भर्जिनियाबाट बेपत्ता ममता काफ्लेका श्रीमान नरेशलाई धरौटीमा रिहा गर्ने/नगर्नेबारे सोमबार सुुनुवाई


प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार

भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान नरेश दत्त भाट (भट्ट) लाई धरौटीमा रिहा गर्ने नगर्नेभन्नेबारे सोमबार सुुनुवाई हुने अदालतको रेकर्डमा उल्लेख गरिएको छ । सोमबार विहान साढे ८ बजेका लागि तोकिएको सुनुवाईमा धरौटीमा रिहा गर्ने नगर्ने भन्नेबारे निर्णय हुनेछ भने धरौटीमा रिहा गर्ने भएमा कति धरौटी तोक्ने भन्नेबारे पनि निर्णय हुनेछ ।

प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा उक्त सुनुवाई हुने तय भएको छ । उक्त सुनुवाईमा पनि नरेशलाई भौतिक रुपमा नै उपस्थीत गराइनेछ । त्यसपछि अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

प्रिन्स विलियम काउन्टीका अभियोजकले शुक्रबार भएको सुनुवाईमा यो मुद्दामा थप विवरणहरु दिएका थिए । नरेशले आफ्नो टेस्ला बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने बारे अरूसँग कुरा गरेको विवरणहरु अदालतमा पेश गरिएको छ । उनले भाग्ने प्रयास गरिरहेको अधिकारीहरुले विश्वास गरेका छन् ।

नरेशलाई आफ्नी श्रीमती बेपत्ता सम्बन्धमा शव लुकाएको अभियोग लगाउनु अघि जम्मा गरिएका प्रमाणका नयाँ विवरणहरू प्रस्तुत गर्दै अभियोजकले घरमा रगतका टाटा फेला पारेको बताएका छन् । तर यो ममता काफ्लेसँग सम्बन्धित भए नभएको भने अझै पुष्टी भएको छैन । नरेशले जुलाई ३० मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको छ । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

नरेशले आफू अपराधमा संलग्न भए नभएकोबारे केहीपनि स्वीकार वा अस्वीकार गरेका छैनन् । शुक्रबार अदालतमा नरेशले बोलेको शब्द केबल आफू अंग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्नेमात्र थियो । अदालतले नियुक्त गरेको दोभाषेले अनुवाद उपलब्ध गराएका थिए । नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।  अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए ।

अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

बेपत्ता नर्स ममता काफ्ले

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

प्रहरीले बिहीबार बिहान नरेशलाई पक्राउ गरेपछि विना धरौटी हिराशतमा राखिएको छ । घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेशलाई ममता बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरिएको थियो । अधिकारीहरूले नरेशलाई बिहान पौने ११ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

यसैबीच ममता काफ्लेकी आमाको अमेरिकाको भिसा स्वीकृत भएको ममताका साथीहरुले बताएका छन् । भिसाका लागि अमेरिकी दूतावास काठहमाडौंमा इमर्जेन्सी अप्वाइन्टमेन्ट लिइएको थियो । ममताकी आमा अब कहिले अमेरिका आउने भन्नेबारे भने केही बताइएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com