मानव तस्करीमा परेकालाई अमेरिकामा थपिएको वर्क पर्मिटको नयाँ श्रेणी के हो ?


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

अमेरिकामा गतसातादेखि वर्क पर्मिटको नयाँ श्रेणी थप गरिएको छ । अगस्ट २८ देखि प्रभावकारी हुनेगरी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्क पर्मिटको नयाँ श्रेणी सी ४० स्थापना गरेको हो ।

सी ४० श्रेणी टी भिसाका लागि आई ९१४ आवेदन पेन्डिङ रहेकाहरुका लागि वर्क पर्मिट प्रदान गरिने श्रेणी हो । टी भिसा आवेदकहरु जसको आवेदन सत्य र प्राथमिक मानक पूरा भएको मानिन्छ उनीहरुले वर्क पर्मिटको लागि आवेदन दिएमा यो श्रेणीको वर्क पर्मिट पाउनेछन् । टी भिसा मानव तस्करीको गम्भीर शिकार भएकाहरुलाई प्रदान गरिन्छ ।

टी भिसाका मुख्य आवेदक र तिनका परिवारका सदस्यहरूले अब सी ४० श्रेणीको वर्क पर्मिट प्राप्त गर्न सक्छन्। युएससीआईएसले पहिले टी भिसाका आवेदकहरूलाई वर्क पर्मिट प्रदान गर्दा सी १४ श्रेणी प्रयोग गर्थ्यो, जुन श्रेणी देशनिकालाका स्थगनको वर्क पर्मिटका लागि प्रयोग गरिदै आएको छ ।

टी वान भिसा स्वीकृत भएमा व्यक्तिहरूले ए १६ श्रेणीको वर्क पर्मिट प्राप्त गर्नेछन् । र यदि टी टु, टी थ्री, टी फोर, टी फाइव वा टी सिक्स श्रेणीको गैर आप्रवासी स्थिति प्रदान गरिएको खण्डमा व्यक्तिहरूले सी २५ श्रेणीको वर्क पर्मिट प्राप्त गर्नेछन्।

वर्क पर्मिटको प्रमाणिकरण प्रणाली सेभले यदि आवेदकसँग अन्य अध्यागमन स्थिति नभएमा सी ४० श्रेणीको वर्क पर्मिटको लागि प्रमाणीकरण प्रदान गर्नेछ । यदि आवेदकसँग थप आप्रवासन स्थिति छ भने सेभले फरक प्रारम्भिक प्रमाणीकरण प्रदान गर्न सक्छ। ती अवस्थामा एजेन्सीहरूले सबै आवेदकको आप्रवासन स्थिति प्राप्त गर्न थप प्रमाणीकरणको अनुरोध गर्नुपर्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com