डिभी लोटरी २०२६ घोषणा, अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने, ध्यान दिनुपर्ने ५ कुरा


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ ।

डिभी २०२६ को लागि अहिले अँग्रेजीमा कार्यक्रम निर्देशिका सार्वजनिक गरिएको छ भने अतिरिक्त भाषाहरूमा अनौपचारिक अनुवादहरू थपिने जनाइएको छ । यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको तुलनामा कुनै परिवर्तन गरिएको छैन ।

डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला ।

डिभी २०२६ का विजेताहरुले सन् २०२६  को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्नुहोला । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर २  देखि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com