न्युयोर्क सिटीमा बढ्दो रिपब्लिकन प्रभाव, ट्रम्पले ल्याए अघिल्लो चुनावमा भन्दा धेरै मत
प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार
धेरैलाई लाग्नसक्छ, न्युयोर्क सिटीका बासिन्दा अमेरिकामा अत्यन्तै उदार रहेका छन् । तर चुनावी मतपरिणामले त्यस्तो देखाएको छैन । मंगलबारको चुनावले न्युयोर्क सिटीमा बढ्दो रिपब्लिकन प्रभाव देखाएको छ । मंगलबारको चुनावी परिणामले न्युयोर्क सिटीको दक्षिणपन्थी झुकाव स्पष्ट रूपमा देखाएको हो ।
कमला ह्यारिसले न्युयोर्क सिटीमा १७ लाख ४८ हजार १ सय ४० अर्थात् कुल मतको ६७ दशमलव ७० प्रतिशत मत ल्याएकी छिन् । अर्थात् उनले झण्डै ३७ प्रतिशतको अन्तरले चुनाव जितिन् । जबकी २०२० मा जो बाइडेनले झन्डै ५४ प्रतिशतको अन्तरले चुनाव जितेका थिए । २०१६ मा हिलारी क्लिन्टनले न्युयोर्क सिटीमा लगभग ६३ प्रतिशतको अन्तरले ट्रम्पलाई हराएकी थिइन्।
२ प्रतिशत मत गणना हुन बाँकी रहँदा ट्रम्पले न्युयोर्क सिटीमा ७ लाख ८६ हजार २ सय ९४ भोट प्राप्त गरेका छन् । जुन कुल मतको ३० दशमलव ४५ प्रतिशत हो । २०२० मा ट्रम्पले ६९२,००० भोट पाएका थिए। अर्थात् २०२० को तुलनामा यसपटक न्युयोर्क सिटीबाट ट्रम्पले धेरै भोट पाएका छन् । यो दक्षिणपन्थी परिवर्तन विशेषगरी क्विन्स, दक्षिणी ब्रुकलिन र ब्रोंक्सका केही क्षेत्रमा प्रष्ट देखिएको छ ।
ट्रम्पले ब्रुकलिनका चिनियाँ र अर्थोडक्स यहूदी समुदायमा प्रगति गरेका छन् । त्यस्तै क्विन्सका चिनियाँ र दक्षिण एशियाली क्षेत्रमा पनि ट्रम्पले प्रगति गरेका छन् । ब्रोंक्स र क्विन्सका हिस्पानिक समुदायमा पनि ट्रम्पको प्रगति देखिएको छ ।
ज्याक्सन हाइट्स र रिचमन्ड हिल जस्ता क्षेत्रमा डेमोक्र्याटिक झुकाव भए पनि ती क्षेत्रहरु दक्षिणपन्थी तिर सर्दै गएका छन्। ज्याक्सन हाइटमा ह्यारिसले नै जितेपनि २०२० को तुलनामा ट्रम्पले उल्लेख्य प्रगति गरेका छन् । उक्त क्षेत्रमा ट्रम्पले अघिल्लो चुनावको तुलनामा १७ प्रतिशत प्वाइन्टले प्रगति गरेका छन् । रिचमण्ड हिलमा पनि ट्रम्पले अघिल्लो चुनावको तुलनामा १८ प्रतिशत प्वाइन्टले प्रगति गरेका छन् ।
न्युयोर्क सिट िअमेरिकाको बाँकी भागलाई प्रभावित गर्ने राजनीतिक शक्तिहरूबाट अछुतो छैन । यहाँका समुदायहरू पनि विनाशकारी महामारी तथा सामाजिक र आर्थिक विकारको केन्द्रबिन्दुमा रहेका छन्। न्युयोर्क शहरमा २ लाख भन्दा बढी कागजातविहीन आप्रवासीहरूको आगमन र उनीहरूलाई बसाउनको लागि शहरको कानुनी रूपमा आवश्यक प्रयासहरूले पनि केही थप स्थापित आप्रवासी समुदायहरूमा असन्तुष्टि बढाएको छ ।
न्युयोर्क सिटीको चुनावी परिणाम यस्तै आउने प्रारम्भिक संकेतहरू पनि थिए। २०२२ पछि दर्ता भएका मतदाताहरुमध्ये धेरैले राजनीतिक दल छनौट गरेका छैनन् । त्यो प्रवृत्ति एसियाली आप्रवासी क्षेत्रहरूमा उल्लेखनीय रहेको छ ।
उसो त न्युयोर्क सिटीमा दक्षिणपन्थी झुकावको प्रत्यक्ष प्रभाव यस अगाडि पनि देखिएको छ । अघिल्ला चारजना मेयरमध्ये दुईजना रिपब्लिकनबाट निर्वाचित भएका थिए। अहिलेका मेयर पनि पूर्व रिपब्लिकन हुन्, जसका राजनीतिक सोचले उनलाई धेरैले एक रुढीवादी डेमोक्र्याटका रूपमा हेर्छन् ।