टेक्साममा मुना पाण्डेका हत्या अभियुक्त बबीसिंहलाई आज अदालतमा पेश, अभियोजकबाट थप खुलासा


प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा पक्राउ गरिएका अभियुक्त बबीसिंह शाहलाई आज अदालतमा पेश गरिएको छ । बबीसिंहलाई अदालतमा पेश गर्दा नेपाली समुदायका व्यक्तिहरुले कोर्टरुम भरिएको थियो । मंगलबार विहान भएको सुनुवाईमा पनि न्यायाधिसले अभियुक्त बबीसिंहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका छन् । अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ ।

मुनाको हत्या भएको केहीदिनपछि पक्राउ पर्दा समेत बबीसिंहले हत्याका बेलामा रगतका दाग लागेका कपडाहरु नै लगाएको आजको अदालती सुनुवाईका क्रममा अभियोजकहरूले बताएका छन् । मुनाको अपार्टमेन्टबाट बाहिर निस्कँदा निगरानी क्यामेरामा देखिएको लुगा लगाएको अवस्थामा नै प्रहरीले पक्राउ गरेको अभियोजकहरुले खुलाएका हुन् । मुनालाई शरीरमा तीन पटक र टाउकोको पछाडिबाट मृत्युदण्डको शैलीमा एक पटक गोली हानेको अभियोजकहरुले बताएका छन् ।

आमा अनिता पाण्डेको मंगलबार अमेरिकाको ट्राभल भिसा स्वीकृत भइसकेको जनाइएको छ । अब उनी ह्युस्टन आउने तयारीमा रहेको जनाइएको छ । आमा अनिता पाण्डेले आफू छोरीको अनुहार अन्तिमपटक हेर्न अमेरिका जान चाहेको बताएकी थिइन् भने छोरीको हत्यारालाई कारवाहीको माग गरेकी थिइन् ।

यसैबीच बबीसिंह शाहसँग अमेरिकी नागरिकता नभएको अदालती कागजातमा उल्लेख गरिएको छ । उनी भारतीय मूलका रहेको बताइएपनि उनी कहाँ जन्मिएका थिए भन्नेबारे भने अदालती कागजातमा केही उल्लेख गरिएको छैन ।

बबी सिंह शाहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबी सिंह शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ ।

यस अगाडिको सुनुवाईमा पनि जघन्य अपराधको लागि जमानत अस्वीकार गर्न सुनुवाइको लागि राज्यको प्रस्तावलाई विचार गरेपछि र प्रस्तुत गरिएको प्रमाणहरूमा स्पष्ट र बलियो प्रमाणबाट अपराध भएको, अभियुक्त दोषी भएको र कानूनको प्रबन्ध भएमा मृत्युदण्डको सजाय हुनसक्ने भएकाले धरौटीमा रिहा गर्न अस्वीकार गरिएको थियो ।

बबी सिंहविरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । उक्त अभियोगमा बबीसिंहलाई २५ हजार डलर धरौटी तोकिएको थियो । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहिबार अदालतमा पेश गरिने भएको छ ।

शाहलाई गत बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको थियो । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

प्रहरीले गत बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे गतसाताको सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको थियो ।

ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com