न्युयोर्कका गीतकार पासाङलाई अन्तर्राष्ट्रिय गीत रत्न सम्मान


प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार

न्युयोर्कका गीतकार पासाङ शेर्पालाई अन्तर्राष्ट्रिय गीत रत्न सम्मान २०८१ प्रदान गरिएको छ । प्रयास मञ्चले बाल अनाथालय, बृद्धाश्रम, अपाङ्ग केन्द्र र दुर्गमका गरिब खेलाडीहरुको सहयोगार्थ बुद्धवीर लामा तेह्रौं गीतिमय एक सांगितिक समारोहमा शेर्पालाई सम्मान गरेको हो ।

विदेशी भूमिमा रहेर पनि नेपाली गीत र साहित्यको सेवामा समर्पित व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहे अनुरुप शेर्पाले धेरै नेपाली गीतहरु लेखेर अभिलेखन गराउनुका साथै कोरोना कथा लगायतका पुस्तक प्रकाशित गरेर नेपाली गीत र साहित्यलाई देश देशान्तर फैलाउन पुराएको योगदानको उच्च मूल्यांकन गर्दै कदर स्वरुप अन्तर्राष्ट्रिय गीत रत्न सम्मान २०८१ प्रदान गरिएको संस्थाले जनाएको छ ।

बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ २ बर्ष अगाडि प्रकाशित भएको थियो भने शेर्पाबाट रचित ‘सयौं डाँडा काट्दै आएँ’ लगायतका आधा दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका अरु आधादर्जन गीतहरु या त रेकर्ड भएर रिलिज गर्न बाँकी छन् या त रेकर्डका क्रममा छन् । उपयुक्त समय आएपछि रिलिज गर्दै जाने शेर्पाको योजना छ ।

गीतकार शेर्पाको पहिलो गीत झण्डै २४  बर्ष अगाडि रेकर्ड भएको थियो । ‘तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ’  बोलेका उक्त गीत लाक्पा शेर्पाले गाएका थिए । उक्त गीत निकै चर्चित गीत समेत हो ।

सन् २००४ को डिसेम्बरमा अमेरिका आएका उनले सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ स्ट्राइकिङ स्टाइल खोले । अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन् । उनको पासाङ स्ट्राइकिङ अहिले ब्राण्डको रुपमा स्थापित भएको छ ।

पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु निकै चर्चित छन् । ‘नरोउ तिमी’ बोलको गीत युट्युबमामात्र ७ मिलियन भन्दा धेरैपटक हेरिएको थियो ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com