डाकाले समेटका ४० नेपाली: जो बाल्यकालमा अमेरिका आए, कम्तीमा १७ बर्षदेखि कागजातविहीन
प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार
अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएर अध्यागमन स्टाटस गुमाएपछि डाकाले समेटेका नेपालीहरुको पछिल्लो संख्या सार्वजनिक गरेको छ । पछिल्लो तथ्यांक अनुशार डाकाले समेटेर देशनिकाला हुनबाट बचेका नेपालीहरुको संख्या ४० रहेको छ ।
यस अगाडि २०२१ को तथ्यांकमा बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम अन्तरगत ५० जना नेपालीहरु संरक्षित रहेको तथ्यांक रहेको थियो भने २०१८ को तथ्यांकमा ६० थियो । उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्दै आएकाहरु हुन् । साथै सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् ।
उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।
बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।बालबालिकाको रूपमा अमेरिकामा ल्याइएका कागजातविहीन आप्रवासीहरूलाई अस्थायी राहत प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो, जसलाई प्राय ड्रीमरहरू भनेर वर्णन गरिन्छ ।
डाका कार्यक्रमलाई डोनाल्ड ट्रम्प समाप्त पार्न खोज्दा अदालतले रोकेको थियो । त्यस्तै जो बाइडेनले डाका कार्यक्रमलाई संरक्षण गर्ने थप नीति ल्याएकोमा त्यसलाई कार्यान्वयनमा पनि अदालतले रोकेको थियो । अदालतको पछिल्लो आदेशले डाका कार्यक्रमको वर्तमान लाभार्थीहरूलाई असर नगर्ने भएकाले उनीहरु तत्कालै डराउनुपर्ने अवस्था भने छैन । उनीहरुले नविकरणका लागि आवेदन दिन भने पाउँछन् । तर डाका कार्यक्रममा पहिले नभएकाले नयाँ आवेदन दिन भने पाउँदैनन् ।
अदालतको निर्णयले सरकारलाई कार्यक्रमको लागि नयाँ आवेदनहरू अनुमोदन गर्नबाट रोकेको थियो तर मुद्दा चलिरहेको बेला हालका डाकावाहकलाई स्टाटस जारी राख्न अनुमति दिएको थियो । आज पनि अवस्था त्यही छ ।
आप्रवासी अधिकारकर्मीहरुले बारम्बार संसदसमक्ष डाकाप्राप्तकर्ताहरूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेका छन्, तर ती प्रयासहरू असफल भएका छन्। डेमोक्र्याट र रिपब्लिकनहरूले अमेरिकामा बालबालिकाको रूपमा ल्याइएका हजारौं कागजातविहीन आप्रवासीहरूप्रति सहानुभूति राखेका छन्, जसमध्ये धेरैजना १० वर्षभन्दा कम उमेरका थिए। तर डेमोक्र्याट र रिपब्लिकनबीच उनीहरुका विषयमा द्विपक्षीय सम्झौता हासिल गर्न कठिन भएको छ ।