बबी सिंहले लुटपाटका क्रममा मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख


प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरेपमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबी सिंह शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ ।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो । सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । त्यस्तै बबी सिंहविरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहिबार अदालतमा पेश गरिने भएको छ ।

शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको थियो । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

उनी परिवारमा एकमात्र सन्तान हुन् । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com