के अमेरिकाले भुटानी नागरिक वा भुटानी शरणार्थीहरुलाई देशनिकाला गर्नसक्छ?
प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

अमेरिकामा पछिल्लो चरणमा भुटानीहरुलाई पनि अध्यागमनले पक्राउ गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसैसाता यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका रोशन तामाङलाई ओहायोको सिनसिनाटीबाट अमेरिकी अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएको थियो । आइसले उनी भुटानी नागरिक रहेको बताएको छ भने उनी नेपालको पथरी शिविरबाट शरणार्थीका रुपमा अमेरिकामा आएको केही श्रोतहरुको दावी छ ।
भुटानका नागरिक रोशन तामाङलाई देश निकालाको अन्तिम आदेश दिइएपनि उनी अमेरिकामा नै बस्दै आएको आइसले जनाएको छ भने उनलाई अहिले देशनिकालाको लागि भन्दै बटलर काउन्टी करेक्सन कम्प्लेक्समा राखिएको छ । तामाङ गम्भीर यौन दुर्व्यवहार, पक्राउ गर्ने अधिकारीमाथि हस्तक्षेप, लागूऔषध सामग्री राखेको, आपराधिक दुराचार र आपराधिक घुसपैठको अभियोगमा दोषी ठहर भएका थिए । तर अमेरिकाबाट देशनिकाला हुन सकेका थिएनन् ।
कस्तो अवस्थामा देशनिकालाको आदेश हुनसक्छ?
अमेरिकामा रहेका भुटानी र अन्य शरणार्थीहरूले गम्भीर अपराध गर्ने वा शरणार्थी स्थिति गुमाउने जस्ता विशेष परिस्थितिहरूमा देश निकाला आदेशको सामना गर्न सक्छन्। यदि देश निकाला गरियो भने तिनीहरूलाई सामान्यतया उनीहरूको मूल देशमा फिर्ता पठाइन्छ । तर भुटानी शरणार्थीहरूको लागि, भुटानले विगतमा उनीहरूलाई स्वीकार गर्न अस्वीकार गरेको कारणले यो जटिल छ । जसले गर्दा उनीहरुलाई तेस्रो देशमा देश निकाला हुन सक्छ।
चोरी वा सुरक्षा जोखिम जस्ता गम्भीर अपराध गरेमा उनीहरुले देशनिकालाको सामना गर्नसक्छन् । विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिहरू अन्तर्गत विगतमा अपराधको पृष्ठभूमि भएका भुटानी शरणार्थीहरुले देशनिकालाको सामना गर्नसक्छन् । भुटानी शरणार्थी समुदायमा विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुको संख्या उल्लेख्य रहेको छ । जसले गर्दा अहिले ट्रम्प प्रशासनले उनीहरुलाई पक्राउ गर्ने दर पनि तीब्र पारेको छ । जसमध्ये कतिपय विगतमा आपराधिक पृष्ठभूमि भएका कारण देशनिकालाको आदेश पाइसकेकाहरु समेत छन् ।
कति भुटानी पक्राउ?
पुनर्वास कार्यक्रममार्फत नेपालबाट अमेरिका आएका भएतापनि अमेरिकाले उनीहरुलाई भुटानी नागरिकका रुपमा नै बर्गिकरण गर्छ । ट्रम्प प्रशासन आइसकेपछि विभिन्न स्थानबाट एकदर्जनभन्दा बढी भुटानीहरु अध्यागमन एजेन्सी आइसद्वारा पक्राउ परिसकेका रिपोर्टहरु आएका छन् । यद्यपी भुटानीहरु पक्राउ पर्ने क्रम बाइडेन प्रशासनमा समेत थियो ।
बाइडेन प्रशासनका ४ बर्षमा ५१ जना भुटानीहरुलाई आइसले पक्राउ गरेको थियो भने उनीहरुलाई आइसको हिराशतमा राखिएको थियो । तर उनीहरुलाई आइसले देशनिकाला भने गर्न सकेको थिएन । आर्थिक बर्ष २०२१ मा १५ जना, २०२२ मा १२ जना, २०२३ मा १२ जना र २०२४ मा १२ जनालाई आइसले पक्राउ गरेको थियो । तर आइसका अनुशार उनीहरुमध्ये कसैलाई पनि अमेरिकाबाट देशनिकाला भने गर्न सकिएको थिएन ।
आर्थिक बर्ष २०१८ र २०१९ मा एकएकजना भुटानीहरुलाई देशनिकाला गर्न आइस सफल भएको थियो । शरणार्थी बाहेक अन्य च्यानलबाट अमेरिका आएका भुटानीहरुसँग भुटानको म्यादसहितको पासपोर्ट भएको खण्डमा भने अमेरिकाले उनीहरुलाई देशनिकाला गरेर भुटान पठाउनसक्छ । तर २०१८ र २०१९ मा देशनिकाला गरिएकाहरु कुन श्रेणीका थिए भन्नेबारे भने प्रष्ट छैन ।
किन भुटान पठाउन सक्दैन?
सामान्यतया देशनिकालामा पर्नेहरुलाई उनीहरूको मूल देशमा पठाइन्छ । उदाहरणका लागि जोखिमको बाबजुद पनि इराकी शरणार्थीहरूलाई इराक फिर्ता पठाउने गरिएको छ । यद्यपि भुटानी शरणार्थीहरूका लागि थप जटिलता रहेको छ ।
अमेरिकासँग भुटानको कूटनीतिक सम्बन्धको अभाव र निष्कासित नागरिकहरूलाई स्वीकार गर्न ऐतिहासिक रुपमा भुटानको अस्वीकारको कारण उनीहरुलाई भुटान फिर्ता गर्न लगभग असम्भव छ। पासपोर्ट नभएकाहरुका लागि आइसले देशनिकालाका लागि ट्राभल डकुमेन्टको अनुरोध गर्ने भएकाले आइसको अनुरोधमा भुटानले ट्राभल डकुमेन्ट जारी गर्न अस्वीकार गर्दै आएको छ । शरणार्थीहरुका लागि नेपालले ट्राभल डकुमेन्ट जारी गर्ने नियम छैन ।
अमेरिकाले उनीहरूलाई स्वीकार गर्ने इच्छुक तेस्रो देश खोज्न त सक्छ तर यो अमेरिकाले गर्ने अन्तर्राष्ट्रिय सम्झौताहरूमा निर्भर गर्दछ। त्यसैले १९९० को दशकमा जातीय सफायाबाट भागेर अमेरिकामा पुनर्वास भएका भुटानी शरणार्थीहरूका लागि अमेरिकाबाट देश निकाला सामान्य छैन । झण्डै १ लाख भुटानी शरणार्थीहरु अमेरिका लगायत तेश्रो देशमा पुनर्वास भएका छन्, जसमा अमेरिकामामात्र पुनर्वास हुनेहरुको संख्या झण्डै ८५ हजार थियो । व्यापक पुनर्वास परियोजनाको बावजुद लगभग ७,००० भुटानी शरणार्थीहरू अझै नेपालमा नै रहेका छन् ।
भुटानमाथि यात्रा प्रतिबन्धको योजनामा ट्रम्प
कुटनीतिक सम्बन्धको अभाव र अमेरिकाबाट देशनिकालाको आदेश पाउने भुटानीहरुलाई भुटानले स्वीकार नगर्ने रेकर्डका कारण ट्रम्प प्रशासनले भुटानमाथि यात्रा प्रतिबन्ध लगाउने योजना बनाएको छ । हालै सार्वजनिक ड्राफ्ट सूचिमा पूर्ण प्रतिबन्ध लगाइने ११ देशमा भुटान समेत रहेको छ । अन्य देशहरुमा अफगानिस्तान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला यमन रहेका छन् ।
अमेरिकाबाट देश निकाला आदेश जारी गरियो अमेरिकी कानूनले सामान्यतया व्यक्तिलाई उसको मूल देशमा देश निकाला गर्ने आदेश दिन्छ । देश निकाला सरकारी खर्चमा हवाई मार्गबाट गरिन्छ, व्यक्तिहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाइन्छ। तर भुटान पठाउन तत्काल सम्भव नभएकाले ट्रम्प प्रशासनले भुटानमाथि यो कारवाहीको तयारी गरेको हो ।
नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले भुटानको कन्सुलर मामिलाहरू सम्हाल्छ, तर अमेरिकामा कुनै भुटानी दूतावास दूतावास छैन, जसले गर्दा स्वदेश फिर्ती अझ जटिल रहेको छ । यद्यपी न्युयोर्कमा भुटानको कन्सुलेट जनरल भने रहेको छ । हालै अमेरिकाले ३ जना नेपालीलाई पनामा देशनिकाला गरेको थियो । यही प्रकृयाबाट भुटानीहरुलाई पनि ट्रम्प प्रशासनले अन्य देशमा पठाउने खतरा भने रहेको छ । आप्रवासीहरूलाई मूल देशको पर्वाह नगरी मध्य अमेरिकी देशहरुमा देश निकाला गर्ने अमेरिकी सुरु भएकाले यसले सम्भावित रूपमा भुटानी शरणार्थीहरूलाई असर गर्न सक्छ।