बेपत्ता नर्स ममता काफलेका श्रीमानलाई अदालतमा पेश, शव घरबाट घिसारेर निकालेको अभियोग


प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको छ । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

अदालतमा प्रहरीले पेश गरेको कागजातमा नरेश भाट (भट्ट) माथि हत्याको अभियोग लगाइएको छ । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेश भाट (भट्ट) ले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

नरेश भाट (भट्ट) ले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको खुलेको छ । किनेका तीनवटा चक्कुमध्ये २ वटा फेला नपरेको जनाइएको छ । अनुसन्धानकर्ताहरुले मास्टर बेडरूम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाणहरु पनि फेला परेको छन् ।

पहिलोपटक अदालतमा पेश गर्दा उनी भौतिक रुपमा नै अदालतमा उपस्थीत रहेका थिए । उनले आफू अँग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्दै नेपाली दोभाषेका लागि अनुरोध गरेका थिए । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थपहुनसक्ने समेत बताएको छ ।

भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान नरेश भाट (भट्ट) लाई पक्राउ गरेको हो । उनलाई विना धरौटी हिराशतमा राखिएको छ । ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेश भाट (भट्ट) लाई ममता बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भाट (भट्ट) लाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । अर्थात् उनको ज्यान गइरहेको प्रहरीले अनुमान गरेको छ ।

भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले समन्वय नगरेको बताएको थियो । बुधबार खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा प्रहरीले अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले सहयोग नगरेको बताएको थियो ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भाट (भट्ट) सँग कुरा गरेका थिए । तर श्रीमान नरेश भाट (भट्ट) ले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भाट (भट्ट) ले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

यसैबीच ममता काफ्लेकी आमाको अमेरिकाको भिसा स्वीकृत भएको ममताका साथीहरुले बताएका छन् । भिसाका लागि अमेरिकी दूतावास काठहमाडौंमा इमर्जेन्सी अप्वाइन्टमेन्ट लिइएको थियो । ममताकी आमा अब कहिले अमेरिका आउने भन्नेबारे भने केही बताइएको छैन । भिसा पाइसकेकेको खसोखासले स्वतन्त्र पुष्टी भने गरेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com