रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप


प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो ।

शुक्रबार काठमाडौँमा पक्राउ पर्नुभएका सभापति लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा आज अदालत समक्ष प्रस्तुत गरिएको थियो । इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले बहस गर्नुुभएको थियो भने सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा नारायण घिमिरेलगायतले बहस गर्नुुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले आइतबार पोखरामा पार्टीको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ।  तस्बिरः कृष्ण दवाडी/रासस

सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उहाँका समर्थकले नाराबाजी गरेका थिए । सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो । समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो ।

सहकारी पीडितका साथै सभापति लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सभापति लामिछाने समर्थकको ¥याली पोखराको पृथ्वीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुुभएको थियो ।

कभर फोटो: शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी/रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com