क्यानडामा होम केयर वर्करका लागि नयाँ इमिग्रेशन पाइलट कार्यक्रम सुरु हुँदै
प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

क्यानडा सरकारले होम केयर वर्करहरूका लागि नयाँ इमिग्रेशन पाइलट कार्यक्रम सुरु गर्न लागेको छ। इमिग्रेशन, रिफ्युजी र नागरिकता क्यानडा (आईआरसीसी) ले यो कार्यक्रम मार्च ३१, २०२५ मा सुरु हुने घोषणा गरेको छ। यस अन्तर्गत, होम केयर वर्करहरूले क्यानडामा काम गर्ने अनुभव नभएको अवस्थामै स्थायी बासिन्दाको दर्जा प्राप्त गर्न पाउनेछन्।
नयाँ कार्यक्रमले केयरगिभरहरूलाई अस्थायी वा अंशकालिक रूपमा सेवा प्रदान गर्ने संस्थाहरूमा काम गर्न अनुमति दिनेछ, जुन अहिलेको व्यवस्थामा सम्भव छैन। यो व्यवस्था अर्ध-स्वतन्त्र वा चोटपटकबाट निको भइरहेका व्यक्तिहरूलाई सेवा प्रदान गर्ने संस्थाहरूमा लागू हुनेछ।
आवेदकहरूले क्यानडियन भाषा बेंचमार्क स्तर ४ प्राप्त गरेको, क्यानडियन हाई स्कूल डिप्लोमाको समकक्ष शैक्षिक योग्यता रहेको, सम्बन्धित क्षेत्रमा हालैको कार्य अनुभव भएको र पूर्णकालीन होम केयर जब अफर प्राप्त गरेको हुनुपर्नेछ। यसअघि, आवेदकहरूले भाषा स्तर ५ र उच्च शिक्षा डिप्लोमा आवश्यक पर्दथ्यो।
होम चाइल्ड केयर प्रोभाइडर पाइलट र होम सपोर्ट वर्कर पाइलट कार्यक्रमहरू जुन १७ जुन, २०२४ मा समाप्त भएपछि त्यसको सट्टामा नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरिएको हो। सरकारले यी कार्यक्रमहरूलाई स्थायी बनाउने दिशामा काम गरिरहेको छ।
आवश्यक जानकारी र अपडेटका लागि आईआरसीसीको आधिकारिक वेबसाइट हेर्न सल्लाह दिइएको छ। साथै, आवेदकहरूले आफ्नो इमिग्रेशन प्रक्रियाका लागि विशेषज्ञहरूसँग सम्पर्क गरी आफ्नो केस अनुसारको सल्लाह लिन सक्नेछन्।
क्यानडामा काम गर्न र बसोबास गर्न इच्छुक नेपालीहरूका लागि यो कार्यक्रम महत्वपूर्ण मानिन्छ। नेपालबाट धेरै युवा र युवतीहरूले क्यानडामा काम गर्ने र स्थायी बसोबासका लागि यस्ता कार्यक्रमहरूको प्रतीक्षा गर्दै आएका छन्।