भर्मन्टमा कमला ह्यारिस विजयी, केन्टकीमा ट्रम्पको जीत


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति उम्मेदबार कमला ह्यारिसले भर्मन्टमा जीत हासिल गरेकी छिन् । भर्मन्टमा तीन इलेक्टोरल भोटहरू छन्। २०२० मा राष्ट्रपति जो बाइडेनले यो राज्य जितेका थिए ।

त्यस्तै अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले केन्टकीमा जीत हासिल गरेका छन् । केन्टकीमा आठ इलेक्टोरल भोटहरू छन्। त्यस्तै ट्रम्पले इन्डियानामा पनि जीत हासिल गरेका छन् । इन्डियानामा ११ इलेक्टोरल भोटहरु रहेका छन् ।

यसैबीच मध्य आयोवाको स्टोरी काउन्टीमा भोटिङ मेसिनमा गडबडी भएको अधिकारीहरूले बताएका छन्। करिब १ लाख जनसंख्या रहेको स्टोरी काउन्टीमा केही मतदान केन्द्रका भोटिङ मेसिनमा समस्या देखिएको हो । जसका कारण मतपरिणाम रिपोर्ट गर्नमा ढिलाइ हुन सक्ने संकेत देखिएको छ।

स्टोरी काउन्टीका केही मतदान केन्द्रमा ट्याबुलेटरहरूमा प्राविधिक समस्या भएको जानकारी पाएको आयोवा सेक्रेटरी अफ स्टेट कार्यालयकी प्रवक्ता एश्ली हन्ट एस्किवेलले बताएकी छिन् । समस्या समाधान गर्ने प्रयास भइरहेको तथा यसले कसैलाई पनि मत दिन नरोक्ने तर परिणाम रिपोर्ट गर्नमा केही ढिलाइ हुनसक्ने उनले बताएकी छिन् ।

काउन्टीका करिब ४५ मतदान केन्द्रमध्ये १२ स्थानमा मेसिनहरूले केही प्रकारका मतपत्र पढ्न नसकेको जनाइएको छ । स्थानीय डेमोक्रेटिक र रिपब्लिकन पार्टीका अधिकारीहरूका अनुसार ती स्थानहरूमा चुनाव कर्मचारीहरूले हातैले मतपत्र गणना गर्नुपर्नेछ। मेसिनहरू परीक्षण गरिएको तर प्राविधिक समस्याको कारण थाहा नभएको जनाइएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com