स्वदेश नफर्की ग्रिनकार्ड लिनसक्ने एक्सचेन्ज भिजिटरको देशको संख्या थप, नेपालीको के हुन्छ?
प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार
अब एक्सचेन्ज भिजिटरका रुपमा अमेरिका आउने थप देशका आप्रवासीहरुले स्वदेश नफर्किकनै अमेरिकामा स्टाटस परिवर्तन गर्न, एल वा एच श्रेणीको कामदार भिसामा जान वा ग्रिनकार्ड प्राप्त गर्न सक्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयले डिसेम्बर ९ देखि लागू हुने गरी जे वान भिसा एक्सचेन्ज भिजिटर स्कील्ड सूचीमा अपडेटको घोषणा गरेको छ।
यो अपडेटले जे वान भिसामा अमेरिका आइसकेपछि २ बर्ष स्वदेशमा फर्केर विताउनुपर्ने देशको संख्यालाई उल्लेखनीय रूपमा घटाएको छ । जसले गर्दा अहिले वा विगतमा जेवान भिसामा एक्सचेन्ज भिजिटरका रुपमा अमेरिका आएका आप्रवासीहरुका लागि विस्तारित अवसरहरू सिर्जना भएको छ ।
संशोधित सूचीमा अहिले ४५ देशमात्र समावेश छन् । जसमा नेपाल लगायत बर्मा, इक्वेडर, हैटी, फिजी, ग्वाटेमाला, निकारागुवा लगायतका देशहरु छन् । यो सूचीमा रहेका देशका आप्रवासीहरु अमेरिकामा जेवान भिसामा एक्सचेन्ज भिजिटरका रुपमा आइसकेपछि सामान्यतया स्टाटस परिवर्तन गर्न वा ग्रिनकार्डका लागि आवेदन दिनका लागि पहिले स्वदेश फर्केर २ बर्ष विताउनुपर्छ ।
नेपाल लगायतका देशहरु सूचीमा भएतापनि भिसा वाहकको विशेष ज्ञान वा सीपको क्षेत्र देशको लागि तोकिएको सीप सूचीमा छैन भने त्यस्ता व्यक्तिले भने स्वदेश नफर्किकनै अमेरिकामा स्टाटस परिवर्तन गर्न, एल वा एच श्रेणीको कामदार भिसामा जान वा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् ।
सीप सूची र देशका लागि तोकिएको कोड हेर्न यहाँ क्लीक गर्नुहोला ।
नेपाललाई सूचीको २२ नम्बरमा रहेको कानूनी पेशा र अध्ययनमा छुट दिइएको छ । जसमा कानून, कानूनी अनुसन्धान, न्यायिकता, कानूनको अभ्यासमा सबै शाखा र विशेषताहरू छन् । अर्थात् यो क्षेत्रमा एक्सचेन्ज भिजिटरका रुपमा आउने नेपालीहरुले स्वदेश नफर्किकनै अमेरिकामा स्टाटस परिवर्तन गर्न, एल वा एच श्रेणीको कामदार भिसामा जान वा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै शिविर सल्लाहकारका रुपमा एक्सचेन्ज भिजिटर भिसामा आउने नेपालीहरुलाई पनि छुट छ ।
सन् २००९ को सूचीमा ८२ देश रहेकोमा अहिले ३७ देशहरुलाई सूचीबाट हटाइएको छ । चीन, भारत, मलेसिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युएई जस्ता देश सूचीबाट हटाइएका छन् । जसले गर्दा यी देशबाट जेवान भिसामा आएका आप्रवासीहरुले स्वेदश नफर्किकनै अमेरिकामा रहेर नै स्टाटस परिवर्तन गर्न, एल वा एच श्रेणीको कामदार भिसामा जान वा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । यो नियम डिसेम्बर ९ पछि आउनेमात्र नभई पहिले आएकाहरुका सन्दर्भमा पनि लागु हुनेछ ।
जेवान स्कील्ड सूचीले एक्सचेन्ज भिजिटरका रुपमा जे वान भिसामा आउनेहरुले उनीहरूको विशेष ज्ञान लागु गर्नको लागि कार्यक्रम पछि दुई वर्षसम्म उनीहरूको गृह देशहरूमा फर्कनु पर्छ कि छैन भनेर निर्धारण गर्दछ। यो आवश्यकता आगन्तुकको राष्ट्रियता र विशेषज्ञताको क्षेत्रमा आधारित रहेको छ। नयाँ अपडेट आर्थिक विकास, देशको आकार र आप्रवासन प्रवृत्ति जस्ता कारकहरूका आधारमा गरिएको हो । यद्यपि सूचीमा विशेषज्ञताका क्षेत्रहरू भने २००९ देखि नै परिवर्तन गरिएको छैन ।
युएएमएलई परीक्षापछि अध्ययनका लागि अमेरिका आएका डाक्टरहरु वा सरकारी खर्चमा आएकाहरु भने नयाँ अपडेटबाट प्रभावित हुनेछैनन् । उनीहरुले सामान्यतया स्वेदश फर्केर २ बर्ष उनीहरुको अनुभवको क्षेत्रमा बिताउनुपर्नेछ ।