टेक्सासको ग्यास स्टेशनमा ३० बर्षका दिपक ओलीको हत्याका अभियुक्तहरु पक्राउ, अपराध स्वीकार


प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

टेक्सासको ग्यास स्टेशनमा लुटेराबाट गोली हानी मारिएका नेपाली ३० बर्षका दिपक ओलीका हत्याका अभियुक्तहरुलाई पक्राउ गरिएको छ । म्याक्लेनन काउन्टी प्रहरीले दुई जना पुरुषहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले दुई स्थानमा लुटपाट गरेको र दिपक ओलीमाथि गोली हानेको स्वीकार गरेका छन् ।

पहिलो संदिग्ध २२ वर्षीय म्याथ्यू बेल्ट्रानले गोली हानेको अभियोग लगाइएको छ । दोस्रो संदिग्ध २५ वर्षीय मिका ह्यारिस रहेको जनाइएको छ । दुवैलाई हत्या र डकैतीको अभियोग लगाइएको छ। दुईजना व्यक्ति भित्र गएर पैसा मागेको र बन्दुक निकालेर गोली चलाएको कागजातमा जनाइएको छ । उनीहरुले लुटपाटको प्रयास गर्दा ओली पछाडिको ढोकाबाट भाग्ने प्रयास गरेका थिए । त्यहीबेला उनीमाथि गोली हानिएको भिडियोमा देखिएको थियो ।

अगस्ट २२ मा प्रहरीले खोजी गर्दा गोली चलाउने व्यक्तिले लगाएको निलो मास्क फेला पारेको थियो । बेल्ट्रान र ह्यारिस दुबैलाई सोधपुछ गर्दा उनीहरुले घटनामा संलग्नता स्वीकार गरेका थिए । दुबैलाई म्याक्लेनन काउन्टी जेलमा बढ्दो डकैती र राजधानी हत्याको आरोपमा जमानत बिना नै राखिएको छ। प्रहरीले तेस्रो संदिग्ध २१ बर्षीय म्याथ्यू बेल्ट्रान रहेको जनाएको छ । उनीमाथि अनुसन्धानमा बाधा पुर्‍याउने उद्देश्यले प्रमाणसँग छेडछाड गरेको आरोप लगाइएको छ।

गतबर्षमात्र दलाललाई लाखौं रुपिया बुझाएर मेक्सिको हुँदा विना भिसा अमेरिका आएका पश्चिम रुकुमको बाफिकोटका ओलीको एल्म मोटको आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा गत जुलाई २८ मा हत्या भएको हो । ओलीका नेपालमा ५ बर्षका छोरी दीपीका ओली र २६ बर्षकी बिमला बुढाथोकी रहेका छन् ।

ओलीले स्टोरमा क्यासियरका रुपमा काम गर्दै आएका थिए । बिहान ५ बजेको समयमा ओली कार्यरत ग्याँस स्टेशनमा आएका दुई लुटेराले गोली हानेका थिए । ओलीको घटनास्थलमै निधन भएको थियो ।

अमेरिकाका ग्यास स्टेशनहरुमा लुटेराहरुको आक्रमणमा ज्यान गुमाउने र घाइते हुने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । प्राय यस्ता घटनाहरु रातीको समयमा हुने गरेका छन् ।

गतबर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या भएको थियो । लामिछानेलाई हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो ।

गतबर्ष नै टेक्सासको युलेसमा बस्दै आएका नेपाली युवा दिपेन्द्र जोशी ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते भएका थिए । त्यस्तै गतबर्ष नै टेक्सासको अष्टिनमा ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार गर्दा उनी सख्त घाइते भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com