अमेरिकनबाहेक अन्य सबै देशका १० वर्ष मुनिका बालबालिकालाई नेपालको निःशुल्क भिसा
प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

नेपालले अमेरिकी नागरिकबाहेक विश्वका सबै देशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क भिसा दिँदै आएको छ । उनीहरुले नेपालका दूतावास, कन्सुलेट र प्रवेश नाकाहरुबाट ९० दिनसम्मको निःशुल्क भिसा प्राप्त गर्न सक्छन् । यो नीतिका कारण नेपाली वा नेपाली अमेरिकन बाबुआमाका अमेरिकन बच्चाहरु सबैभन्दा धेरै प्रभावित हुदै आएका छन् ।
यस नीति पछाडिको मुख्य कारण नेपालको अमेरिकासँगको आपसी भिसा व्यवस्था हो। अमेरिकाले नेपाली नेपाली बालबालिकाहरूलाई कुनै छुट नदिएकाले नेपालले पनि अमेरिकन बालबालिकाहरुलाई छुट दिएको छैन । तर विश्वभरका धेरै देशहरूले नेपाली बालबालिकालाई निःशुल्क भिसा प्रदान नगर्ने भएपनि यो नीति भने नेपालले उनीहरुका सन्दर्भमा लागु गरेको छैन, केबल अमेरिकाका सन्दर्भमा लागु गरेको छ ।
यो नियम नेपालले अमेरिकन नागरिकलाई पनि ५ बर्षको मल्टिभल भिसा दिने सहमतिसँगै ल्याएको थियो तर अहिले भने नेपालले अमेरिकनलाई ५ बर्षको मल्टिपल भिसा दिन भने छाडेको छ । खासगरी कोरोना महामारीपछि नेपालले अमेरिकनहरुका लागि ५ बर्षको भिसा जारी गर्न छाडेको छ । ५ बर्षको भिसा जारी गर्ने नीति २०१९ जनवरी १ देखि लागु गरिएपनि लामो समय चल्न पाएन । अमेरिकाले भने नेपालीलाई ५ बर्षको मल्टिपल भिसा नै जारी गर्दै आएको छ ।
नेपाली दूतावास र कन्सुलेटहरूले पनि योग्य यात्रुहरूको लागि निःशुल्क भिसा बाहेक अन्य भिजिट भिसा स्ट्याम्प वा स्टिकर जारी गर्न छाडेका छन् । त्यसको सट्टा, तिनीहरूले यात्रुहरूको लागि इलेक्ट्रोनिक यात्रा अनुमतिपत्र ईटीए जारी गर्दै आएका छन् ।
अमेरिकीबाहेक १० वर्ष मुनिका अन्य देशका बालबालिकाहरू, एनआरएन कार्ड हुनेहरु, चीनका नागरिकहरू नेपालको निशुल्क भिसा पाउन योग्य रहेका छन् । त्यस्तै कुनै बर्षमा पहिलो पटक यात्रा गर्ने सार्क सदस्य राष्ट्रका नागरिकहरूलाई पनि ३० दिनसम्मको नेपालको पर्यटक भिसा निःशुल्क पाउँछन् । यद्यपि, अफगान नागरिकहरूलाई यस प्रावधानमा समावेश गरिएको छैन । अफगान नागरिकहरूले नेपालमा भिसा प्राप्त गर्नका लागि नेपालको अध्यागमन विभागबाट सिफारिस प्राप्त गर्नु आवश्यक छ।