न्युयोर्कको ज्याक्सनहाइटमा नेपाली व्यवसायमा छापा, २ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

न्युयोर्कको ज्याक्सनहाइट ब्रोडवेमा नेपाली व्यवसायमा प्रहरीले छापा मारेर २ जनालाई पक्राउ गरेको न्युयोर्क प्रहरीले जनाएको छ । बुधबार दिउसो ३ बजेतिर प्रहरीले उक्त व्यवसायमा छापा मारेको संचालकले जनाएका छन् ।

गैरकानुनी जुवा खेलाइरहेको जानकारीका आधारमा सर्च वारेन्ट जारी गरिएको र सोही आधारमा उक्त व्यवसायमा छापा मारिएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन ।

व्यवसाय संचालकले अचानक प्रहरी आएर व्यवसायमा तोडफोड गरेको र केही व्यक्तिसँग सोधपुछ गरेको बताएका छन् । व्यवसायमा गैर कानुनी रुपमा संचालित स्लट मेसिन पनि प्रहरीले तोडफोड गरेको जनाइएको छ ।

यो छापालाई समुदायमा कतिपय व्यक्तिले अमेरिकी अध्यागमन आइसको छापा भन्दै प्रचार गरेपनि यो छापा आइसको नभई न्युयोर्क सिटी प्रहरीको छापा रहेको व्यवसाय संचालक र न्युयोर्क सिटी प्रहरी दुबैले पुष्टी गरेका छन् । पक्राउ परेका व्यक्तिलाई रिहा गरिए नगरिएको पनि केही बताइएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com