टेक्सासमा गोली हानी हत्या भएको झण्डै २ सातापछि आमाको उपस्थीतिमा मुना पाण्डेको दाहसंस्कार


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

टेक्सासको ह्युष्टनमा गोली हानी हत्या गरिएकी २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको झण्डै २ सातापछि आमा अनिता पाण्डे अधिकारीको उपस्थीतिमा अन्तिम संस्कार गरिएको छ । सोमबार दिउसो ४ बजे उनको हिन्दु संस्कार अनुशार अन्तिम विदाई गरिएको हो । आमा अनिता गतसाता छोरीको अन्तिम संस्कारमा सहभागी हुन अमेरिका आएकी थिइन् ।

मुना पाण्डेको मृत शरिर अगस्त २६ मा ह्युस्टनमा रहेको उनको अपार्टमेन्टमा फेला परेको थियो । प्रहरीले हत्या अभियुक्त बबीसिंह शाहलाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ ।

मुनाको हत्या भएको केहीदिनपछि पक्राउ पर्दा समेत बबीसिंहले हत्याका बेलामा रगतका दाग लागेका कपडाहरु नै लगाएको अभियोजकहरूले बताएका छन् । मुनाको अपार्टमेन्टबाट बाहिर निस्कँदा निगरानी क्यामेरामा देखिएको लुगा लगाएको अवस्थामा नै प्रहरीले पक्राउ गरेको थियो । मुनालाई शरीरमा तीन पटक र टाउकोको पछाडिबाट मृत्युदण्डको शैलीमा एक पटक गोली हानेको अभियोजकहरुले बताएका छन् ।

बबी सिंह शाहविरुद्ध लगाइएको जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबी सिंह शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ ।

अभियुक्त बबीसिंह शाह

शाहलाई अगस्त २८ बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको थियो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको थियो । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि शाहलाई पक्राउ गरेको थियो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो । अगस्त २६ को बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा मुनालाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको थियो ।

प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com