बेपत्ता ममता काफ्ले प्रकरणबारेका अफवाहहरु र अहिलेसम्म सार्वजनिक आधिकारिक विवरणहरु
प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार
भर्जिनियाबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनाका सन्दर्भमा कैयन अफवाहहरु समेत फैलिएका छन् । अहिलेसम्म ममता काफ्ले बेपत्ता घटनामा आएका सार्वजनिक आधिकारिक विवरणहरु यस्ता छन् ।
अदालतमा पेश गरिएको कागजातमा के छ ?
मनासस पार्क प्रहरी अधिकारी सी भेन्टुराबाट अपराधको उजुरीमा लेखिएको छ – ‘३० जुलाई २०२४ वा आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए। घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको हो । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको थियो ।’
अदालतमा पेश गरिएको उजुरीमा त्यसभन्दा तल हातैले लेखिएको छ -‘शव घरभित्रै रहेको र घरबाहिर घिसारेर लगिएको संकेत मिल्ने प्रमाण घरमा भेटिएको छ । ‘
अदालती कागजातमा यो बाहेक कुनै विवरण समावेश भएको सार्वजनिक भएको छैन ।
अभियोजक र अनुसन्धानकर्ताहरुले के भनिरहेका छन् ?
अनुसन्धानकर्ताहरूले भट्टको घर अस्तव्यस्त अवस्थामा फेला पारेको बताएका छन् । मुख्यतया प्राथमिक शयनकक्ष र सोही बाथरूममा रगतको प्रमाण फेला परेको बताएका छन्। रगत ममताको हो कि होइन भन्ने पुष्टि भएको छैन । त्यसका लागि अनुसन्धानकर्ताहरूले अझै पनि परीक्षणको नतिजा पर्खिरहेका छन् ।
नरेश भट्टले पुलिसलाई दिएको टाइमलाइन पूर्ण रूपमा गलत भएको अभियोजकहरूले बताएका छन् । नरेशले आफ्नो कथा परिवर्तन गरेको अभियोजकहरुको भनाई छ । नरेश भट्टले मिडिया र अधिकारीहरूलाई आफूले अन्तिम पटक ममतालाई जुलाई ३१ मा देखेको बताएपनि अदालतको कागजातले ममताको मृत्यु जुलाई ३० मा भएको हुनसक्ने देखाएको छ।
जुलाई ३० मा नरेश भट्टले तीनवटा चक्कु किनेका जसमध्ये दुई वटा फेला नपरेको अभियोजकहरुले बताएका छन् । अर्को दिन नरेश भट्टले सरसफाइका सामान किनेको भिडियो प्रमाण रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
नरेश भट्टले अगस्त १९ मा आफ्नो टेस्ला बेचेका र आफ्नो घर बेच्ने प्रयास पनि गरेका अभियोजकहरुले बताएका छन् । अनुसन्धानहरु घरभित्र प्रवेश गर्दा नरेशले सुटकेशका साथै आफ्नो र छोरीको पासपोर्टहरु समेत प्याकअप गरेको पाएका थिए । उनले भाग्ने प्रयास गरिरहेको अभियोजकहरुले विश्वास गरेका छन् ।
ममता भट्टले बेपत्ता हुनु अघि आफ्नो फोन आफै नष्ट गरेपनि फोनमा अगस्ट १ सम्म सन्देशहरू र कलहरू गएको र पछि फोन अफ भएको अभियोजकहरुको भनाई छ । अनुसन्धानकर्ताका अनुशार उक्त फोन अन्तिम पटक लाउडन काउन्टीको टावरसँग जोडिएको थियो । सोही समयमा नरेश भट्टले अगस्त १ मा आफू लाउडन काउन्टीको एउटा क्याफेमा भएको बताएका थिए ।
नरेश भट्टले अदालतमा के भने ?
शुक्रबार अदालतमा पेश गर्दा नरेश भट्टले बताएको एउटै बाक्य आफू अँग्रेजीमा त्यती धाराप्रवाह नभएको भन्नेमात्र थियो । नरेशले आफूविरुद्धको अभियोग स्वीकार गरेका छैनन् । उनका वकिलका अनुशार नरेशले अभियोग स्वीकार गरेका छैनन् भने अपराध प्रमाणित गर्न पर्याप्त प्रमाण नभएको तर्क गरेका छन् । शुक्रबारको अदालती सुनुवाईमा उनका वकिलले न्यायाधीशसमक्ष नरेशसँग हिंसाको इतिहास नभएको बताएका थिए ।
शुक्रबारको सुनुवाईको क्रममा उनका वकिलले मुद्दालाई मिडिया उन्माद बताउँदै उनीहरूसँग कुनै वास्तविक प्रमाण नभएको बताएका थिए । उनले नरेश भट्टलाई रिहा गर्न आग्रह गरेका थिए तर न्यायाधीशले नरेशलाई विना धरौटी थुनामा राख्न आदेश दिए। धरौटीकाबारेमा सुनुवाई सोमबार विहानका लागि तय भएको छ ।
नरेशविरुद्ध लगाइएको अभियोग के हो ?
प्रहरीको उजुरीमा नरेशले नै हत्या गरेको उल्लेख गरिएतापनि भट्टलाई अदालतमा औपचारिक रूपमा हत्याको अभियोग लगाइएको छैन । उनीविरुद्ध औपचारिक रुपमा भने शव लुकाएको अभियोगमात्र लगाइएको छ । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ ।
भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् ।
पक्राउपछि प्रहरीले के भन्यो ?
पक्राउपछि जारी वक्तव्यमा नरेश भट्टलाई मृत शरीर लुकाउने विरुद्धको अपराधको आरोपमा पक्राउ गरेको उल्लेख गरिएको थियो । आरोपमा दोषी प्रमाणित नभएसम्म भट्ट निर्दोष रहेको अनुमान गरिएको उक्त वक्तव्यमा जनाइएको थियो ।
अगस्त २१ मा प्रहरीले निवासको लागि खोजी वारेन्ट कार्यान्वयन गरेको र खोजीमा सहयोग गर्न प्रिन्स विलियम काउन्टी पुलिस विभागको फोरेन्सिक इकाईलाई अनुरोध गरिएको तथा खोजीको क्रममा अनुसन्धानकर्ताहरुले थप प्रमाणहरू प्राप्त गरेको वक्तव्यमा उल्लेख थियो । सरकारी वकिलको कार्यालयसँगको परामर्शपछि अनुसन्धानकर्ताहरुले नरेश दत्त भट्टलाई बेपत्ताको घटनासँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको वक्तव्यमा जनाइएको थियो ।
बेपत्ता ममता काफ्ले भट्टको मनसास पार्क प्रहरी विभागले अनुसन्धान गरिरहेको छ र उनको खोजी भइरहेको वक्तव्यमा उल्लेख थियो । त्यहाँ थप अनुसन्धान सुरागहरू सक्रिय रूपमा पछ्याइँदै गरेको र थप अभियोग लगाइनसक्ने समेत वक्तव्यमा जनाइएको थियो ।
अनुमानयुक्त विवरणहरु सामाजिक सञ्जालभरी
यी बाहेक कुनै पनि आधिकारिक विवरणहरु सार्वजनिक भएका छैनन् । सामाजिक सञ्जालका केही पोष्टमा घटनाका विस्तृत विवरणहरु अतिरञ्जित बनाएर समेत व्याख्या गरेको पाइएको छ । तर न त अनुसन्धानकर्ताहरु यसबारे केही बोलेका छन् न त अभियोजकहरु नै । न त अदालतमा पेश गरिएका कागजातहरुमा नै यसबारे विवरण सार्वजनिक भएको छ । थप विवरणहरु आगामी दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । तर उनको मृत्यु कसरी भयो भन्ने विवरणहरुबारे प्रहरीले केही बोलेको छैन ।
मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।