न्युयोर्क सिटीको ट्रेनमा महिलाको जलाएर हत्या, संदीग्ध अमेरिकाबाट देशनिकाला भएको व्यक्ति


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

न्युयोर्क सिटीको ट्रेनमा महिलालाई जलाएर हत्या गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय ग्वाटेमालाको व्यक्तिलाई पक्राउ गरेको छ । एफ ट्रेन डिब्बामा भएको घटनापछि सेबास्टियन जापेटा कालिल नामको व्यक्तिलाई आइतवार प्रहरीले हिरासतमा लिएको थियो।

संदिग्धलाई पहिलो र दोस्रो डिग्री हत्याका साथै आगजनीको आरोप लगाइएको प्रहरीले सोमबार घोषणा गरेको छ । उक्त व्यक्ति सन् २०१८ को जुन १ मा एरिजोनाको सिमानामा समातिएपछि अमेरिकाबाट देशनिकाला गरिएको थियो । तर त्यसपछि अवैध रूपमा अमेरिकामा पुनः प्रवेश गरेको आइसले जनाएको छ ।

सोमबार दिउँसोसम्म पीडितको पहिचान सार्वजनिक गरिएको छैन । घटना आइतबार बिहान साढे ७ बजे भएको थियो । त्यसपछि ट्रेन स्टिलवेल एभिन्यू स्टेशनमा रोकिएको थियो ।

ट्रेन चलिरहेको बेलामा संदिग्ध व्यक्ति ट्रेनमा चढेकी महिलाको नजिक गएको र उनको लुगामा आगो लगाउन लाइटर प्रयोग गरेको प्रहरीले बताएको छ । त्यो बेला महिला गतिहीन थिइन् । महिला सुतिरहेको हुनसक्ने बताइएको छ ।

स्टेशनका अधिकारीहरूले धुवाँको गन्ध पाएपछि खोजी गर्दा पीडितलाई सबवे कार भित्र आगोमा जलेको अवस्थामा फेला पारेका थिए । पीडितलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

पुलिस कमिश्नर जेसिका टिशले घटनालाई एक व्यक्तिले अर्को मानव विरुद्ध गरेको सबैभन्दा घिनलाग्दो अपराधहरू मध्ये एक भनेर वर्णन गरेकी छिन् । महिलामाथि आगो लगाएपछि पनि संदिग्धले घटनास्थलमा नजिकैको बेन्चमा बसेर महिला जलेको दृश्य हेरेको थियो ।

भिडियो भाइरल भएपछि तीन किशोरहरूले संदिग्धको पहिचान गर्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले संदिग्धलाई पक्राउ गरेको थियो । उसको खल्तीमा लाइटर समेत रहेको थियो । हत्याको घटना ट्रेनको क्यामेरामा कैद भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com