डिभी लोटरी भर्ने क्रम जारी, बार्षिक १० लाख भन्दा धेरै नेपालीहरु डिभी लोटरीमा सहभागी


प्रकाशित मिति : कार्तिक ३, २०८१ शनिबार

अमेरिकाको डिभी लोटरी भर्ने क्रम जारी रहेको छ ।  न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि खुलेको डिभी लोटरी नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म भर्न सकिने छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ ।

यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको तुलनामा कुनै परिवर्तन गरिएको छैन । प्रणालीमा समस्या हुनसक्ने भएकाले डिभी लोटरी भर्नका लागि अन्तिम मितिसम्म नकुर्न सुझाव दिइएको छ ।

यसपटक भरेकाहरुको डिभी लोटरीको नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । त्यसपछि उनीहरुले अक्टोबदेखि भिसा पाउन सुरु गर्नेछन् । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्नुहोला । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध भइसकेको छ । कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

बार्षिक १० लाख भन्दा धेरै नेपालीहरु सहभागी हुन्छन् डिभी लोटरीमा

अमेरिकाको डिभी लोटरी कार्यक्रममा पछिल्ला बर्षमा औषतमा बार्षिक १० लाख नेपालीहरु सहभागी हुदै आएका छन् । पासपोर्ट अनिवार्य गरेका बर्षहरुमा डिभी भर्नेको संख्या केही कमी आएपनि डिभी लोटरीका लागि पासपोर्ट अनिवार्यको नियम अदालतले हटाइदियो । सन् २०१९ मा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । २०२२ र २०२३ मा खुलेको डिभीमा पासपोर्ट अनिवार्य थिएन ।

पासपोर्ट अनिवार्य गर्दा पनि डिभी २०२१ मा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए ।  प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । डिभी २०२१ मा नेपालीको सहभागिता एसियाका देशमा दोश्रो र विश्वका देशमा पाँचौं स्थानमा थियो ।

डिभी २०२० मा १० लाख २६ हजार ४२३ नेपालीहरु सहभागीहरु रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ३७ हजार ६ सय ९६ जना र उनीहरुका परिवारका सदस्यहरु ३ लाख ८८ हजार ७ सय २७ रहेका थिए । डिभी २०१९ मा सहभागी नेपालीहरुको संख्या १० लाख ९२ हजार ३५ जना रहेका थिए । जसमध्ये प्राथमिक आवेदकहरु ६ लाख ८४ हजार १ सय ८० जना रहेका थिए भने उनीहरुका परिवारका सदस्यहरु ४ लाख ७ हजार ८ सय ५५ जना रहेका थिए ।

डिभी २०१८ मा ११ लाख ८७ हजार ३ सय ५० जना नेपालीहरु सहभागी भएका थिए । जसमा ७ लाख २८ हजार ७ सय १८ नेपाली प्राथमिक आवेदक र उनीहरुका आफन्तहरु ४ लाख ५८ हजार ६ सय ३२ रहेका थिए । डिभी २०१७ मा ११ लाख ३६ हजार ६ सय २२ जना नेपालीहरु सहभागी भए । जसमा प्राथमिक आवेदक ६ लाख ९२ हजार १ सय ३७ र आफन्तहरु ४ लाख ४४ हजार ४ सय ८५ रहेका थिए । डिभी २०१६ मा १० लाख ९० हजार ८ सय ८० नेपालीहरुले डिभी कार्यक्रममा सहभागिता जनाए । जसमा प्राथमिक आवेदक ६ लाख ६४ हजार ८ सय ५४ र आफन्तहरु ४ लाख २६ हजार २६ जना रहेका थिए ।

डिभी २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरीको फर्म भरेका थिए । उनीहरुका नजिकका आफन्तहरु ३ लाख ४७ हजार १ सय ३६ जना समेत जोड्दा सन् २०१५ को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरु ८ लाख ९२ हजार ९ सय ६१ जना रहेका थिए । त्यसैगरी डिभी २०१४ का लागि आवेदक र उनीहरुका आफन्तहरुसहित ६ लाख १३ हजार ३ सय ८५ जना नेपालीहरु कार्यक्रममा सहभागी भएका थिए भने डिभी २०१३ मा आवेदक र उनीहरुका आफन्तहरुसहित ४ लाख ९६ हजार ४ सय १० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

डिभी २०१२ मा ३ लाख ९७ हजार ३६ नेपालीहरु सहभागी भएका थिए, जसमध्ये प्राथमिक आवेदक २ लाख ३८ हजार ६ सय ७८ जना रहेका थिए भने परिवारका सदस्यहरु १ लाख ५८ हजार ३५८ जना रहेका थिए । डिभी २०११ मा ३ लाख २२ हजार ७ सय ५८ जना नेपालीहरु सहभागी भएका थिए । जसमध्ये १ लाख ९४ हजार ३ सय ७३ प्राथमिक आवेदकहरु र उनीहरुका परिवारका सदस्यहरु १ लाख २८ हजार ३ सय ८५ जना रहेका थिए ।

डिभी २०१० मा ३ लाख ५६ हजार २ सय १६ नेपालीहरु सहभागी भएका थिए । जसमध्ये २ लाख ११ हजार ४ सय २१ प्राथमिक आवेदकहरु र १ लाख ४४ हजार ७ सय ९५ जना परिवारका सदस्यहरु रहेका थिए । डिभी २००९ मा २ लाख ९८ हजार १ सय ४१ जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ७० हजार ७ सय १६ प्राथमिक आवेदकहरु र १ लाख २७ हजार ४ सय २५ परिवारका सदस्यहरु रहेका थिए ।

डिभी २००८ मा ३ लाख ८९ हजार ९ सय ८९ आवेदकहरु सहभागी थिए । जसमध्ये २ लाख २२ हजार ४ सय ७७ प्राथमिक आवेदकहरु र १ लाख ६७ हजार ५ सय १२ परिवारका सदस्यहरु रहेका थिए । डिभी २००७ मा ३ लाख २७ हजार ३ सय ३० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भए । जसमध्ये १ लाख ८९ हजार ४ सय ८४ प्राथमिक आवेदकहरु र १ लाख ३७ हजार ८ सय ४६ परिवारका सदस्यहरु रहेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com