१७ बर्षदेखिका ग्रिनकार्डवाहकलाई बोष्टन विमानस्थलबाट आइसको हिराशतमा, कारण यस्तो
प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

१७ बर्षदेखि अमेरिकाको ग्रिनकार्डवाहक रहेका इलेक्ट्रिकल इन्जिनियर शुक्रबार लक्जमबर्गबाट घर फर्किरहेकाबेला फेबियन स्मिटलाई बोस्टनको लोगान विमानस्थलबाट आइसले हिराशतमा लिएको छ । न्यु ह्याम्पशायर निवासी उनलाई विमानस्थलमा अध्यागमन अधिकारीहरूले पक्राउ गरेपछि आइसले रोड आइल्याण्डको सेन्ट्रल फल्समा रहेको डोनाल्ड डब्ल्यू व्याट हिराशत केन्द्रमा राखेको छ ।
उनको ग्रिन कार्ड प्रणालीमा फ्लाग भएको भन्दै उनलाई हिराशतमा लिइएको थियो । उनलाई लोगान विमानस्थलमा घण्टौंसम्म हिंसात्मक रूपमा सोधपुछ गरिएको थियो । उनलाई नाङ्गो पारिएको, चिसो पानीले नुहाइदिइको परिवारको दावी छ । उनलाई अध्यागमन एजेन्टहरूले आफ्नो ग्रिन कार्ड त्याग्न दबाब दिएको तथा चिन्ता र डिप्रेसनको लागि उनको औषधिको पहुँचबाट वञ्चित गरिएको समेत परिवारले जनाएको छ ।
उनलाई पिउनको लागि पानी समेत नदिएपछि ढलेको र एम्बुलेन्सबाट मास जनरल अस्पताल लगिएको जनाइएको थियो । अस्पतालमा लगेपछि उनलाई इन्फ्लुएन्जा पनि भएको पत्ता लागेको थियो ।
स्मिट र उनकी आमा २००७ मा अमेरिका सरेको र २००८ मा ग्रिन कार्ड पाएको जनाइएको छ । उनीहरु २०२२ मा क्यालिफोर्नियाबाट न्यु ह्याम्पशायर सरेका थिए । स्मिट दम्पत्ति र ८ वर्षीया छोरीका साथमा बस्दै आएका थिए । उनीहरु दुवै अमेरिकी नागरिक हुन्।
२०१५ मा स्मिटमाथि आफ्नो कारमा गाँजा राखेको आरोप लागेको थियो । तर क्यालिफोर्नियामा गाँजा राख्ने सम्बन्धमा कानून परिवर्तन भएपछि उक्त आरोप खारेज भएको थियो । २०२२ मा उनले मुद्दाको बारेमा सुनुवाइ छुटाएका थिए । उनको नयाँ ठेगानामा कहिल्यै सूचना नआएकाले सुनुवाई छुटेको परिवारको भनाई छ । स्मिट मदिराको लतबाट निको भइरहेका थिए । उनविरुद्ध मादक पदार्थ चलाएर गाडी चलाएको समेत अभियोग थियो । तर उनले उक्त अभियोगमा सजाय पूरा गरिसकेका थिए ।
उनका विगतका यी अभियोगहरुका कारण आइसले उनलाई हिराशतमा लिएको हुनसक्ने कानुन व्यवसायीहरुको भनाई छ । विगतमा अपराधको पृष्ठभूमि भएका ग्रिनकार्डवाहकलाई समेत विदेश यात्रा गरेर फर्कदा आइसले हिराशतमा लिदै आएको छ । हालै एक नेपाली ग्रिनकार्डवाहक मोहन थापालाई नेपालबाट अमेरिका फर्कने क्रममा आइसले हिराशतमा लिएको थियो । उनलाई केहीदिन अगाडि पेन्सिलभेनियाकै मोशानन भ्याली आइस प्रशोधन केन्द्रमा स्थानान्तरण गरिएको छ ।
कभर फोटो : सन् २०१७ मा बोस्टनको लोगन विमानस्थलमा सीबीपी अधिकारी ।