ग्रिनकार्ड लगायतका आवेदन हुलाकबाट पठाउँदा कागजातको फोटोकपीमात्र बुझाउन सुझाव


प्रकाशित मिति : भाद्र १५, २०८१ शनिबार

ग्रिनकार्ड लगायत युएससीआईएसमा अध्यागमन सुविधाका लागि आवेदन दिंदा कागजातको फोटोकपीमात्र बुझाउन युएससीआईएसले स्मरण गराएको छ । आवेदन निर्देशिकामा मागेको अवस्थामामात्र ओरिजिनल कागजात बुझाउनुपर्ने र अन्य अवस्थामा फोटोकपीमात्र बुझाउन युएससीआईएसले सुझाव दिएको हो ।

युएससीआईएसले ओरिजिनल कागजात विशेष रुपमा अनुरोध गरिएको अवस्थामामात्र  आवेदकलाई फिर्ता गर्ने भएकाले फोटोकपीमात्र पठाउन सुझाव दिइएको हो । ओरिजिनल कागजात फिर्ता मगाउन निकै झन्झटिलो प्रकृया रहेको छ भने लामो समय समेत लाग्ने गरेको छ ।

युएससीआईएसमा अनलाइनबाट फर्म भर्दा सबै कागजातको प्रतिलिपी अनलाइनमा नै अपलोड गर्न सकिन्छ । खासगरी दोश्रो पटक प्राप्त गर्न कठिन हुने कागजातहरु युएससीआईएसमा ओरिजिनल पठाउनुहुँदैन ।

एकपटक युएसीआईएसमा पठाएको ओरिजिनल कागजात फिर्ता प्राप्त गर्नका लागि जी ८८४ नामको फर्म भरेर पठाउनुपर्छ । यदि आवेदन विचाराधीन छ भने यो फर्म तपाईको आवेदन प्रकृयामा रहेको युएससीआईएसको डिस्ट्रिक्ट, उपकार्यालय वा सर्भिस सेन्टरमा पठाउनुपर्छ ।

यदि आवेदनबारे अन्तिम निर्णय भइसकेको छ भने यो फर्म आवेदनबारे अन्तिम निर्णय दिने युएससीआइएएसको कार्यालय वा सर्भिस सेन्टरमा पठाउनुपर्छ । यो फर्ममा अनिवार्य हस्ताक्षर गर्नुपर्छ ।

यदि तपाइँ युएससीआईएसका अधिकारीसामु व्यक्तिगत रूपमा उपस्थित हुनुहुन्न भने फारममा तपाइँको हस्ताक्षर नोटरी गरिएको हुनुपर्छ। नोटरीको अगाडि उपस्थित नभएसम्म फर्ममा हस्ताक्षर नगर्न युएससीआईएसले सुझाव दिएको छ । यो आवेदनसँगै आफ्नो दुईवटा परिचयपत्रको कपी समेत पठाउनुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com