भिसा करेन्ट नभएपनि मागेको मेडिकल रिपोर्ट तुरुन्त बुझाउन पेन्डिङ ग्रिनकार्ड आवेदकलाई सुझाव
प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार
भिसा करेन्ट नभएतापनि मेडिकल रिपोर्ट मागिएको खण्डमा तुरुन्त बुझाउन ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई युएससीआईएसले सुझाव दिएको छ । युएससीआईएसले मेडिकल रिपोर्ट आई ६९३ का लागि थप कागजातको अनुरोध अर्थात् आरएफई जारी गरेका आवेदन पेन्डिङ रहेका ग्रीन कार्ड आवेदकहरूलाई महत्त्वपूर्ण रिमाइन्डर जारी गरेको हो ।
भिसा श्रेणी पछाडि परेर हाल करेन्ट नभएतापनि मेडिकल रिपोर्ट मागेको खण्डमा तुरुन्त बुझाउन युएससीआईएसले सुझाव दिएको छ । युएससीआर्ईएसमा ग्रिनकार्ड आवेदनको प्रशोधनको दक्षता सुधार गर्न यो अपडेट जारी गरेको तथा यदि सबै आवश्यक प्रमाणहरू रेकर्डमा भएमा भिसा उपलब्ध हुनासाथ ती आवेदनहरु अझ छिटो तानेर निर्णय दिन सकिने युएससीआईएसको भनाई छ ।
भिसा रिट्रोग्रेसन तब हुन्छ जब एक विशेष श्रेणीमा पहिले उपलब्ध भिसा उच्च माग र वार्षिक कोटा प्रणाली अन्तर्गत सीमित उपलब्धताका कारण अस्थायी रूपमा पछि अनुपलब्ध हुन्छ। भिसा रिट्रोग्रेसनले ग्रीन कार्ड आवेदनको अन्तिम निर्णयमा ढिलाइ गर्न सक्ने भएतापनि मेडिकल रिपोर्ट मागिएको खण्डमा तुरुन्त जवाफ दिनु महत्वपूर्ण हुने युएससीआईएसको भनाई छ ।
डिसेम्बर २ मा युएससीआईएसबाट जारी गरिएको युएससीआईएसको घोषणा अनुशार मेडिकल रिपोर्ट बुझाउनुपर्ने ग्रिनकार्ड आवेदन आई ४८५ का आवेदकहरुले अब ग्रिनकार्ड आवेदनकै साथमा मेडिकल रिपोर्ट बुझाउनुपर्नेछ । विगतमा यो रिपोर्ट पछि पठाएपनि हुने प्रावधान थियो । तर अब ग्रिनकार्ड आवेदन आई ४८५ कै साथमा मेडिकल रिपोर्ट पेश नगरे त्यस्ता आवेदन अस्वीकृत हुनसक्ने युएससीआईएसले चेतावनी दिएको छ ।
गत अप्रिल ४, २०२४ मा जारी गरिएको नीति अनुशार नोभेम्बर १, २०२३ वा त्यसपछि सिभिल सर्जनले ठीकसँग पूरा गरेको र हस्ताक्षर गरेको मेडिकल रिपोर्टको समाप्त हुँदैन । यो रिपोर्ट प्रमाणको रूपमा अनिश्चित कालका लागि प्रयोग गर्न सकिन्छ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीसँगको परामर्शमा र सार्वजनिक स्वास्थ्य इलेक्ट्रोनिक सूचनामा भएको प्रगतिको आधारमा युएससीआईएसले मेडिकल रिपोर्टको मान्यता निश्चित समयसम्मका लागिमात्र कायम हुन नहुने तथा यसको म्याद निश्चित समय अवधिमा समाप्त हुन नहुने निष्कर्ष निकालेको हो ।
तर सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेपछि आवेदकको चिकित्सा अवस्था परिवर्तन भएको विश्वास गर्ने कारण युएससीआईएसका अधिकारीसँग भएमा भने उनीहरुले थप प्रमाण वा नयाँ मेडिकल रिपोर्ट अनुरोध गर्नभने सक्नेछन् । त्यस्तै मेडिकल रिपोर्टले आवेदकको चिकित्सा अवस्थालाई सही रूपमा प्रतिबिम्बित नगरेको वा स्वास्थ्य सम्बन्धी आधारमा आवेदकको ग्रिनकार्ड अस्वीकार्य हुनसक्ने देखिएमा युएससीआईएसका अधिकारीले थप प्रमाण वा नयाँ रिपोर्ट माग्न सक्नेछन् ।
त्यस्तै मेडिकल रिपोर्टहरु सन् २०२३ को नोभेम्बर १ भन्दा अगाडि तयार पारिएको वा सिभिल सर्जनबाट हस्ताक्षर गरिएको भएमा भने त्यस्ता रिपोर्टहरु २ बर्षका लागिमात्र मान्य रहनेछन् । अर्थात् सन् २०२३ को नोभेम्बर १ अगाडिका रिपोर्टमा विगतकै नीति लागु हुनेछ । किनभने नोभेम्बर १ भन्दा अगाडि सिभिल सर्जनहरुले मेडिकल रिपोर्ट तयार गर्दा सीडीसीलाई इलेक्ट्रोनिक रूपमा जानकारी शेय गर्न वा रिपोर्ट गर्न आवश्यक पर्दैनथ्यो ।
युएससीआईएसले सीडीसीसँग परामर्श गरेर २०२३ को नोभेम्बर १ अघि सिभिल सर्जनले हस्ताक्षर गरेको सही तरिकाले भरिएको मेडिकल रिपोर्टले सिभिल सर्जनको हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्ममात्र मान्यता पाउने निर्णय गरेको हो ।
यस अगाडि पनि युएससीआईएसले स्थिति समायोजनको लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नेहरुलाई छिटो निर्णयका लागि उक्त आवेदनका साथमा मेडिकल तथा खोप रिपोर्ट समेत पेश गर्न सुझाव दिदै आएको थियो । तर अनिवार्य व्यवस्था भने थिएन ।