अमेरिकी अध्यागमन आइसको चेकइन नछुटाउन कानुन व्यवसायीको सुझाव
प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

अमेरिकाको पछिल्लो अध्यागमन परिवर्तनका कारण कतिपय आप्रवासीहरु अमेरिकी अध्यागमन आइसको चेकइनमा जान डराइरहेका छन् । अमेरिकी अध्यागमन आइसले आफ्नो फिल्ड अफिसमा रिपोर्ट गर्नका लागि आप्रवासीहरुलाई दिएको मितिमा उपस्थीत नभएमा गम्भिर प्रकारका अवस्थाहरुको सामना गर्नुपर्ने हुनसक्ने कानुन व्यवसायीको सुझाव छ ।
यदि कुनै व्यक्तिलाई पक्राउ गरी अध्यागमन अदालतमा देशनिकालाको प्रक्रियामा राखिएको छ तर पछि तोकिएको आइस चेक इनको मितिसहित रिहा गरिएको छ भने उनीहरुले कानुनी आवश्यकताहरूको कडाइका साथ पालना गर्नु अत्यावश्यक रहेको न्युयोर्कका कानुन व्यवसायी बासु फुलाराले बताएका छन् । उनले खसोखाससँग भने – “तोकिएको मितिमा आइस चेकइनमा उपस्थित हुनु निर्विकल्प हो । यो अनिवार्य दायित्व हो । यदि उपस्थित नभएमा पक्राउ पुर्जी जारी हुने र सम्भावित हिरासत समेत हुनसक्ने लगायतका तुरुन्तै असर पर्ने परिणामहरू आउन सक्छन् ।”
आइसको चेकइनका लागि उपस्थित हुँदा आवश्यक सबै कागजातहरू, पहिचान प्रमाण, बसोबासको प्रमाण र अध्यागमन मुद्दासँग सम्बन्धित कुनै पनि कागजातहरू लिएर जानु जरुरी भएको फुलाराले बताएका छन् । यस्ता परिस्थितिमा कानुनी प्रतिनिधित्व महत्वपूर्ण हुने र अनुभवी अध्यागमन वकिलसँग पहिले नै परामर्श गर्दा उपलब्ध कानुनी विकल्पहरूको मूल्यांकन गर्न, सम्भावित परिणामहरूको तयारी गर्न, र सबै प्रक्रिया पूरा गर्ने सुनिश्चित गर्न मद्दत हुनसक्ने उनको भनाई छ ।
यदि आइसको चेकइनमा जाने व्यक्तिलाई पहिले नै अदालतमा हाजिर हुने नोटिस टु अपियर जारी गरिएको छ भने सम्बन्धित व्यक्तिले आफ्नो मुद्दाको ध्यानपूर्वक समीक्षा गर्दै तोकिएका अध्यागमन अदालतका सुनुवाइहरूमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र कानुनी प्रक्रियामा पूर्ण रूपमा संलग्न रहनुपर्ने फुलाराले बताए । किनभने आइस चेकइनको समयमा आइसका अधिकारीहरूले कुनै पनि रिहाइ सर्तहरूको पालना भए नभएको मूल्यांकन गर्न र निरन्तर निगरानी वा हिरासत आवश्यक भए नभएको निर्णय गर्न सक्छन्।
फुलाराले भने -“आइसले तोकेको कुनै पनि सर्तहरू, जस्तै नियमित चेकइनहरू, इलेक्ट्रोनिक निगरानी, वा ठेगाना अपडेट गर्ने जस्ता नियमहरूको पालना गर्नु अति आवश्यक छ। चेक इनका क्रममा हिरासतमा पर्ने सम्भावना भएका व्यक्तिले पूर्व तयारीको योजना बनाउनुपर्छ । परिवारका सदस्यहरू र आफ्ना वकिललाई अप्वाइन्टमेन्टको जानकारी दिनुपर्छ, र अध्यागमन कानुनअनुसार आफ्ना अधिकारहरू पूर्ण रूपमा बुझ्नुपर्छ।”
पछिल्लो समयमा अध्यागमन अदालतमा वा बोर्ड अफ इमिग्रेशनमा मुद्दा भएका कैयन नेपालीहरु आइसले बोलाएको समयमा उपस्थीत हुन डराइरहेका छन् । त्यस्तै अदालतमा जानका लागि नोटिस टु अपियर जारी नभएकाहरु अझ डराइरहेका छन् । तर उनीहरु आइसले बोलाएको अवस्थामा हाजिर नभएमा आइसले त्यस्ता व्यक्तिलाई हिराशतबाहिर रहेर मुद्दा लड्न पाउने कार्यक्रमबाट हटाएर पक्राउ गरेर अध्यागमन हिराशतमा राख्न सक्ने कानुनविदहरुको चेतावनी छ । यस्तो अवस्था भएमा मुद्दाको टुंगो नलाग्दासम्म नै अध्यागमन हिराशतमा बस्नुपर्ने हुनसक्छ ।
यदि आफ्नो नियन्त्रणबाहिरको कुनै परिस्थिति जस्तै गम्भीर रोग वा गम्भीर दुर्घटनाको कारण आइसको चेकइनमा उपस्थित हुन छुटाएमा त्यस्ता व्यक्तिले यथासम्भव आइसलाई यसबारे सूचित गर्नुपर्ने वा आफूले सूचित गर्न असमर्थ भएमा विश्वसनीय व्यक्तिलाई आफ्नो तर्फबाट आइसलाई सूचित गर्न लगाउनुपर्ने कानुनविदहरुको सुझाव छ । यदि आइसको चेकइनमा उपस्थित हुन छुटाइसकेको भएमा तुरुन्तै अध्यागमन वकिलसँग गर्न सुझाव दिइएको छ ।
केही व्यक्तिहरू आइसको चेकइनमा उपस्थित हुन डराउन सक्छन् किनभने त्यहाँ जाँदा हिराशतमा पर्न सकिने उनीहरुमा डर हुनसक्छ । तर हिराशतबाहिर रहन पाउने यो सुपरभिजन कार्यक्रमको सम्पूर्ण उद्देश्य व्यक्तिहरूलाई हिराशतबाट बाहिर राखेर अध्यागमन हिराशत प्रणालीमा रहेको तनाव कम गर्नु हो। यो कार्यक्रममा समावेश हुनुको अर्थ आइसले तपाईंलाई हिरासतमा राख्न चाहँदैन । त्यसैले यो कार्यक्रम अन्तरगत उनीहरुले एकदमै आवश्यक नभएसम्म जतिसक्दो हिराशतमा नराख्ने प्रयास गर्छन् ।
हिराशतमा पर्नबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको आइसका निर्देशनहरू पालना गर्नु, फाइलमा ठेगाना अद्यावधिक राख्नु र सबै चेकइनमा उपस्थित हुनु हो। आइसले तपाईंलाई सम्पर्क गर्ने प्रयास गरेको हरेक पटक तपाईंले जवाफ दिनुपर्छ। यदि तपाईंले नियमहरू पालना गर्दै हुनुहुन्छ र तपाईंको जाँचमा समयमै उपस्थित हुनुहुन्छ भने उनीहरूसँग तपाईंलाई हिराशतमा राख्ने कुनै कारण हुनेछैन ।
तर दिइएको निर्देशनहरू पालना नगरेकाहरु भने हिराशतमा पर्ने खतरामा रहन्छन् । यदि आइसलाई सम्पर्क वा पुनः निर्धारण नगरी कुनै अपोइन्टमेन्ट छुटाएको भएमा, ठेगाना अपडेट नगरेको भएमा वा कुनै अपराधको आरोप लगाइएको भएमा भने आइसले चेकइनका क्रममा समेत हिराशतमा राख्नसक्ने कानुन व्यवसायीले चेतावनी दिएका छन् । यस्तो अवस्थामा लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।