अमेरिकाको भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लट अक्टोबर १ र नोभेम्बर ५ मा खोलिने


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न सुरु गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासको भनाई अनुशार जनवरी २०२५ का लागि गत सेप्टेम्बर ४ मा अप्वाइन्टमेन्ट स्लटहरु खोलिएको थियो ।

अब फेब्रअरी २०२५ का लागि अप्वाइन्टमेन्ट स्लटहरु अक्टोबर १ मा खोलिनेछ भने मार्च २०२५ का लागि अप्वाइन्टमेन्ट स्लटहरु नोभेम्बर ५ मा खोलिनेछ । अर्थात् अक्टोबर १ मा फेब्रअरी २०२५का लागि विद्यार्थी र भिजिटर भिसाका अप्वाइन्टमेन्ट लिन सकिनेछ भने नोभेम्बर ५ मा मार्च २०२५ का लागि विद्यार्थी र भिजिटर भिसाका अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो । विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो ।

अमेरिकी दूतावास काठमाडौंमा भिजिटर र विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा १० महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि १० महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको छ । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले अब सेप्टेम्बरदेखि अतिक्ति भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।

अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने नेपालीहरुको चाप पछिल्लो समयमा अत्यन्तै बढेको छ । यो चापसँगै विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा पनि ऐतिहासिक रेकर्ड कायम भइरहेको छ ।

जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जुलाईमा कुल १७८८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । जुन चालु आर्थिक बर्षकै सबैभन्दा धेरै हो । उनीहरुका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका छन् ।

योसँगै चालु आर्थिक बर्षको १० महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या १०९८८ पुगेको छ । यस अगाडि गत जुनमा पनि अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको थियो । जुनमा १७ सय जना नेपाली विद्यार्थीहरु र ७६ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका थिए । यो संख्या चालु आर्थिक बर्षको ९ महिनामा सबैभन्दा धेरै थियो ।

मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५०८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । उनीहरुका ६० जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाए ।

जनवरीमा ११०१ जना, फेब्रुअरीमा २०१ जना, मार्चमा ३९५ जना र अप्रिलमा १३९९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिना अर्थात् सन् २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरको अवधिमा २८९६ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।

अक्टोबरमा ५०८, नोभेम्बरमा ७८४ र डिसेम्बरमा १६०४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका १११ जना डिपेण्डेटहरुले पनि अमेरिकाको एफ टु श्रेणीको भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा उल्लेख छ ।

अमेरिकामा विद्यार्थी भिसामा आउने नेपालीहरु हरेकबर्ष थपिदै गर्दा विद्यार्थीहरुका समस्या र मानसिक अवस्थाबारे पनि चासो बढ्न थालेको छ । पढाई र आर्थिक दवावका कारण विद्यार्थीहरुले भोगेका मानसिक समस्याबारे नेपाली समाजमा बहसमा बृद्धि भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com