शान्ति सैनिकहरुलाई आक्रमणको निशाना नबनाउन अमेरिकाको इजरायललाई आग्रह


प्रकाशित मिति : आश्विन २५, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडनले संयुक्त राष्ट्र संघका शान्ति सैनिकहरूलाई लक्षित गोलीबारी बन्द गर्न इजरायलसंग आग्रह गर्नुभएको छ ।

लेबनानमा हिज़्बुल्लाहसँगको लडाइँको क्रममा त्यहाँ कार्यरत शान्ति सैनिकहरुलाई केन्द्रीत गरेर इजरायली हमला भएपछि बाइडेनले यो आग्रह गर्नुभएको हो ।

गत ४८ घण्टाको अवधिमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकहरूलाई लक्षित दुईवटा गोलीबारीका घटनाहरू सार्वजनिक भएका छन् ।

शुक्रबार, इसरायली सेनाले (आईडीएफ) यस घटनाका लागि आफ्ना सैनिकहरू जिम्मेवार भएको स्वीकार गरेको छ ।

गोलीबारीको घटनामा लेबनानमा तैनाथ संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल) का दुई जना श्रीलंकाली सैनिक घाइते भएका थिए ।

आईडीएफका अनुसार, नाकोउरामा युनिफिलको आधार शिविर नजिक काम गरिरहेका इसरायली सैनिकहरूले खतरा महसुस भएपछि गोली चलाएका थिए । तर, इसरायली सेनाले यस घटनाको गहिरो अनुसन्धान गर्ने बताएको छ ।

फ्रान्स, इटाली र स्पेनजस्ता देशहरूले यस घटनालाई लिएर इसरायलको कडा आलोचना गरेका छन् । यी तीनै देशहरूले संयुक्त वक्तव्य जारी गर्दै इसरायलको क्रियाकलापलाई पूर्ण रूपमा गलत भनेका छन् ।

यता, श्रीलंकाको विदेश मन्त्रालयले पनि आईडीएफको उक्त कार्यको कडा निन्दा गरेको छ ।

इसरायलले संयुक्त राष्ट्र शान्ति सैनिक ले क्षेत्रलाई स्थिर बनाउन असफल भएको आरोप लगाउँदै शान्ति सैनिकहरूलाई उत्तरतिर ५ किलोमिटर पछि हट्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघका लागि इसरायली राजदूत डेनी डेननले पुनः युनिफिललाई उत्तरतिर ५ किलोमिटर पछाडि हट्न अनुरोध गर्नुभएको हो ।

लेबनानमा ५० देशका करिब १० हजार शान्ति सैनिक र करिब ८ सय नागरिक कर्मचारीहरू तैनाथ छन् ।

१९७८ देखि उनीहरूले लितानी नदी र लेबनान र इसरायलको बीचमा संयुक्त राष्ट्र संघले मान्यता दिएको सीमाक्षेत्र ब्लु लाइन को बीचको क्षेत्र गस्ती गर्दै आएका छन्।

लेबनानले पछिल्लो समयको आक्रमणमा मुख्यतया २ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको बताएको छ । त्यहाँबाट लाखौँ मानिस विस्थापित भएका बताएका छन् ।

यसै हप्तामा हिज़्बुल्लाहको रकेट आक्रमणबाट २ जना इसरायली नागरिक र एक जना थाई नागरिकको मृत्यु भएको इसरायली अधिकारीहरूले बताएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com