अमेरिकामा शरणार्थी/एसाइलीका परिवारका आवेदनबारे नीति पुस्तिका अपडेट
प्रकाशित मिति : पुस ८, २०८१ सोमबार
युएससीआईएसले अमेरिकामा शरण लिनेका परिवारका लागि फाइल गरिने आवेदनबारे नीति पुस्तिका अपडेट गरेको छ । फाइलिङ आवश्यकताहरू, योग्यताका मापदण्डहरु, कागजात र प्रमाणहरु, प्रशोधन अपडेटहरु, आवेदनबारे निर्णय लगायतका विषयमा स्पष्ट पार्दै नीति पुस्तिका अपडेट गरिएको हो ।
यस अगाडि यी विषयहरु नीति पुस्तिकामासमावेश थिएनन् । केबल निर्णायकको फिल्ड म्यानुअल र पोलिसी मेमोमा मात्र राखिएको थियो । जसले गर्दा आवेदकहरुमा कैयन विषयमा अन्यौल श्रृजना हुने गरेको थियो । तर अब यसलाई नीति पुस्तिकामा नै संहितावद्ध गरिएकाले आवेदक र आवेदनबारे निर्णय गर्ने अधिकारी दुबैलाई सहज भएको छ ।
यो अपडेट केबल निर्णायकको फिल्ड म्यानुअल र पोलिसी मेमोमा भएका कुराहरु नीति पुस्तिकामा सार्ने युएससीआईएसको पहलको एकभागमात्र रहेको युएससीआईएसले प्रष्ट पारेको छ । यो अपडेटले पुरानो नीतिमा अपडेट वा परिवर्तन नगरेपनि फिल्ड म्यानुअलमा रहेका अप्रचलित जानकारीहरु हटाउँदै विद्यमान निर्देशनहरुलाई नीति पुस्तिकामा संहितावद्ध गर्दै अध्यागमन नीतिलाई सुव्यवस्थित गर्ने युएससीआईएसको भनाई छ ।
नीति पुस्तिकामा त्यसका लागि भोल्युम ४ को रिफ्युजी र एसाइली शीर्षक अन्तरगत छुट्टै भाग सी थप गरिएको छ । जसमा ५ वटा च्याप्टरहरु समावेश गरिएका छन् । यो निर्देशिका तत्कालदेखि लागु हुने र डिसेम्बर २० वा त्यसपछि फाइल गरिएका वा उक्त मितिमा विचाराधिन अवस्थामा रहेका सबै आवेदनका हकमा लागु हुने युएससीआईएसले प्रष्ट पारेको छ ।
यो नीति निर्देशनले फिल्ड म्यानुअलको भाग २१, १० मा एसाइली र रिफ्युजीका परिवारका सन्दर्भमा रहेका सन्दर्भहरु, सम्बन्धित परिशिष्टहरू र सम्बन्धित पोलिसी मेमोहरुलाई अध्यावधिक र अतिक्रमण गर्ने भएकाले अब एसाइली र रिफ्युजीका परिवारका सन्दर्भमा निर्णय गर्दा नीति पुस्तिकामा संहितावद्ध गरिएका नीति नियमहरु नै लागु हुनेछन् ।
शरणर्थी वा एसाइलीले प्रत्येक योग्य परिवार सदस्यको लागि छुट्टै फारम आई ७३० फाइल गर्न आवश्यक हुन्छ । थप रुपमा निवेदकको शरणार्थीका रुपमा अमेरिका प्रवेश गरेको वा शरण स्वीकृत भएको दुई वर्ष भित्र आवेदन पेस गर्नुपर्नेछ। यद्यपि युएससीआईएसले मानवीय कारणहरूका लागि फाइलिङको २ बर्षको म्यादमा छुट दिन सक्छ । तर सामान्तया २ बर्षभित्र फाइल नगरेमा आवेदनको ग्रिनकार्ड भइसकेपछिमात्र आई १३० आवेदन पेश गर्न सकिनेछ ।
त्यस्तै निवेदक र परिवारका सदस्य बीचको सम्बन्ध निश्चित बिन्दुहरूमा अवस्थित हुनु आवश्यक हुन्छ । आवेदकको एसाइलम स्वीकृत भएको वा शरणार्थीको रूपमा भर्ना भएको बेलामा, फारम आई ७३० फाइल गर्ने बेलामा, आई ७३० को निर्णय हुने बेलामा र परिवारका सदस्यहरु अमेरिका प्रवेश गर्ने बेलामा आवेदकसँग सम्बन्ध कायम रहेको हुनुपर्छ । आमा वा बाबु शरणार्थीको रूपमा अमेरिका प्रवेश गरेको वा एसाइलम स्वीकृत भएको समयमा गर्भवती भएका र पछि जन्मिएका बच्चाहरूलाई अब स्पष्ट रूपमा योग्य व्यक्तिको रूपमा मान्यता दिइएको छ ।
सबै आई ७३० पिटिशनहरू अब युएससीआईएसको इन्टरनेशनल अपरेशन्स डिभिजनमा प्रशोधन गरिनेछ। त्यस्तै प्रमाण आवश्यकताहरु पनि स्पष्ट गरिएको छ। दम्पत्तिको निवेदनको लागि निवेदकहरूले आफ्नो विवाह प्रमाणपत्रको प्रतिलिपि, पलिे विवाह गरेको भएमा कुनै पनि अघिल्लो विवाहको समाप्तिको प्रमाण र नाम परिवर्तन गरेको भएमा नाम परिवर्तनको कागजातहरू प्रदान गर्नुपर्छ।
युएससीआईएसले निश्चित अनौपचारिक विवाहहरूलाई मान्यता दिने तथा विवाह प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा अनौपचारिक दम्पत्तिको सम्बन्धसँग सम्बन्धित प्रमाणहरू विचार गर्न अनुमति समेन दिने जनाएको छ । युएससीआइएएसले आवेदकहरूलाई प्रक्रियाभरि आवश्यक सहयोगमा पहुँच गर्न आई ७३० लागि उपलब्ध ग्राहक सेवा विकल्पहरू विस्तार गरेको छ ।