परिवारमा आधारित अधिकांश श्रेणीमा टसमस भएन ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति, केहीमा थोरै हेरफेर


प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार

बिहिबार सार्वजनिक अक्टोबरको भिसा बुलेटिनमा परिवारमा आधारित अधिकांश श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा सेप्टेम्बरको तुलनामा कुनै टसमस भएको छैन भने केही श्रेणीमा थोरैमात्र हेरफेर भएको छ । जसका कारण परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षा गरिररहेकाहरु निराश भएका छन् । अक्टोबरमा अधिकांश श्रेणीमा ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा वा ग्रिनकार्ड पाउन लाग्ने अवधि अझ थपिएको छ ।

अगस्तमा अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति एकैपटक साढे ७ महिना सरेर जुन १५, २०२४ मा आएको थियो । सेप्टेम्बरका लागि यो मिति टसमस नभएपनि अक्टोबरका लागि भने जुलाई १५, २०२४ कायम भएको छ । अर्थात् जुलाई १५, २०२४ भन्दा अगाडि आई १३० आवेदन फाइल गरेकाहरुले अक्टोबरमा यो श्रेणीमा ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्नेछन् ।

ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म कन्करेन्ट रहदै आएकोमा गतबर्षको सेप्टेम्बरदेखि भने कन्करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् । परिवारमा आधारित ग्रिनकार्डका लागि युएससीआईएसले अक्टोबरका लागि पनि भिसा बुलेटिनमा रहेको फाइलिङ मितिलाई नै आधार मानेको छ ।

त्यस्तै अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका सन्दर्भमा भिसा पाउने मितिमा एकसातामात्र फेरबदल भएको छ । सेप्टेम्बरको भिसा बुलेटिनमा १५ नोभेम्बर २०२१ अगाडि प्राथमिकता मिति भएकालेमात्र आप्रवासी भिसा पाउनसक्ने उल्लेख भएकोमा अक्टोबरका लागि २२ नोभेम्बर २०२१ अगाडि प्राथमिकता मिति भएकालेमात्र आप्रवासी भिसा पाउनसक्नेछन् ।

यद्यपी उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेको खण्डमा भने जुलाई १५, २०२४ भन्दा अगाडि दिएको आवेदन नेशनल भिसा सेन्टरले डकुमेन्ट्री क्वालीफाइड हुनका लागि प्रकृया अगाडि बढाउँछ । तर भिसा अन्तरवार्ताका लागि भने भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेट नै प्रतिक्षा गर्नुपर्छ । युएससीआईएसले आई १३० आवेदन प्रकृयामा लैजान भने लामो समय लगाउने गरेको छ ।

अक्टोबरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष २ महिना पुगेको छ । १ अगस्त २००७ भन्दा अगाडि आई १३० आवेदन पेश गरेर स्वीकृत भई नेशनल भिसा सेन्टरबाट सबै प्रकृया पूरा भएकाहरुले अक्टोबरमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि बढेको बढ्यै रहेको छ । जसका कारण सन् २००७ भन्दा पछाडि आई १३० आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले आप्रवासी भिसा पाउन सकेका छैनन् । लामो समयको प्रतिक्षा अवधिका कारण भिसा कुरेर बसेका उनीहरु निराश भएका छन् ।

अक्टोबरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ९ बर्ष रहेको छ । अर्थात् २२ अक्टोबर २०१५ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अक्टोबरमा भिसा पाउन सक्नेछन् ।

त्यस्तै ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले भिसा पाउन लाग्ने अवधि २ बर्ष ११ महिना रहेको छ । अर्थात् २२ नोभेम्बर २०२१ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अक्टोबरमा भिसा पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ५ महिना रहेको छ । अर्थात् १ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अक्टोबरमा भिसा पाउन सक्नेछन् । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि १४ बर्ष ६ महिना रहेको छ । अर्थात् १ अप्रिल २०१० भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले अक्टोबरमा भिसा पाउन सक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com