अमेरिकाको भिसा छुटको सूचीमा थपियो कतार, नेपाल किन योग्य छैन ?


प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

अमेरिकाले भिसा छुटको सुचीमा कतारलाई पनि थपेको छ । अमेरिकाको भिसा वेभर कार्यक्रम अन्तरगत अमेरिका आउँदा भिसा लिन नपर्ने देशको सुचीमा थपिएको कतार पहिलो अरब राष्ट्र हो । आगामी डिसेम्बर १ देखि कतारका पासपोर्टवाहकले अमेरिका आउँदा अग्रिम भिसा लिनुपर्नेछैन । अब योसँगै अमेरिकाको भिसा लिन नपर्ने देशको संख्या ४२ पुग्नेछ ।

भिसा छुटका लागि योग्य देशका नागरिकले अमेरिकाको इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेनश इस्टामार्फत अमेरिका प्रवेश गर्नुभन्दा ७२ घण्टा अगाडिसम्म आवेदन दिनसक्छन् । उनीहरुले दूतावास वा कन्सुलेटबाट भिसा लिन आवश्यक हुँदैन । उनीहरु ९० दिनसम्म अमेरिकामा बस्न पाउँछन् ।

नेपाल भने भिसा वेभर कार्यक्रमका मापदण्डहरु पूरा गर्न नसकेका कारण अमेरिकाको अन अराइभल भिसाका लागि अयोग्य भएको हो । यो कार्यक्रमका लागि योग्य हुन अमेरिकन नागरिकका लागि पनि समान प्रकारको भिसा वेभरको सुविधा दिइएको हुनुपर्छ भने दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिंदा भिसा अस्वीकृत दर ३ प्रतिशतभन्दा कम हुनुपर्छ । यसको तुलनामा नेपालीको भिसा अस्वीकृत निकै उच्च रहेको छ ।

पासपोर्ट चोरी भएको वा हराएको रिपोर्ट २४ घण्टाभित्र इन्टरपोलमार्फत अमेरिकालाई दिनुपर्ने, मेसिन रिडेबल पासपोर्ट लागु गरेको हुनुपर्ने लगायतका ८ वटा मापदण्ड पूरा गरेका मुलुकमात्र अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि योग्य हुन्छन् । नेपाल भिसा वेभर कार्यक्रमका लागि अयोग्य हुनुको मुख्य कारण अमेरिकाले नेपालीलाई भिसा अस्वीकृत गर्नेदर अत्याधिक हुनु हो ।

नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रशोधन गर्दै सीबीपी अधिकारी । फोटो : जेम्स टूरटेलोटे

आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका थिए । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये ३१ दशमलव ३ प्रतिशतकोमात्र भिसा अस्वीकृत गरिएको थियो । यद्यपी भिसा स्वीकृत दर अघिल्लो आर्थिक बर्षको तुलनामा भने कम हो ।

आर्थिक बर्ष २०२३ मा १८ हजार २ सय ४५ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । यो बर्ष झण्डै २६ हजार ५ सय नेपालीले भिजिटर भिसाका लागि आवेदन दिएकोमा झण्डै ८ हजार ३ सय जनाको भिसा आवेदन अस्वीकृत भयो ।

आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको थियो । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय १४ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।

आवेदकमध्ये झण्डै ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएका थिएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा पाएका थिएनन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो ।

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएका थिएनन् ।

२०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो ।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा स्वीकृतिको प्रतिशत दर बढेपनि संख्या भने घटेको थियो । २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको थियो ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको थियो ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com