घरमा रातभरको तलासीपछि भर्जिनियाको मनाससबाट बेपत्ता ममता काफलेका श्रीमान् नरेश पक्राउ


प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार

भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान ममता काफ्ले भाट (भट्ट) का श्रीमानलाई पक्राउ गरेको छ । घरमा रातभर खानतलासीपछि विहान नरेश भाट (भट्ट) लाई पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भाट (भट्ट) लाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

प्रहरीले भाट (भट्ट) माथि के अभियोग लगाएको छ भन्ने तत्काल खुल्न सकेको छैन । बिहान ११ बजेसम्म ममता भाट (भट्ट) को अवस्था अज्ञात छ। मंगलबार १ वर्ष पुगेकी उनकी छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट निकालेका थिए ।

भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले समन्वय नगरेको बताएको थियो । बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको प्रहरीले खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले सहयोग नगरेको बताएको थियो ।

प्रहरीले उनका श्रीमान् भाट (भट्ट) प्रहरी अनुसन्धानमा चासोको व्यक्ति अर्थात् पर्सन अफ इन्ट्र्रेस्ट भएको समेत बताएको थियो । प्रहरीले घरमा बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको थियो । उक्त खानतलासी रातीसम्म चलेको थियो ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भाट (भट्ट) सँग कुरा गरेका थिए । तर, श्रीमान नरेश भाट (भट्ट) ले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भाट (भट्ट) ले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com