अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता लिने नेपालीहरु झण्डै १ हजार


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या १ हजार नाघेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांक अनुशार अहिलेसम्म अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या १ हजार नाघेको हो ।

सबैभन्दा धेरै सन् २०१६ मा १८९ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गरेका थिए । जतिबेला ग्रिनकार्ड नभएका व्यक्ति समेत अमेरिकी सेनामा भर्ती हुन पाउने माभ्नी कार्यक्रम रहेको थियो । सन् २००८ मा सुरु भएको उक्त कार्यक्रम सन् २०१७ को सेप्टेम्बर ३० मा समाप्त भएपछि भने अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्यामा गिरावट आएको छ ।

माभ्नी कार्यक्रम समाप्त भएपछि पनि झण्डै ४ सय जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गरेका छन् । सन् २०२२ मा ३६ जना, सन् २०२१ मा ४५ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गरेको होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख छ ।

सन् २०२० मा अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता गरेका ६९ नेपालीमध्ये पुरुष ६१ जना महिला ८ जना थिए भने २०१९ मा अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता गरेका ९३ जनामध्ये पुरुष ८४ जना र महिला ९ जना थिए । त्यस्तै २०१८ मा अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता गरेका ७५ नेपालीमध्ये पुरुष ६४ जना र महिला ११ जना थिए ।

माभ्नी कार्यक्रम सुचारु भएका १० बर्षमा ६५१ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता गरेका थिए । त्यो बेला सन् २०१७ मा ६३ जना (पुरुष ४९, महिला १४), २०१६ मा १८९ जना (पुरुष १६४, महिला २५), २०१५ मा ९४ जना ( पुरुष ८१, महिला १३), २०१४ मा १२० जना, २०१३ मा ४८ जना, २०१२ मा १८ जना, २०११ मा १४ जना, २०१० मा ८१ जना, २००९ जना, (पुरुष १०, महिला ३ ), २००८ मा १४ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता गरेका थिए ।

तर यो अवधिमा सबैजनाले माभ्नी कार्यक्रममार्फत भर्ती भएर अमेरिकी नागरिकता प्राप्त गरेका भने होइनन् । केही अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेकाहरु पनि अमेरिकी सेनामा भर्ती भएका थिए ।

माभ्नी कार्यक्रम सुरु हुनु अगाडि भने अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता नेपालीहरुको संख्या निकै कम थियो । सन् २००६ मा ११ जना र सन् २००५ मा ६ जना नेपालीहरुले अमेरिकी सेनामा भर्ती भएर अमेरिकी नागरिकता लिएका थिए । त्यो भन्दा अगाडिको तथ्यांक निकै कममात्र भएकाले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छैन ।

अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गरेको व्यक्तिले अमेरिकी नागरिकता प्राप्त गर्न ३ बर्ष कुनुपर्ने र अन्य तरिकाले ग्रिनकार्ड प्राप्त गरेको व्यक्तिले ५ बर्ष कुनुपर्ने भएतापनि अमेरिकी सेनामा भर्ना भइसकेपछि तुरुन्तै अमेरिकी नागरिकता प्राप्त गर्न सकिने भएकाले पनि अमेरिकी सेनामा भर्ना हुनेहरुको आकर्षण देखिएको थियो । अमेरिकी सेना भन्नाले युएस आर्मी, नेभी, वायुसेना, मरिन कोर, कोष्ट गार्ड, रिजर्भ फोर्स र नेशनल गार्डका केही कम्पोनेन्टहरु रहेका छन् ।

माभ्नी कार्यक्रममार्फत अमेरिकी सेनामा भर्ना हुँदा ग्रिनकार्ड नचाहिने भएकाले कतिपयले ग्रिनकार्डविना नै तुरुन्तै अमेरिकी नागरिकता प्राप्त गर्नका लागि यो बाटो रोजेका थिए । खासगरी विद्यार्थी भिसामा रहेकाहरु समेत माभ्नी कार्यक्रमका लागि योग्य भएकाले अमेरिकी सेनामा भर्ना भएर नागरिकता प्राप्त गर्ने नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको थियो । अमेरिकी सेनामा भर्ना भएर नागरिकता प्राप्त गर्नेहरुको संख्या १ हजार नाघेपनि सबैजना अहिले अमेरिकी सेनामा कार्यरत भने छैनन् । उनीहरु निश्चित अवधिको सम्झौता सकिएपछि भेट्रानका रुपमा रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com