नहरु भएतापनि घटनाको अनुसन्धान भइरहेकाले ती प्रश्नको जवाफ दिन अहिले नमिल्ने प्रहरीको भनाई छ ।
खानतलासी अझै केही घण्टा जारी रहने प्रहरीको भनाई छ । खानतलासीपछि कुनै जानकारी प्राप्त भएमा सार्वजनिक गर्ने प्रहरीको भनाई छ । खानतलासीपछि कुनै जानकारी प्राप्त भएमा सार्वजनिक गर्ने प्रहरीको भनाई छ । ममता काफलेका श्रीमान नरेश भट्ट (भट्ट) प्रहरी अनुसन्धानमा चासोको विषय भएको प्रहरीले जानकारी दिएको छ । भोलिसम्म खानतलासीपछिको विवरण सार्वजनिक गर्ने आफूहरुको उद्देश्य रहेको प्रहरीले बताएको छ । ममताका श्रीमानले अनुसन्धानमा समन्वय नगरिरहेको प्रहरीले बताएको छ ।
मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गरेका थिए । तर श्रीमान नरेशले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् ।
अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारीहरूले प्रारम्भमा ममता बेपत्ता व्यक्तिको लागि भर्जिनिया राज्य प्रहरीको मापदण्ड पूरा नगर्ने निर्धारण गरेका थिए ।
अधिकारीहरूले त्यसपछि मानक अपरेटिङ प्रक्रियाहरू अनुसरण गरेर ममतालाई भर्जिनिया राज्य पुलिसमा हराएको व्यक्तिका रूपमा प्रविष्ट गराएका थिए । जसले राज्यव्यापी हराएको व्यक्तिको सूची सञ्चालन गर्छ । त्यसपछि अधिकारीहरुले उनको बेपत्ताको अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
भर्जिनिया राज्य प्रहरीले ममताको खोजीमा मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीहरूलाई सूची वितरण गरेको थियो । ममताले पछिल्लो दिनमा आफ्नो परिवारका सदस्यहरु, साथीहरू, रोजगारदातालाई कममात्र सम्पर्क गरेको तथा सामाजिक सञ्जाल पोस्टिङहरू पनि कम गरेको प्रहरीले पत्ता लगाएको थियो ।
यो र अन्य परिस्थितिहरूलाई ध्यानमा राख्दै प्रहरीले उनको हराएको स्थितिलाई अनैच्छिक र गम्भीर रुपमा हराएको व्यक्तिका रुपमा निर्धारण गरेको र थप स्रोतहरू अनुसन्धानको लागि खर्च गरेको जनाएको छ । प्रहरीले बेपत्ता व्यक्ति फ्लायरलाई सार्वजनिक गरेको जनाउदै जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको, जुलाई २८ मा साथीसँग कुरा गरेको र जुलाई ३१ मा उनका श्रीमानले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ ।
उनीबारे कुनै जानकारी भएमा मनासस पार्क पुलिसको फोन नम्बर ७०३ ३६१ ११३६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । गोप्यरुपमा पनि ७०३ ३३० ०३३० मा सम्पर्क गरेर जानकारी गराउन सकिनेछ । अधिकारीहरुले घटनाको सक्रियताका साथ अनुसन्धान गरिरहेका र विभागले यस मामलामा जानकारी उपलब्ध हुने बित्तिकै अद्यावधिकहरू प्रदान गर्ने प्रहरीले जनाएको छ ।
हराइरहेकी २८ बर्षीया ममता काफ्लेको ५ फिट उचाई, १३२ पाउण्ड तौल, कालो कपाल र गाढा खैरो आँखा भएको प्रहरीले व्याख्या गरेको छ । काभ्रेकी काफ्ले अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत रहेको उनको सामाजिक सञ्जाल प्रोफाइलमा उल्लेख रहेको छ ।
उनले अन्तिमपटक जुलाई २८ मा सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएको छ । अमेरिकामा नेपाली समुदायका तर्फबाट ममता सकुशल फेला पर्ने अपेक्षा र कामना गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।
यसैबीच एक गैर नाफामुलक संस्थाले ममता काफ्लेको खोजीमा सहयोग पुर्याउने कुनै पनि गोप्य जानकारीहरुका लागि ५ हजार डलर पुरस्कारको घोषणा गरेको छ । कुनै जानकारी भएमा सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्नुहोस् वा गोप्य रूपमा सुझावहरू पेश गर्न क्युआर कोड प्रयोग गर्न सुझाव दिइएको छ । जानकारी जतिसुकै सानो भएतापनि ममता काफ्लेलाई फेला पार्न महत्त्वपूर्ण हुनसक्ने भन्दै यस्तो आग्रह गरिएको हो ।