१० महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरु २५०५, सेप्टेम्बरभित्र नपाउनेहरु अयोग्य


प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार

जुलाई महिनामा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेसँगै आर्थिक बर्ष २०२४ को १० महिनामा अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २५०५ पुगेको छ । अगस्तमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको यकिन संख्या सार्वजनिक नभएपनि सेप्टेम्बरको अन्त्यसम्म नै २०२४ का डिभी विजेताहरुले भिसा प्राप्त गर्न सक्नेछन् ।

चालु आर्थिक बर्ष २०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस नम्बर तोकिएकाले अब १३ हजारभन्दा बढी केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ ।

१३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने भएका हुन् । सेप्टेम्बर ३० पछि यसबर्षको डिभी समाप्त हुने र अक्टोबर १ देखि आर्थिक बर्ष २०२५ को डिभी सुरु हुने भएकाले आज प्रकाशित भिसा बुलेटिनसँगै १३ हजारभन्दा माथि केस नम्बर हुनेहरु निराश भएका छन् । विगतका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो ।

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको थियो ।  अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मे महिनामा २९३ जना र जुन महिनामा ८६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । सन् २०२२ मा डिभी भरेकाहरुले अहिले भिसा पाइरहेका हुन् । २०२३ मा भरेकाहरुले आगामी अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । २०२४ को डिभी लोटरी कार्यक्रम अन्तरगत नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो रहेको छ । २०२४ को डिभी लोटरीका लागि एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका थिए ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन ।

डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

डिभी २०२५ का विजेतालाई अक्टोबरदेखि भिसा, २९५० सम्म केस नम्बर हुने नेपाली पहिलो महिना योग्य

डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२५ को पहिलो महिना नेपालीहरुलाई २९५० केस नम्बरको सिमाबन्दी लगाइएको छ ।

विगतका बर्षहरुका तुलनामा यो केस नम्बरको सिमाबन्दी नेपालीका सन्दर्भमा केही खुकुलो हो । गतबर्षको अक्टोबरमा १३ सय सम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी लगाइएको थियो भने २०२२ को अक्टोबरमा यो सिमाबन्दी १४५० रहेको थियो । २०२१ को अक्टोबरमा यो सिमाबन्दी ९ सय रहेको थियो भने २०२० को अक्टोबरमा यो सिमाबन्दी १०५० थियो ।

अक्टोबर १ देखि सुरु हुने आगामी आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।

५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

गत अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।

डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ४  देखि  सन् सेप्टेम्बर ३०, २०२५ सम्म उपलब्ध हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com