टेक्सासमा २१ बर्षीय मुना पाण्डेको गोली हानी हत्या गर्ने संदिग्ध पक्राउ


प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । संदिग्धलाई बुधबार बेलुका ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । प्रहरीले संदिग्धको बारेमा जानकारी सहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको हो ।

संदिग्धको हालसम्म पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरु लगाइसकेको छैन । प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको थियो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले खसोखासलाई जानकारी दिएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

उनी परिवारमा एकमात्र सन्तान रहेको जनाइएको छ । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com