२०२४ मा ७८१ नेपालीले पाए अमेरिकाको कामदार भिसा एच-१बी, बाइडेनकालमा ५२% वृद्धि
प्रकाशित मिति : पुस १३, २०८१ शनिबार
ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको समयमा अमेरिकाको कामदार भिसा एच वानबी पाउने नेपालीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएकोमा अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको भिसा पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।
आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिपा पाएका छन् भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका छन् । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका छन् । आर्थिक बर्ष २०२४ मा पहिलो महिना अक्टोबरमा ९०, नोभेम्बरमा १५०, डिसेम्बरमा ९९, जनवरीमा ५३, फरबरीमा ४४, मार्चमा ५६, अप्रिलमा ६६, मेमा ४३, जुनमा ५३, जुलाईमा ४८, अगस्तमा ३३ र सेप्टेम्बरमा ४६ जना नेपालीहरुले एचवानबी भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ । बाइडेन कार्यकालमा झण्डै ३५ सय नेपालीहरुले एच श्रेणीको भिसा पाएका छन् ।
२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए । यसरी ट्रम्पको पहिलो कार्यकालमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए ।
अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ । यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।
हाल हरेक वर्ष ८५ हजारले एचवान बी भिसा प्राप्त गर्नसक्ने अमेरिकी कोटा रहेको छ । ६५ हजार नियमित र २० हजार अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले एच वान बी भिसा प्राप्त गर्न सक्छन् ।