एकल आमाले संघर्ष गरेर हुर्काएकी थिइन् टेक्सासमा गोली लागेर मृत भेटिएकी मुना पाण्डे(२१)
प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार
टेक्सासको ह्युष्टनमा गोली लागेको अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । पारिवारिक श्रोतका अनुशार श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएकी अनिताले आफै काम गरेर निकै संघर्ष गरेर हुर्काएकी थिइन् । ५ बर्षदेखि एक्लै बसेर अनिताले मुनालाई हुर्काएकोमा २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् ।
पारिवारिक श्रोतका अनुशार मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक श्रोतले पुष्टी गरेको छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेको तर बीचमा भने उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ ।
आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन् । ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुखद खबर सुन्नुपरेको उनको भनाई छ ।
नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएको र उनकी काठमाडौंमा रहेकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले खसोखासलाई जानकारी दिए । उनले भने – ‘मुनालाई एकल आमाले दुख गरेर हुर्काउनुभएको रहेछ ।’
मुनाको सामाजिक सञ्जाल अनुशार उनी गत जनवरीमा २१ बर्ष पुगेकी थिइन् । उक्त दिन उनले आफ्नो कभरफोटो समेत अपडेट गरेकी थिइन् ।
मुना पाण्डे सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले खसोखासलाई जानकारी दिएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घटनामा कोहीपनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको र अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाई छ ।
यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।
ह्यारिस काउन्टी इन्स्टिच्युट अफ फोरेन्सिक साइन्सको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस मामलामा जानकारी भएका जो कोहीलाई ७१३ ३०८ ३६०० मा ह्युस्ट प्रहरीमा सम्पर्क गर्न वा ७१३ २२२ ८४७७ मा क्राइम स्टपर्ससँग अज्ञात रूपमा कुरा गर्न आग्रह गरिएको छ।
उनी परिवारमा एकमात्र सन्तान रहेको जनाइएको छ । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ । घटनाको उद्देश्य के थियो भन्नेबारे पनि केही जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ ।
कभर तस्वीर फेसबुकबाट साभार गरिएको हो ।