ट्रम्पले स्थापना गर्ने नयाँ कार्यकुशलता मन्त्रालयको नेतृत्व एलन मस्क र विवेक रामास्वामीले गर्ने
प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्पले नयाँ सरकारी कार्यकुशलता मन्त्रालय स्थापना गर्ने र त्यसको नेतृत्व एलन मस्क र विवेक रामास्वामीले गर्ने घोषणा गरेका छन् । उनीहरुले आफ्नो प्रशासनलाई सरकारी नौकरशाही विघटन गर्न, अनावश्यक नियमहरू हटाउन, अनुत्पादक खर्च कटौती गर्न र संघीय निकायहरूको पुनःसंरचना गर्न मार्ग प्रशस्त गर्ने ट्रम्पले एक विज्ञप्तिमा बताएका छन् ।
मस्कका कम्पनीहरूसँग वर्तमानमा नाफायुक्त सरकारी ठेक्काहरू भएकाले मस्कबारेको घोषणाले संभावित कन्फ्ल्क्टि अफ इन्ट्रेस्टबारे प्रश्न उठाउँछ। र यो नयाँ मन्त्रालयले सरकार बाहिरबाट सल्लाह र मार्गनिर्देशन दिने ट्रम्प भनाई अनुशार कसरी सञ्चालन हुनेछ भन्ने अझै स्पष्ट छैन।
ट्रम्पले सेप्टेम्बरको सुरुवातमा सार्वजनिक गरेको नयाँ आर्थिक योजनाहरूको श्रृंखलामा सरकारी कार्यकुशलता आयोगको स्थापना प्रस्ताव गरेका थिए। त्यस समयमा मस्कले टम्प ह्वाइट हाउसमा फर्कन सक्ने स्थितिमा यस आयोगको नेतृत्व गर्न सहमति जनाएका थिए।
ट्रम्पको मंगलबारको विज्ञप्तिमा मस्कलाई उद्धृत गर्दै यसले प्रणालीमा ठूलो परिवर्तन ल्याउने र सरकारी खर्चमा संलग्नहरूलाई प्रभावित गर्ने बताइएको छ । रामास्वामीले छुट्टै पोष्टमा आफ्नो राष्ट्रपतीय अभियानको क्रममा संघीय निकायहरू हटाउनका लागि बारम्बार प्रयोग गर्ने नारा लेख्दै प्रतिक्रिया दिएका छन् ।
रामास्वामीले रिपब्लिकन राष्ट्रपति पदको प्राइमरी चुनावमा ट्रम्पलाई चुनौती दिएका थिए र जनवरीमा ट्रम्पलाई समर्थन गर्दै उम्मेदबारी छाडेका थिए । उनले आफ्नो अभियानको प्रमुख नीति प्रस्तावका रूपमा सरकारी खर्च कटौतीलाई राखेका थिए।
गत वर्ष रामास्वामीले आफ्नो अभियानमा एफबीआई, शिक्षा मन्त्रालय र परमाणु नियामक आयोग हटाउने वाचा गरेका थिए, जसले हजारौं संघीय कर्मचारीहरूलाई जागिरबाट हटाउँछ । उनले राष्ट्रपतिको इच्छाअनुसार संघीय निकायहरू हटाउन कानुनी आधारको खाका सार्वजनिक गरेका थिए।
मस्कले ट्रम्पलाई समर्थन गर्दै आफ्नो अभियानमा सरकारी नियमहरूको ठूलो मात्रामा कटौती गर्ने प्रस्ताव गरेका थिए । टेस्ला र स्पेसएक्सका सीईओ मस्कले अनुत्पादक कर्मचारीहरूलाई हटाउन धम्की दिने मूल्याङ्कन प्रणालीको प्रस्ताव गरेका छन् र निष्कासित हुने सरकारी कर्मचारीहरूलाई आकर्षक सेवानिवृत्ति प्याकेज प्रस्ताव गर्ने योजना पनि प्रस्तुत गरेका छन्। यो मन्त्रालयको कार्य ढिलोमा जुलाई ४, २०२६ सम्म समाप्त हुने ट्रम्पले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।