म टीपीएसमा छु, के मैले स्टारसहितको रियल आईडी पाउन सक्छु ?

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान सन् २०२५ को मे ७ बाट पूर्ण रूपमा लागू गर्ने भएको छ। अमेरिकी यात्रुहरूका लागि आन्तरिक उडानहरू गर्न तथा संघीय भवनहरूमा प्रवेश गर्न ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि अब चार महिनाभन्दा कम छ।
टीएसएले अन्तिम नियम प्रकाशित गर्दै रियल आईडीको प्रावधान मे ७ बाटै लागू हुने र अब अवधि थप नगरिने स्पष्ट पारेको छ। २०२५ को मे ७ पछि अमेरिकामा विमान चढ्न वा संघीय भवनहरूमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ।
टीपीएसमा भएकाहरूले रियल आईडी प्राप्त गर्न सक्छन्?
सक्नुहुन्छ। टीपीएस वाहकले रियल आईडी प्राप्त गर्न सक्छन्, तर तपाईंको लाइसेन्स वा आईडी कार्डको वैधता अवधि सामान्यतः टीपीएसको अवधिको लम्बाइमा निर्भर गर्दछ।
अहिले नेपालीहरूको टीपीएस अवधि जुन २४, २०२५ सम्म लम्बाइएकाले तपाईंले उक्त अवधिसम्मका लागि रियल आईडी वा लाइसेन्स प्राप्त गर्न सक्नुहुनेछ। टीपीएस स्वीकृत भएको वा पेन्डिङ अवस्थामा भए पनि तपाईंले रियल आईडी प्राप्त गर्न सक्नुहुनेछ।
आईडी आवेदकको अमेरिका बसोबासको कानूनी समयावधिसम्मका लागि मान्य हुनेछ। यदि कानूनी बसोबासको अवधिको निश्चित अन्त्य छैन भने आईडीको अवधि एक वर्षको लागि हुनेछ। आईडीका लागि आवेदन दिँदा क्याटेगोरी कोड ए१२ वा सी१९ उल्लेख गरिएको वर्क परमिट लिएर जानुपर्नेछ।
यदि तपाईंको वर्क परमिटको म्याद पहिले नै उल्लेख भएको छ भने पनि यो जुन २४, २०२५ सम्म स्वतः लम्बिने भएकाले नयाँ म्यादको वर्क परमिट लैजान आवश्यक पर्दैन। बरु, फेडरल रजिष्टरमा नेपालका टीपीएसको अवधि लम्बिएको सूचना प्रिन्ट गरेर लैजान सक्नुहुन्छ। अधिकारीहरूले सेभ प्रणाली मार्फत तपाईंको अध्यागमन अवस्था पनि हेर्न सक्छन्।
रियल आईडी ऐनको पृष्ठभूमि
रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियास्वरूप पारित गरिएको थियो। सन् २००५ को मे ११ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू. बुस ले हस्ताक्षर गरेपछि यो ऐन लागू गर्ने योजना बनेको थियो। सुरुमा २००८ देखि पूर्ण रूपमा लागू गर्ने योजना भए पनि विभिन्न कारणले मिति पटक–पटक सारिएको थियो। पछिल्लो पटक कोरोना महामारी का कारण डेडलाइन विस्तार गरिएको थियो।
राज्यका परिचयपत्रहरूलाई संघीय सरकारले स्वीकार गर्न राज्यहरूले जारी गर्ने ड्राइभर लाइसेन्स र स्टेट आईडीहरू समान मापदण्डहरू अनुरूप बनाउन आवश्यक हुन्छ। यी उपायहरू पहिचान जालसाजी र आतंकवाद रोकथाम गर्ने उद्देश्यले लागू गरिएको हो।
केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, त्यसैले यदि तपाईंले हालसालै इजाजतपत्र लिएको वा नवीकरण गराएको भए, तपाईंको आईडी सम्भवतः रियल आईडी नै हुन सक्छ। थाहा पाउनका लागि आईडीमा स्टार छ वा छैन हेर्नुहोस्।
न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकी झण्डा भएको आईडी समेत जारी गरिन्छ। अन्य राज्यहरूमा सुनौलो वा कालो स्टार अंकित गरिएको हुन्छ, तर हवाई, ओहायो, टेनेसी र युटाहको आईडीमा भने तारा हुँदैन।
रियल आईडी कसरी प्राप्त गर्ने?
तारासहितको रियल आईडी प्राप्त गर्न, जन्मदर्ता प्रमाणपत्र वा पासपोर्टजस्ता कागजात लिएर डीएमभी कार्यालय भौतिक रूपमा जानुपर्नेछ। डीएमभीको वेबसाइटबाट अनलाइन अप्वाइन्टमेन्ट लिन सकिन्छ।
अप्वाइन्टमेन्ट लिएर जाँदा यी कागजातहरू लैजानुपर्छ:
पहिचान प्रमाण: अमेरिकी जन्मदर्ता प्रमाणपत्र, अमेरिकी पासपोर्ट, वर्क परमिट, ग्रीनकार्ड वा आई ९४ स्वीकृत विदेशी पासपोर्ट
सोसल सेक्युरिटी प्रमाण: सोसल सेक्युरिटी कार्ड, डब्लु टु, वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब
निवास प्रमाण: नाम र ठेगाना भएको बिजुली, पानी वा ग्याँसको बिल वा अन्य आधिकारिक कागजात
आफूसँग आवश्यक कागजात भए/नभएको जाँच गर्न यहाँ क्लिक गर्नुहोस्।
डीएमभी कार्यालयमा आवेदन दिनुपर्छ
सबै कागजातसहित डीएमभी कार्यालयमा गएपछि उपयुक्त शुल्क तिरेर आवेदन दिनुपर्छ। त्यसपछि तपाईंले स्टार अंकित रियल आईडी प्राप्त गर्नुहुनेछ, जुन संघीय भवनहरूमा प्रवेश गर्न वा हवाई यात्रा गर्नका लागि स्वीकार गरिनेछ।
यदि आईडीमा स्टार छैन भने आगामी मे ७ सम्म त्यस आईडी प्रयोग गरेर अमेरिका भित्र विमान चढ्न सक्नुहुन्छ। तर मे ७ पछि भने अमेरिकी पासपोर्ट, सैन्य आईडी वा अन्य संघीय सरकारी आईडी आवश्यक पर्न सक्छ।