५ लाख कागजपत्रविहिनले अमेरिकी नागरिकता पाउनसक्ने बाइडेनको कार्यक्रममा अदालतको रोक


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

५ लाख कागजपत्रविहिनले अमेरिकी नागरिकता पाउन सक्ने बाइडेन प्रशासनको कार्यक्रममा टेक्सासका एक संघीय न्यायाधीशले सोमबार अस्थायी रोक लगाएका छन् । बाइडेन प्रशासनविरुद्ध मुद्दा हाल्ने १६ रिपब्लिकन नेतृत्वको राज्यहरूको पक्षमा फैसला गर्दै अदालतले यस्तो रोक लगाएको हो ।

टेक्सासको इस्टर्न डिस्ट्रिक्टका लागि अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जे क्याम्पबेल बार्करले कार्यक्रमलाई प्रभावकारी रूपमा रोक्न प्रशासनिक रोक जारी गरेका हुन् । यो कार्यक्रम अन्तरगत गत हप्ता आवेदनहरू स्वीकार गर्न थालिएको थियो ।

बाइडेन प्रशासनको कार्यक्रमविरुद्ध दायर गरिएको ६७ पेज लामो मुद्दाले संसदलाई बाइपास गर्ने र अध्यागमन नीति सेट गर्ने कार्यकारी शाखाको अधिकारको बारेमा वैध प्रश्नहरू उठाएको पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प द्वारा नियुक्त न्यायाधीश बार्करले बताएका छन् ।

बाइडेन प्रशासनले कार्यक्रमको लागि आवेदनहरू स्वीकार गर्न जारी राख्न सक्ने तर आवेदनलाई प्रक्रियामा लैजान नसक्ने अदालतले फैसला गरेको छ । अदालतले मुद्दाको योग्यतालाई विचार गरुन्जेल कार्यक्रमलाई स्थगित हुनेछ ।

यो कार्यक्रम बाइडेन प्रशासनले कानुनी हैसियत नभएका अमेरिकी नागरिकका केही दम्पत्तिहरूलाई स्थायी बसोबास र अन्ततः नागरिकताको लागि आवेदन दिन अनुमति दिने गरी ल्याएको हो ।

योग्य आवेदकहरूले  परोल इन प्लेस कार्यक्रम अन्तर्गत  आवेदनहरू पेश गर्न सक्षम हुनेछन्।  कार्यक्रमको लागि कसरी आवेदन दिने भन्ने बारे थप विवरणहरू, उचित फारमहरू र शुल्कहरू सहितको जानकारी  फेडरल रजिष्टरमा प्रकाशित गरिएको थियो ।

आवेदकहरूले युएससीआईएसको अनलाइन फाइलिङ प्रणाली मार्फत आफ्नो आवेदन पेश गर्नुपर्छ। फाइलिङ शुल्क ५८० डलर तोकिएको छ भने कुनै शुल्क माफी उपलब्ध छैन। कागजी आवेदनहरू स्वीकार गरिँदैन। आवेदनलाई समर्थन गर्ने प्रमाणहरू फारम आई १३१ एफसँगै अनलाइन पेश गर्नुपर्छ ।

योग्य हुनको लागि आप्रवासीले सन् २०२४ को जुन १७ अगाडि १० वर्षसम्म अमेरिकामा बसेको र अमेरिकी नागरिकसँग विवाह गरेको हुनुपर्छ। यदि योग्य आप्रवासीको आवेदन स्वीकृत भएमा अमेरिका नछाडिकनै ग्रीन कार्डको लागि आवेदन दिन र अस्थायी वर्क परमिट प्राप्त गर्न तीन वर्षको समय पाउनेछ । साथै यस बीचमा देशनिकालाबाट पनि जोगिनेछ ।

अमेरिकी नागरिकसँग विवाह गरेको अभिभावकका करिब ५० हजार गैरनागरिक बच्चाहरू पनि सम्भावित रूपमा सोही प्रक्रियाको लागि योग्य हुन सक्नेछन् । दम्पतीले कति समयदेखि विवाह गरेको हुनुपर्छ भन्ने कुनै आवश्यकता छैन । साथै जुन १७ पछि विवाह गर्नेहरु कोही पनि योग्य हुँदैन। जुन १७ पछि अमेरिकामा बसोबास गरेको १० वर्ष पुग्नेहरु पनि योग्य हुनेछैनन् ।

बाइडेनले दम्पत्तिहरुका लागि गरेको घोषणा एकदमै नयाँ प्रकारको भने होइन । यस्तै नीति राष्ट्रपतिहरू जर्ज डब्लु बुश र बराक ओबामाले पनि सैन्य सदस्यहरूको परिवारका सदस्यहरूलाई सुविधा दिन प्रयोग गरेका थिए ।

राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो कदम आएको हो । जसमा सीमा एजेन्टहरूले सामना गर्ने संख्या दैनिक औसत २५ सय भन्दा बढी भएमा सिमानाका बन्द गर्न सकिने प्रावधान छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार वर्षौंदेखि औसत दैनिक अवैध क्रसिङले त्यो सीमा नाघेको छ, डिसेम्बरमा यो संख्या दैनिक ८,००० को हाराहारीमा थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com