कमलरी अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी विदेश मन्त्रालयको ‘च्याम्पियन्स अवार्ड’
प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार
नेपाली अभियन्ता उर्मिला चौधरीलाई अमेरिकाको विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकनले ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डबाट सम्मानित गरेका छन् । यो पुरस्कारले विश्वभरिका छ जना अभियन्ताहरुलाई सम्मान गरेको छ, जसले जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा उल्लेखनीय साहस, नेतृत्व र प्रतिबद्धता देखाएका छन्।
पूर्व बालश्रमिक चौधरीलाई १७ वर्षको उमेरमा उद्धार गरिएको थियो । उनी नेपालमा सिमान्तकृत जाति र जातीय समुदायहरूको लागि एक शक्तिशाली आवाजको रूपमा उदाएकी छिन्। थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान दिएकी उनले पूर्व बन्धुवा मजदुरहरूको सशक्तिकरणको लागि समर्पित मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्च सह स्थापना गरेकी छन् । त्यही संस्थामार्फत् उनी कमलरी अभियन्ताको रुपमा काम गर्छिन् ।
समाजमा पुनर्स्थापना गर्न उनीहरूको सहयोगका लागि ४२ सहकारी संस्थाहरू स्थापना गरेकी छिन्। उनको अभियान लैङ्गिक र श्रम अधिकारमा पनि विस्तार भएको छ । हाल उनी कानूनको अध्ययन गरिरहेकी छिन्, जसले नेपालमा अन्याय र प्रणालीगत जातिवादविरुद्धको उनको लडाइँलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
चौधरीलाई यो पुरस्कारबाट सम्मानित गरिनु जीवनभर बन्धुवा मजदुरी उन्मूलनमा, विशेष गरी नेपालको थारु समुदायमा समर्पणको प्रमाण हो । यसले सिमान्तकृत समुदायहरूलाई प्रभावित गर्ने विविध प्रकारका भेदभावहरूसँगको उनको संघर्षलाई उजागर गर्दछ। उनको कामले सामाजिक असमानताहरूलाई चुनौती दिन र न्याय तथा समानताको पक्षमा आवाज उठाउन महत्वपूर्ण भूमिका खेलेको छ।
चौधरी र अन्य सम्मानितहरू वाशिङ्टन डिसी र न्यूयोर्क सिटीमा आयोजना हुने अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम आईभीएलपीमा सहभागी हुनेछन्। यस कार्यक्रमले मानव अधिकार प्रवर्द्धन, प्रणालीगत जातिवादविरुद्धको संघर्ष र विश्वभर सिमान्तकृत समुदायहरूले सामना गर्ने चुनौतीहरूको समाधानमा ज्ञान आदानप्रदानको अवसर प्रदान गर्नेछ।
दाङको गढवा–६ मानपुरमा विसं २०४८ मा जन्मिएकी उर्मिलाका बुबा गाउँकै जमिनदारको घरमा कमैया बस्थे र आमा पनि त्यहीँ सँगै काम गर्थिन् । उनको परिवार जमिनदारका घरमा बन्धकी थिए । उनीहरूले काम गरेबापत न ज्याला पाउँथे, न महिनावारी तलब नै । उनका बुबाले साँझबिहानको खाना पाउँथे, आमाले निःशुल्क काम गरिदिन्थिन् । बुबाले पाएको भात घरमा ल्याएर छोराछोरीलाई खुवाउँथिन् । कहीलेकाहीँ खान नपाएर आमाबुबा नुन र मार खाएको त कहीलेकाहीँ भोकै सुतेको उर्मिलाले देखेकी छिन् । आमाबुबाले ल्याएको खानेकुरा खाएर उनीहरूको ९ जनाको परिवार पालिएको थियो ।
पछि उनका बुबाले छोरालाई ज्याला मजदुरी र छोरीलाई कमलरी पठाउने निर्णय गरे । उर्मिला उनकै दिदी बसेको साहुको छोरीको घरमा दाइजोस्वरूप कमलरी बसिन् । त्यतिबेला उनी ६ वर्षकी थिइन् । पढाइदिने र बच्चा हेर्ने भनेर उनलाई काठमाडौं लगिएको थियो । तर काठमाडौं आएपछि उर्मिलालाई आफूभन्दा ठूला केटाकेटीलाई हेर्ने जिम्मा दिइयो । ती केटाकेटीको झोला बोकेर स्कुल पठाउन र लिन जान्थिन् । पढ्न रहर गरेपनि उनलाई पढ्न भने दिइएन । उनी त्यहाँ ७ वर्ष बसिन् ।
विसं २०५७ साउन २ गते सरकारले मुक्त कमैया घोषणा गरेका थियो । त्यही घोषणाले थारुहरुमा कमलरीहरु पनि मुक्त हुनुपर्छ भन्ने अभियान चलाए । आन्दोलन गर्न थाले । विसं २०६३ सालमा उर्मिला पनि मुक्त भइन् । त्यसपछि उनले पढ्ने र कमलरी प्रथा विरुद्ध आवाज उठाउने निर्णय गरिन् । उनले दुवै अभियानलाई सँगसँगै लगिन् । अन्ततः सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो ।