टेक्सासमा मारिएकी मुना पाण्डेकी आमाले भक्कानिदै भनिन्, ‘न्यायका लागि मलाई सहयोग गरिदिनुहोस्’
प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार
टेक्सासको ह्युष्टनमा हानी हत्या गरिएकी २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अधिकारीले न्यायका लागि सघाउन सबैसँग अपिल गरेकी छिन् । मुनालाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएको बताउँदै अनिताले आफै काम गरेर निकै संघर्ष गरेर हुर्काएकी थिइन् । ५ बर्षदेखि एक्लै बसेर अनिताले मुनालाई हुर्काएकोमा २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् । मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको र मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आफूलाई पठाउने गरेको आमा अनिताले बताएकी छिन् । तर बीचमा भने उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताएकी थिइन् । आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन् । आमा अनिता अनिता पाण्डे अधिकारीसँग खसोखासका लागि दीपेन्द्र ढुंगानाले गरेको कुराकानीको अंश ।
तपाइँको छोरीसँग अन्तिमपटक कहिले कुरा भएको थियो ? के के कुराकानी भएको थियो फोनमा ?
मेरो शुक्रबारदेखि कुरा भएकोे थिएन् । तीन, चार दिन नै भएको थियो कुरा नभएको । अफलाइन थिइन् । मैले त म्यासेज गरिराखेँ । म्यासेज पनि हेरिनन् । म्यासेज किन हेरिनन्, व्यस्त भइन् होला, समय मिलेन होला भन्ने लाग्यो । म नि सञ्चो नभएर छिटै सुतिहाल्थें । उतापनि म सुत्नेबेला उनी काममा जान्थिन् । टाइम नमिलेर होला भन्ने लाग्यो । ४ दिन पछि मात्रै उनकी साथिले हेलो भनेर बोलाइन् । ४ दिनसम्म कुरा भएको थिएन ।
४ दिनअघि कुरा हुँदा साथीहरुको बारेमा केही भन्नुभएको थियो ? कहिले जानुभएको हो अमेरिका?
उनी एक्लै बस्थिन् । आफ्नो सँगै पढ्ने साथीहरु आउँथे कहिलेकाँही । उनी पनि साथीहरुकोमा जान्थिन् । एकदम मिल्नेसाथीहरु छन् उनको । अपार्टमेन्टमा चाँही एक वर्ष अगाडी एकजना साथी पनि बस्थिन् । कामको शिलशिलामा उनी बाहिर जानुपर्ने भएकाले सरिन् । त्यसपछि उनी एक्लै बस्थिन् । नेपालमा प्लस टु सकेर नर्सिङ पढ्न अमेरिका गएकी हुन् । यही अगष्टमा तीन वर्ष पूरा भएको थियो । अब एक वर्ष पढ्न बाँकी छ भन्दै थिइन् ।
शब बुझ्नेबारे कुनै जानकारी आएको छ ?
यता केही पनि जानकारी आएको छैन । तपाइँ नेपाल लैजान नि सक्नुहुन्छ, यहीँ आएर दाहसंस्कार गर्न नि सक्नुहुन्छ भन्नुभएको छ । दुई तीन हप्तासम्म हामी अस्पतालमा राखिदिन सक्छौं भनेर फोन गर्नुभएको थियो अस्पतालबाट । सरकारी निकायबाट केही पनि कुरा भएको छैन ।
उहाँको प्रेम सम्बन्धबारे केही सुनाउनुभएको थियो तपाइँलाई ?
त्यसबारे छोरीले भनेकी थिइन् । गएको पुसबाट एकजना उतैको अमेरिकन केटाले फलो गरिराछ मलाई भन्थिन् । मोबाइल नम्बर मागेर बिहे गरौं हामी भनेर कुरा गरेको गरै गर्छ भन्थिन् । कोट म्यारिज गरौं, एकठाउँ बसौं, मेरो अपार्टमेन्टमा बस्न आउ भन्छ मलाई भन्दै थिईन् । मैले राम्ररी नबुझी त्यस्तो नगर भनेको थिए । बुझ्दै छु, कस्तो हो ? के हो ? भन्थिन् । उसले बिहे गरौं, धोका दिन्न भनिराछ भन्दै थिइन् । अनि त्यसपछि बुझ्दै छु भन्थिन् पहिले । अस्ति, दुई तिन महिना अगाडी त्यो मान्छेले त्यति गम्भिर र व्यवहारिक कुरा गर्दैन् भनेर भनेकी थिइन् । त्यस्तोसँग त राम्रो हुदैँन होला भनेकी थिइन् । जिन्दगी बिताउने कुरा हो, गर्दिन अब भन्थिन् । अनि मैले त्यस्तो हो भने त्योसँग कुरा नगर, मन मिलेन भने राम्रो हुँदैन भनेको थिए । साथीलाई चाहीँ बीचमा आफूसँग बोल्न छाडेको बताएकी रहिछन् । एकदुई महिना अघि फेरी बोल्न थाल्यो भनेकी थिइन् रे । मसँग कुरा भइराछ भन्दै थिइन् । कतै घुम्न गएको बेला पनि भन्ने गर्थिन् । घुम्न गएको फोटो भिडियोहरु पनि पठाउने गर्थिन् । सँगै घुम्न गएको र भेटेको सबै फोटो, भिडियोहरु पठाएकी थिइन् मलाई ।
कति वर्षदेखि तपाइँले उहाँलाई एक्लै हुर्काउनुभएको हो ?
उसको बाबा सिपाही हो । तरपनि मैले एक्लै नै हो हुर्काएको । २०५८ सालमा विवाह भएदेखि तालिम गरेर १५–१६ वर्ष मैले फोटो स्टुडियो चलाएँ । छाउनीमा आफ्नो फोटोग्राफी पसल चलाउँदै दुःख, संघर्षले हुर्काएको थिए । एकदमै दुःख गरेर हुर्काएकी बच्चा हो । आफु पनि दुःख गरेर हुर्केकी थिए । मैले सानैदेखि नै आफ्नै संघर्षले हुर्काएको हो । अलिकति मिठो मसिनो खान दिएपनि यत्रो किन दिइस भनेर कुट्थ्यों उसको बाबाले । लुकाइ लुकाइ दिनुपथ्र्यो । लगाउने एकजोडी लुगा ल्याए भनेपनि काटेर फालिदिन्थ्यों । मैले पनि नयाँ लुगा लगाएँभने काटिदिन्थ्यों । त्यति दुःखले हुर्काएकी थिँए ।
श्रीमानको एक पैसा नचलाई आफ्नो कमाइ खाँदा पनि मलाई खाई, लगाई भनेर कुट्थ्यों । उसको पेन्सन निस्किएपछि रात दिन टोकसेर, रात दिन टर्चर दिएपछि छोरीले सँगै बसेर पढ्न नसक्ने भनिन् । छुट्टै बसेर पढ्ने भनेकाले छोरीको खुशीको लागि डिर्भोस लिएँ । पहिले पनि धेरैपटक डिर्भोस हालेर फिर्ता लिएको हो । मलाई कुट्न, गाली गर्न छोडदैनथ्योे । पछि नानीकै लागि छ सातबर्ष अगाडि डिर्भोस गरेर निस्किए । मैले कमाएर थानकोटमा दुई तलाको घर बनाएकी थिएँ । अनेक नाटक गरेर आमालाई पनि भाग लगाएर मलाई थोरै दियो । त्यो घरपनि श्रीमान्ले लियो । मलाई जान पनि दिएन । तैले पैसा खाइस, सक्काउँछेस् तैले भनेर टेक्नै दिएन् । घरमा बस्दा पनि को को सँग हिड्छे, कहाँकहाँ हिड्छे भनेर बेइज्जत गर्ने र सबैलाई मनपरी बोल्ने गथ्र्यो । माइत गएपछि सबैलाई पोइल गइ भनेर बेइज्यत गर्ने गथ्र्यो । नानीको लागि सबै सहेर बसेकी थिएँ । १५–१६ वर्ष दुख गरेर मैले निस्तो भात खाइरहँदा पनि खकार गरेर भातैमा थुकिदिन्थ्यो । त्यस्तो गरेर, संघर्ष गरेर रुदैँरुदैँ हुर्काएको छोरी हो । बाउले हेपेको छ, कतिले के के भन्या छन्, बाउले हेपेपछि सबैले हेप्छन्, समाजले पनि हेप्छ त्यसैले हामीले केही गरेर देखाउनुपर्छ भन्थिन् ।
मैले हजुरको सुखको लागि जे पनि गर्छु, अमेरिका गएर तपाइँलाई सुख दिन्छु भन्थिन् । सानैदेखि एकदमै साहसी, आटँ गरेर पढेर गएकी थिइ । अमेरिका गएर पनि मलाई हौसला नै दिन्थिन् । मम्मी, नआत्तिसिओ है, अब एकवर्षमात्रै बाँकी छ, एक वर्षपछि त म कमाउँछु भनेर भन्थिन् । मैले नि के चाहिन्छ भन भन्थें । उनले मामु कहाँबाट पठाइसिन्छ र पैसा भन्थिन् । मैले ऋण गरेर बेलाबेलामा पैसा पठाइरहेकी थिएँ । कहिले गाडी ठोक्किएर हजार–पन्ध्रसय डलर, कहिले कलेज फी तिर्न नपुगेर पैसा पठाउँदै टिकाएकी थिएँ यत्रो वर्ष । अब एकै वर्ष मात्र बाँकी थियो । के भएको यस्तो ? भगवानले के गरिदिनुभयो यस्तो ? कुन जन्मको पाप हो ? कुन हत्याराले मेरो छोरीलाई मार्यो ? हत्यारा पत्ता लागोस् भन्ने चाहन्छु । अब के गर्नु । कोही छ भन्नु नि संसारको एउटै छोरी हो, त्यही छ भनेर बाँचेको थिए । नत्र उहिले मर्थे कि के हुन्थें थाहा छैन ।
अमेरिकामा रहेको नेपाली समुदायलाई के भन्नुहुन्छ?
त्यहीँ एउटा छोरी हो । मेरो त संसार नै सकिएको छ । सबै त्यागेर त्यसकै लागि बाँचेको थिए । माइती, मावली, घर, समाज सबै त्यागेर त्यही छोरीकोे लागि बाँचेकी थिए । अब नानीको न्यायको लागि त्यो हत्यारा पत्ता लगाउनैपर्छ । नानीको शव बुझ्न र अन्तिम पटक भएपनि अनुहार हेर्न म त्यही जान चाहान्छु । घटना भएको ठाउँमा गएर के भएको रैछ, सबै विस्तृत बुझ्न चाहान्छु । त्यहाँको प्रहरी, प्रशासनले चासो दिएन भने पनि त्यहाँको संघसंस्थाको सहयोगको मागेर हत्यारा पत्ता लगाउन दबाब दिन्छु । जसरी पनि एकपटक त्यो ठाउँमा जान मन छ मलाई । त्यसको लागि मलाई सहयोग गरिदिनुस् । मेरो आर्थिक अवस्था एकदमै कमजोर छ । भाडामा बसेकी छु । न नानीको लागि सबै सम्पत्ति त्यागेर बसेकी थिए । मलाई सहयोग गरिदिनुस् ।