न्युयोर्क सिटीका मेयरले भोलिदेखि पहिलो राष्ट्रिय मुसा सम्मेलनको आयोजना गर्ने


प्रकाशित मिति : आश्विन १, २०८१ मंगलबार

A group of animals that are standing in the grass

न्युयोर्क सिटीका मेयर एरिक आडम्सलेले भोलिदेखि पहिलो राष्ट्रिय शहरी मुसा शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिन र कर्नेल विश्वविद्यालयको न्यूयोर्क राज्य एकीकृत कीट व्यवस्थापन कार्यक्रमसँगको साझेदारीमा सम्मेलनको आयोजना गरिने भएको हो ।

सेप्टेम्बर १८ र १९ मा हुने सम्मेलनमा शैक्षिक संस्थाका अनुसन्धानकर्तादेखि नगरका कीट नियन्त्रण प्रबन्धकसम्मका विज्ञहरुको सहभागिता रहने भएको छ । शिखर सम्मेलनमा बोस्टन, न्यू ओर्लियान्स र सियाटल लगायतका सिटीका विशेषज्ञहरू, साथै देशभरका प्रख्यात मुसा अनुसन्धानकर्ताहरू सहित देशभरका सहभागीहरू सामेल हुनेछन्।

शहरी मुसाहरू र तिनीहरूको जनसंख्या कसरी व्यवस्थापन गर्ने भन्नेबारे राम्रोसँग बुझ्नको लागि देशभरका विशेषज्ञहरू र नेताहरूलाई एकै ठाउँमा ल्याउन कार्यक्रम आयोजना गर्न लागिएको मेयर आडम्सले जनाएका छन् । न्यूयोर्क शहरले मुसाका हटस्पटहरू पहिचान गर्न र मुसालाई फस्टाउन अनुमति दिने अवस्थाहरू हटाउनमा केन्द्रित समग्र एकीकृत कीट व्यवस्थापन रणनीति लागू गर्नमा प्रगति जारी राखेको बेला शिखर सम्मेलन हुन लागेको हो ।

न्युयोर्क सिटी मुसाको समस्या समाधानका लागि निरन्तर जुधिरहेको छ । एमएण्डएम पेष्ट कन्ट्रोलको शोध अनुशार न्युयोर्क सिटीमा मुसाको संख्या अनुमानित ३ मिलियन रहेको छ, जुन न्युयोर्क सिटीको कुल जनसंख्याको झण्डै एकतिहाई हिस्सा हो । सन् २०१० यताको अवधिमा मुसाको संख्या न्युयोर्क सिटीमा ५० प्रतिशतले बृद्धि भएको छ । न्युयोर्क सिटी विश्वमै खैरो मुसाको सबैभन्दा धेरै संख्या भएको शहर हो ।

औषत मुसाको तौल भालेको ३५० ग्राम र पोथीको २५० ग्राम रहेको छ । न्युयोर्क सिटीमा झण्डै साढे ५ लाख घरमा मुसाहरु भएको रिपोर्ट गरिएको थियो । सिटीभर ९ लाख ७२ हजारले घरभित्र भएका मुसाको बारेमा स्थानीय सरकारलाई रिपोर्ट गरेका थिए भने ३ लाख ४१ हजार बालबालिकाहरु मुसा भएका घरमा बस्ने गर्छन् ।

न्युयोर्क सिटी मुसाको प्रजननका लागि उपयुक्त मौषम भएको स्थान मानिन्छ । यस क्षेत्रमा पाइन खैरो मुसा बर्षमा ६ पटक ब्याउनसक्छ भने हरेक बेतमा १२ वटासम्म बच्चा जन्माउँछ । न्युयोर्क सिटीले मुसाको बृद्धिसँगै जनस्वास्थ्य चिन्ताको सामना गरिरहेको छ किनकि बढ्दो मुसाको जनसंख्यासँगै लेप्टोस्पाइरोसिसका संक्रमणहरु बढिरहेका छन् । विज्ञहरूले मुसाको संख्याको बृद्धिलाईमात्र नभई लेप्टोस्पाइरोसिसको संक्रमण बढ्नुमा पनि जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

buildings near body of water landscape photography

लेप्टोस्पाइरोसिस जनावरको पिसाबको सम्पर्कबाट सर्ने ब्याक्टेरिया संक्रमण हो । यो संक्रमण न्युयोर्क सिटीमा सन् २०२३ मा सबैभन्दा उच्च बिन्दुमा पुगेको छ भने २०२४ को ४ महिनाको रिपोर्ट हेर्दा यो बर्ष अझ बृद्धि हुने देखिएको छ । सन् २००१ देखि २०२० को तुलनामा सन् २०२१ र २०२२ मा लेप्टोस्पाइरोसिस संक्रमण ५ गुणा बृद्धि भएको छ भने २०२३ मा ८ गुणा बृद्धि भएको छ । यो संक्रमणबाट अहिलेसम्म ६ जनाको मृत्यु समेत भइसकेको छ ।

न्युयोर्क सिटीले मुसा नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाउदै आएकोमा मेयर एरिक आडम्सले गतबर्ष इतिहासमा नै पहिलोपटक मुसा नियन्त्रण निर्देशक नै नियुक्त गरेपछि यसले ब्यापक चर्चा पाएको थियो । त्यो यता मुसा नियन्त्रणका लागि न्युयोर्क सिटीमा विभिन्न पहलहरु तीब्र पारिएको छ । मुसाको प्वालमा कार्वन मोनोक्साइड पम्प गरेर मुसालाई प्वालभित्र समाप्त पार्ने विधि प्रभावकारी मानिएको छ । किनभने विष र पासोको प्रयोग गर्दा घरपालुवा जनावर र अन्य बन्यजन्तुको लागि असुरक्षित अवस्था श्रृजना हुन्छ । यो विधि अनुशार न्युयोर्क सिटीका यार्डहरु, पार्कहरु, प्वालहरु, रुखका खाडलहरुमा कार्बन मोनोक्साइड पम्प गरिन्छ । मुसाहरु मर्नु अगाडि निद्रामा जाने भएकाले यो बिधी बढी मानवीय समेत रहेको छ ।

न्युयोर्क सिटी मेयर कार्यालयले संचालन गरेको फोहोर व्यवस्थापन सम्बन्धि नयाँ अभियान पनि मुसा नियन्त्रणमा प्रभावकारी रहेको न्युयोर्क सिटीको सरसफाइ विभागको दावी छ । जस अनुशार न्युयोर्क सिटीमा मुसा देखिएकोबारे स्थानीय ३११ मा आउने रिपोर्टको संख्यामा गिरावट आएको छ । विगत एकबर्षको तथ्यांक हेर्दा मुसा देखिएका रिपोर्टहरु १४ प्रतिशत कम आएका छन् । न्युयोर्क सिटीमा दैनिक ४४ मिलियन पाउण्ड फोहोर व्यवस्थापनमा गरिएको परिवर्तनका कारण मुसा नियन्त्रण प्रभावकारी भएको स्थानीय सरकारको दावी छ ।

एकबर्ष अगाडि स्थानीय सरकारले ४ बजेदेखि न्युयोर्क सिटीमा बाहिर फोहोर राख्न पाउने पुरानो समय तालिकामा ब्यापक परिवर्तन गरेको थियो । बेलुका ६ बजेपछिमात्र सुरक्षित कन्टेनरमा फोहोर बाहिर राख्न पाइने तथा सिधै फोहोरका झोलाहरु ८ बजेपछिमात्र बाहिर राख्न पाइने नियम ल्याउँदा बाहिर फोहोर रहने समयमा कटौती भएको थियो । त्यस्तै विहान ६ बजेको साटो राती १२ बजेनै फोहोर उठाउन थालेपछि १४ घण्टाभन्दा लामो समय फोहोर बाहिर रहने अवस्थाको अन्त्य भएको थियो ।

व्यवसायहरुले फ्याक्ने फोहोरका सन्दर्भमा पनि नयाँ समय तालिका लागु गरिएको थियो । मार्च १ देखि व्यवसायहरुले दैनिक उत्पादन गर्ने २० मिलियन पाउण्ड फोहोर बाटोमा नभई बिर्को भएको कन्टेनरमामात्र फ्याक्न पाउने नियम पनि मुसा नियन्त्रण अभियानकै क्रममा ल्याइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com