जनवरी १९ मा एप स्टोरबाट टिकटक हटाउन एप्पल र गुगललाई अमेरिकी सांसदको सूचना
प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार
एप्पल र गुगललाई अमेरिकी सांसदले जनवरी १९ मा एप स्टोरबाट टिकटक हटाउन भनेका छन् । अमेरिकी प्रतिनिधि सभामा शीर्ष डेमोक्र्याटहरुले गुगलको कम्पनी अल्फाबेट र एप्पलका सीईओहरूलाई जनवरी १५ मा उनीहरुको अमेरिकी एप स्टोरबाट टिकटकलाई हटाउन तयार हुन भनेका छन् ।
संसदले अमेरिकाको राष्ट्रिय सुरक्षाको रक्षा गर्न र चिनियाँ कम्युनिष्ट पार्टीबाट टिकटकका अमेरिकी प्रयोगकर्ताहरूलाई जोगाउन निर्णायक रूपमा काम गरेको तथा टिकटकलाई तुरुन्तै योग्य कदम कार्यान्वयन गर्न आग्रह गर्ने सांसदहरूले लेखेको पत्रमा उल्लेख छ ।
गतसािता अमेरिकामा संघीय न्यायाधीशहरूको प्यानलले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनलाई समर्थन गरेको थियो । प्रतिबन्ध उल्टाउनका लागि टिकटकले अदालतमा पेश गरेको निवेदन डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किटको पुनरावेदन अदालतमा तीन न्यायाधीशहरूले अस्वीकार गरेका हुन् ।
सोमबार बाइटडान्स र टिकटकले प्रतिबन्ध लगाउने कानुन अस्थायी रुपमा कार्यान्वयन रोक्न अमेरिकी सर्वोच्च अदालत गुहारेका छन् । कानूनले जनवरी १९ देखि चिनियाँ स्वामित्वको भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउनेछ । डिपार्टमेन्ट अफ जस्टिसले प्रतिबन्ध जनवरी १९ मा लागू हुने तथा टिकटक डाउनलोड गरिसकेका एप्पल वा गुगल प्रयोगकर्ताहरूलाई प्रत्यक्ष रूपमा निषेध नगर्ने बताएको छ । तर स्टोरबाट एप्लीकेशनलाई हटाएपछि पछि एप्लीकेशनले काम नगर्ने अवस्था आउनेछ ।
१७० मिलियन भन्दा बढी अमेरिकीहरूले टिकटकलाई मनोरञ्जन र सूचनाका लागि प्रयोग गर्दै आएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार एपको लागि आफ्नो समर्थनको संकेत गरेका छन्, तर नयाँ कानून अन्तर्गत यसलाई बचाउनको लागि उनीसँग स्पष्ट मार्ग भने छैन।
अप्रिलमा हस्ताक्षर गरिएको कानून अनुशार टिकटकको चिनियाँ मालिक बाइटडान्सले जनवरी १९ सम्ममा गैर चिनियाँ कम्पनीलाई एप नबेचेमा त्यसपछि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्नेछ। तर टिकटकले भने प्रतिबन्धले अमेरिकी प्रयोगकर्ताहरूको पहिलो संशोधन अधिकारहरू उल्लङ्घन गर्ने दावी गर्दै आएको छ ।
अमेरिका र चीनबीचको जटिल कुटनीतिक सम्बन्धको मार अहिले अमेरिकामा टिकटकमाथि परेको हो । दुईदेशबीचको व्यापारयुद्ध, कोरोना महामारी, प्रविधिमा प्रतिस्पर्धा, साउथ चाइना शीमा बढ्दो तनाव, ताइरुनवानसँगको सम्बन्ध, रुस र युक्रेनबीचको युद्ध लगायतले दुई देशबीचको द्वन्द्वलाई अझ बढाएको हो । दुईदेशबीच राजनीतिक शक्तिका लागि व्यापक प्रतिपस्र्धामा रहेको तथा आर्थिक र सुरक्षाका मुद्दाहरु अग्रपंक्तिमा रहेको अवस्थामा यसैको भूमरीमा टिकटक परेको हो ।
दुईदेशबीचको कडा आशंकाका कारण नै टिकटकका सन्दर्भमा अमेरिकाले गोपनियता र सुरक्षा चिन्ता व्यक्त गर्नुका साथै चीनको सरकारबाट टिकटक अमेरिकाविरुद्ध दुरुपयोग हुनसक्ने त्रास उत्पन्न भएको हो । अमेरिका र चीनबीचको टेक्नोलोजी युद्ध द्विपक्षीय व्यापार युद्धबाट विकसित भएको हो । अमेरिकाबाटमात्र टिकटकको आम्दानी गतबर्ष १६ बिलियन डलर रहेको थियो भने टिकटक सन् २०२३ मा अमेरिकामा सबैभन्दा बढी ४७ मिलियन अमेरिकी प्रयोगकर्ताबाट डाउनलोड गरिएको सामाजिक सञ्जाल एप्लीकेशन थियो ।
एकबर्ष अगाडि प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको सर्वेक्षण अनुशार ५० प्रतिशत अमेरिकन बयस्कहरु टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा देखिएका थिए भने जम्मा २२ प्रतिशतले टिकटमा प्रतिबन्धको विरोध गरेका थिए । प्रतिबन्ध लगाउन नहुने कडा धारणा राख्नेहरु १८ देखि २९ बर्षसम्मका ४६ प्रतिशत थिए । प्रतिबन्ध लगाउनुपर्ने पक्षमा रुढिवादीका रुपमा चिनिने ७० प्रतिशत थिए ।
तर टिकटकप्रतिको यो भावनामा गत डिसेम्बरसम्म आइपुग्दा परिवर्तन भइसकेको छ । अर्थात् डिसेम्बरमा प्यु रिसर्च सेन्टरले नै सार्वजनिक गरेको सर्वेक्षणमा टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा रहेकाहरुमा १२ प्रतिशत गिरावट आएर ३८ प्रतिशतमा झरेको छ । ३५ प्रतिशतले प्रतिबन्ध लगाउन हुने नहुनेबारे आफू अनिश्चित रहेको बताएका थिए भने २७ प्रतिशतले प्रतिबन्धको विरोध गरेका थिए । यद्यपी फेब्रअरीको रिसर्चमा अमेरिकी प्रयोगकर्ताहरुमध्ये आधाले कहिलेपनि भिडियो बनाएर पोष्ट नगरेको देखाएको छ ।
सामान्य मनोरञ्जनका लागिमात्र नभई अमेरिकामा ठूलो संख्यामा भिडियो निर्माताहरुले टिकटकलाई आय आर्जनको उपाय उपयोग गरिरहेको तथा कैयन साना व्यवसायहरुले टिकटकलाई आफ्नो व्यवसाय बढाउने टुलका रुपमा उपयोग गरिरहेकाले पनि टिकटकमा प्रतिबन्ध लागेमा उनीहरु निराश हुनेछन् । त्यसैले सकभर टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउनुको साटो चिनिया कम्पनीको स्वामित्वबाट हटाउन सकेमा सुरक्षा चिन्ताबाट पनि मुक्त भइने भएकाले यो डेमोक्र्याट्सहरुले यो उपाय अपनाएका हुन् ।
अमेरिकाका टिकटक प्रयोगका सन्दर्भमा राष्ट्रिय सुरक्षा र गोपनियता चिन्ता शीर्ष स्थानमा रहदै आएको छ । जसका कारण अमेरिकामा संघीय स्तरमा सरकारी उपकरण र नेटवर्कहरुमा टिकटकमा सन् २०२२ को डिसेम्बरदेखि नै प्रतिबन्ध लगाइएको छ । अमेरिकामा कुनै न कुनै रुपमा सरकारी उपकरणहरुमा टिकटकमा प्रतिबन्ध लगाउने राज्यहरुको संख्या पनि ३९ नाघेको छ । विश्वमा झण्डै २ दर्जन देशले टिकटकमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाएपनि ती देशहरुले देखाएका कारणहरु सबै उस्तै छैनन् ।
अमेरिकामा एफबीआईले टिकटकको अमेरिकामा संचालनका सन्दर्भमा राष्ट्रिय सुरक्षा चिन्ताहरु व्यक्त गरेपछि यो विषय पेचिलो बनेको हो । चिनिया सरकारले अमेरिकाका करोडौं प्रयोगकर्ताका संकलित तथ्यांकहरुमा नियन्त्रण कायम गर्नसक्ने, प्रयोगकर्तालाई प्रभावित पार्नसक्नेगरी सिफारिस अल्गोरिदममा हेरफेर गर्नसक्ने र व्यक्तिगत उपकरणहरुबाट डाटाहरु प्राप्त गर्नसक्नेगरी सफ्टवेयरमा नियन्त्रण कायम गर्नसक्ने एफबीआईको प्रमुख चिन्ता हो । चीनको राष्ट्रिय सुरक्षा कानूनहरुले चीन र चीनबाहिर चलिरहेका चिनिया कम्पनीलाई चीनको सरकारसँग डाटा शेयर गर्नका लागि बाध्य पार्नसक्छन् ।
चिनियाँ सरकारले बाइटडान्सको चीनमा आधारित कम्पनीमा स्वामित्व हिस्सेदारी लिएको छ, जसलाई गोल्डेन सेयर भनिन्छ । त्यस्तै २० प्रतिशत लगानी चिनिया संस्थापकहरुको रहेको छ । यो अवस्थामा चिनिया सरकारले अमेरिकी प्रयोगकर्ताहरुका संवेदनशील बौद्धिक सम्पत्ति, व्यवसायिक गोप्य जानकारीहरु र व्यक्तिगत डाटाहरु संकलन गरेर अमेरिकनहरुविरुद्ध हतियारका रुपमा प्रयोग गर्नसक्ने गोपनियता चिन्ता टड्कारो छ ।
टिकटकले अमेरिकी प्रयोगकर्ताहरुका डाटा अमेरिकामा नै स्टोर गर्ने गरेको र चिनिया सरकारको कानुनको अधिनमा नरहेको दावी गर्दै आएतापनि अमेरिकाबाहिरका कर्मचारीहरुले अमेरिकी प्रयोगकर्ताका डाटामा पहुच कायम गरेका उदाहरणहरु छन् । अमेरिकी सिनेटरहरुलाई टिकटकका सीईओले पठाएको आठ पृष्ठ लामो पत्रमा पनि चिनमा रहेका कर्मचारीहरुसहित अमेरिका बाहिरका कर्मचारीहरुले पनि अमेरिकी प्रयोगकर्ताहरुका डाटाहरुमा पहुच कायम गर्नसक्ने स्वीकार गरेका थिए । साथै डाटामा चिनमा रहेका कर्मचारीहरुको पहुच रोक्न काम गरिरहेको बताएका थिए ।
लगत्तै जुलाई २१, २०२२ मा संसदका कर्मचारीहरुलाई लेखेको इमेलमा टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटामा अमेरिकाबाहिर वा चीनमा रहेका कर्मचारीहरुको पहुच कम गर्न नयाँ विभाग खोलिएको बताएको थियो । साथै अमेरिकी प्रयोगकर्ताका डाटाहरु चीन लगायतका क्षेत्रमा ट्रान्सफर गर्न कम गर्ने बताएको थियो । उक्त इमेलमा डाटामा पहुच र ट्रान्सफर कम गर्ने भनिएको थियो, रोक्ने भनिएको थिएन । जसको अर्थ यस अगाडि पहुच प्रदान गर्ने र ट्रान्सफर गर्नेकाम गरिएको टिकटक आफैले पुष्टी गरेको थियो ।
टिकटकको कम्पनी बाइटडान्स र चिनिया सरकारबीचको सम्बन्धलाई देखाउने सबैभन्दा नराम्रो रिपोर्ट गतबर्षको मार्चमा अष्ट्रेलियन संसदको सिनेट चयन समितिमा पेश गरिएको थियो । टिकटक, बाइटडान्स र चिनिया पार्टीहरुसँग तिनीहरुको सम्बन्ध शीर्षकको रिपोर्टमा बाइटडान्स र टिकटकको सुरुवातदेखि दुबैमाथि चिनिया सरकारको नियन्त्रणबारे विभिन्न प्रमाणहरु दिइएको थियो । चिनका सबै प्रविधि कम्पनीहरुलाई नियन्त्रणमा राखेको चिनिया सरकारको सबै प्रभाव, मार्गदर्शन र नियन्त्रणको अधिनमा बाइटडान्स कम्पनी रहेको रिपोर्टमा उल्लेख गरिएको थियो ।
टिकटक चिनिया कम्पनी बाइटडान्सको स्वामित्वमा रहेका कारण चीन सरकारलाई यसको दुरुपयोग गर्न सबैभन्दा सहज हुनसक्छ । म्यान्डियट थ्रेट इन्टेलिजेन्सले सार्वजनिक गरेको एउटा रिपोर्टमा चिनिया सरकारले टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सयौं एकाउन्टहरु अमेरिकामा प्रदर्शनकारीहरुलाई भौतिक रुपमा नै परिचालन गर्ने प्रयत्न गरेको थियो । टिकटक र अन्य सञ्जालहरुमा चिनविरोधी र अमेरिकी अधिकारीहरुलाई बदनाम गर्ने भिडियोहरु श्रृजना गरेर अमेरिकी प्रयोगकर्ताहरुका फिडहरुमा वितरण गरिएको थियो । धेरै भिडियोहरुले लक्षित व्यक्तिहरुको सम्पर्क जानकारी र घरका ठेगानाहरु समेत प्रदान गरेको रिपोर्टमा उल्लेख थियो ।
त्यस्तै चिनको सरकारबाट स्पोन्सर गरिएको एउटा अभियानका क्रममा एसियन अमेरिकनलाई लक्षित गरेर हजारौं पोष्टहरुमार्फत न्युयोर्क सिटीमा प्रदर्शनका लागि उक्साइएको थियो । ती पोष्टहरुमा श्वेतहरुलाई मुक्का प्रहार गरेका तस्वीहरुसहित एसियनहरुलाई लड््नका लागि उक्साइएको थियो । म्यान्डियटको रिपोर्ट अनुशार सन् २०२१ अप्रिल २४ को उक्त प्रदर्शन सफल भएको थियो भने उक्त प्रदर्शनमा एसियन अमेरिकनलाई अन्य अल्पसंख्यक समुदायले पनि साथ दिएका थिए ।
सन् २०२२ मा बेइजिङमा शीतकालिन ओलम्पिकको अमेरिकाले कुटनीतिक बहिष्कार गरेपछि चिनिया सरकारले टिकटक र अन्य सामाजिक सञ्जालमा प्रभावशाली ९इन्फ्लुयन्सर०हरुलाई चिनको छवी राम्रो बनाउनेगरी गोप्यरुपमा काम लगाउनका लागि अमेरिकाका पब्लिक रिलेशन फर्महरुसँग सम्झौता गरेको अमेरिकाको सरकारी निकाय साइबरसेक्युरिटी एण्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सीको बुलेटिनमा उल्लेख गरिएको थियो ।
टिकटक सन् २०१६ मा सुरुवात भएतापनि चिनिया सरकारले सामाजिक सञ्जालहरुमार्फत हौवा फिजाउन सुरु गरिसकेको हार्वड विश्वविद्यालय, स्ट्याफोर्ड विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले संयुक्त अध्ययनमा लेखेका थिए । चिनिया सरकारले गलत सुचना फैलाउनका लागि २० लाखसम्म मान्छेलाई काममा लगाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । फिफ्टी सेन्टस पार्टी भनिने यो समुहले चिनिया सरकारबाट उत्पादन गरिएका पोष्टहरु बार्षिकरुपमा ४४८ मिलियन पोष्टमार्फत सामाजिक सञ्जालबाट फैलाएको थियो ।
टिकटकले आफूले चाहेको भिडियो भाइरल बनाउने गरेको खुलासा भएको थियो । फोब्र्सले ६ वटा श्रोत र कैयन कागजात रिभ्यु गरेको दावी गर्दै टिकटकले राजनीतिक र सांस्कृतिक लगायतका प्रभावका लागि आफूले चाहेको भिडियो भाइरल गराउने खुलासा गरेको थियो । सामान्यतया सामाजिक सञ्जालहरुले अटोमेटिक अल्गोरिदमका आधारमा भिडियो प्रयोगकर्तामाझ लैजाने गरेपनि टिकटकका सन्दर्भमा भने कतिपय भिडियोहरु कर्मचारीले म्यानुअल्ली नै पुस गरेर भाइरल बनाउने गरेको खुलासा भएको थियो ।
हिटिङ सुविधाले निश्चित संख्यामा भिडियो भ्यूहरू प्राप्त गर्न अपरेशन हस्तक्षेप मार्फत प्रयोगकर्ताको फिडमा भिडियोहरूलाई बुस्ट गर्ने मिन्ट हिटिङ प्लेब्याक शीर्षकको टिकटकको आन्तरिक कागजातमा उल्लेख गरिएको थियो । यो खुलासापछि अमेरिका लगायतका देशमा टिकटकले अमेरिका विरोधी भिडियोहरु म्यानुअल्ली भाइरल गराउनसक्ने र प्रयोगकर्तालाई प्रभावित पारेर राजनीतिक अस्थीरता फैलाउनसक्नेबारे चिन्ता राजनीतिज्ञहरुले व्यक्त गर्दै आएका छन् ।
चिनियाँ सरकारले प्लेटफर्मको चिनियाँ मालिक बाइटडान्सलाई टिकटकमा केही पोष्टहरु बुस्ट गर्न वा दबाउन दबाब दिन सक्ने चिन्ता व्यक्त गरिदै आएको छ । किनभने टिकटकले चीनको आलोचना गरिएका सामग्री सेन्सर गरेको स्वीकार गरिसकेको छ भने अहिले बन्द भएको अर्को बाइटडान्स एपले अमेरिकी प्रयोगकर्ताहरुको फिडको शीर्षमा चिन समर्थक सन्देशहरू पिन गरेको थियो । अहिले टिकटकले अमेरिकामा बुस्ट गरेका भिडियोहरु थर्ड पार्टी मनिटरबाट निरिक्षण गर्ने व्यवस्था गरेको दावी गरेको गरेको छ ।
टिकटकका अल्गोरिदमहरु अमेरिकामा जनमतलाई प्रभाव पार्न सक्षम छन् । हालै टिकटकले अपनाएको एउटा उपाय टिकटककै लागि घातक भएको छ । टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिल अमेरिकाको प्रतिनिधिसभामा पेश हुँदा पनि टिकटकले आफ्ना प्रयोगकर्तालाई प्रभाव पारेर उक्त बिलविरुद्ध कदम चाल्न हौस्याएको थियो । करोडौ अमेरिकी प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाएर टिकटकले प्रयोगकर्ताका सम्बन्धित क्षेत्रका सांसदहरुलाई फोन गर्न र सम्बन्धित प्रतिबन्धको विरोध गर्न निर्देशन दिदै अमेरिकी बिल रोक्न प्रयास गरेको थियो । कैयन अमेरिकनहरुले आफ्नो क्षेत्रका सांसदहरुलाई फोनगर्दा फोनलाइनहरु थेग्न नसक्ने अवस्थामा पुगेका थिए । कतिपयले सांसदहरुलाई फोन गरेर ज्यानमार्ने सम्मको धम्की दिएका थिए ।
बाइटडान्सको स्वामित्वबाट टिकटक अलग भएपनि अल्गोरिदमकाबारेमा फरक चिन्ता छ । किनभने टिकटक आफै ती अल्गोरिदमहरुको मालिक होइन । बाइटडान्सका लागि काम गर्ने इन्जिनियरहरुले ती अल्गोरिदमहरु विकाश गरेका हुन् । बेइजिङ, सिंगापुर र अमेरिकाको क्यालिफोर्नियामा रहेका सफ्टवेयर ल्याबहरुमा अल्गोरिदमका कोडहरु उच्च गोप्यतामा जोडिन्छ । बाइटडान्सले अमेरिकन कम्पनीलाई टिकटक बेचेको खण्डमा बाइटडान्सका कुनैपनि अल्गोरिदमको चिनबाहिरको कम्पनीलाई इजाजत दिनु अगाडि सरकारी स्वीकृति र समिक्षा आवश्यक पर्ने चिन सरकारको नियम रहेको छ ।
त्यसैले त्यस्ता अल्गोरिदम बाइटडान्सले अमेरिकन कम्पनीलाई दिने सम्भावना निकै कम हुनेछ । प्रयोगकर्ताहरुलाई उनीहरुले चाहेको भिडियो हेर्नगरी टिकटकमा बाँधेर राख्नसक्ने ती अल्गोरिदम विना अमेरिकन कम्पनीले टिकटक किनेपनि त्यसको खासै अर्थ हुनेछैन । किनभने फेसबुक र इन्स्टाग्रामका त्यस्ता भिडियो अल्गोरिदमहरुले टिकटकसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । जसले गर्दा चिनिया अल्गोरिदमविना अमेरिकी कम्पनीलाई टिकटक बेच्नु टायर नभएको साइकल बेच्नुजस्तै हो ।