चालु आर्थिकबर्षमा २८ नेपाली कलाकारलाई पी थ्री भिसा, के उनीहरुले अमेरिकामा कर तिर्नुपर्छ?


प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार

चालु आर्थिक बर्षमा अमेरिकाले अहिलेसम्म २८ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री श्रेणीको भिसा प्रदान गरेको छ । अमेरिकाले चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा ६, नोभेम्बरमा ३, डिसेम्बरमा ९, अप्रिलमा ६ र जुलाईमा ४ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री भिसा प्रदान गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

यसरी अमेरिकामा आउने कलाकारले अमेरिकामा प्रस्तुती दिइसकेपछि प्राप्त आम्दानीको कर नतिरेमा भिसाका नियमहरुको उल्लंघन हुने न्युयोर्कका सीपीए विराज रिजालले जानकारी दिनुभएको छ । उनीहरुले ६ महिनाभन्दा कम अवधि अमेरिकामा बस्दा ३ हजारसम्मको मात्र आम्दानी गरेको भएमा भने ट्याक्समा रिपोर्ट गर्नु नपर्ने उहाँले जानकारी दिनुभयो ।

सीपीए विराज रिजाल

सामान्यतया पी थ्री भिसामा अमेरिकामा प्रस्तुती दिने कलाकारलाई आयोजक कम्पनीले १०४२ एसमा ३० प्रतिशत ट्याक्स विथहोल्ड गरेर पेमेन्ट गर्नुपर्ने र पछि कलाकारले १०४० एनआर फर्म भरेर ट्याक्स फाइल गर्दा बढी विथहोल्ड भएको रकम रिफण्ड पाउने रिजालले जानकारी दिनुभयो । पी थ्री भिसावाहकहरु सोसल सेक्युरिटी नम्बर आवेदन दिनका लागि योग्य हुने र यदि सोसल सेक्युरिटी नम्बर नभएमा ट्याक्स आईडी लिएर भएपनि ट्याक्स तिर्नुपर्ने उहाँले बताउनुभयो ।

६ महिनाभन्दा बढी बस्नेहरुका सन्दर्भमा भने ३ हजारडलरभन्दा कम आम्दानी भएपनि ट्याक्समा रिपोर्ट गर्नुपर्ने र १०४० एनआरको सट्टा नियमित १०४० आवेदनमार्फत ट्याक्स फाइल गर्नुपर्ने रिजालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘पीथ्रीमा आउनेहरुले १०९९ आम्दानी गर्छन् । उनीहरुले नेपाल फर्केपछि पनि अनलाइनबाट ट्याक्स फाइल गर्न सक्छन् । यदि ट्याक्स नतिरेको खण्डमा भिसाको उल्लंघन हुने भएकाले पछि अप्ठ्यारो पर्नसक्छ ।’

आईआरएसले पनि अमेरिकामा प्रस्तुती गर्ने कलाकारहरुले अमेरिकी आयकर तिर्नुपर्ने प्रष्ट पारेको छ । त्यस्तो आम्दानी रिपोर्ट गर्न र कर तिर्नको लागि अमेरिकी संघीय आयकर रिटर्न फाइल गर्न आवश्यक रहेको आईआरएसले जनाएको छ । गैरआवासीय कलाकारहरुलाई गरिने भुक्तानीहरू विशेष विथहोल्ड नियमहरूको अधीनमा रहेको आईआरएसले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com