टीपीएसको अवधि सकिनु अगाडि नै अमेरिकी अध्यागमनद्वारा टीपीएसवाहक पक्राउ


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

टीपीएसको अवधि सकिनु अगाडि नै अमेरिकी अध्यागमन एजेन्सी आइसले टीपीएसवाहकलाई समेत पक्राउ गरेको छ । भेनेजुएलाको टीपीएसको अवधि आगामी अप्रिल ७ मा सकिनु अगाडि नै आइसले भेनेजुएलाका टीपीएसवाहक दम्पतीलाई वासिंटन डिसीमा पक्राउ गरेको हो ।

उनीहरु सन् २०२२ को अक्टोबर १३ मा तीन बच्चाहरूसँग टेक्सासको दक्षिणी सीमाबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । त्यतीबेला उनीहरुलाई सीमा गस्तीले देशमा प्रवेश गर्न अनुमति दिएको थियो। पछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट उनीहरूलाई टीपीएस प्राप्त भएको थियो ।

४, ९ र १३ वर्षका बच्चाहरुसँगै वासिंटन डीसी नजिक बस्दै आएका उनीहरुले सोसल सेक्युरिटी नम्बरहरू प्राप्त गर्नुका साथै ड्राइभर लाइसेन्स समेत लिएका थिए । उनीहरुले काम पनि गर्दै आएका थिए । तर गत सोमबार उनीहरूलाई अमेरिकी अध्यागमन एजेन्सीका अधिकारीहरुले पक्राउ गरेका थिए ।

उनीहरुलाई दुई वर्षअघि अवैध रूपमा सीमा पार गरेको अभियोगमा पक्राउ गरिएको थियो । ३० दिनभित्र एल पासोको संघीय अदालतमा अवैध सीमा पार गरेकोबारे जवाफ दिनेगरी उनीहरुलाई विहिबार वासिंटन डिसीमा रहेको निवासमा फर्कन अनुमति दिइएको थियो ।

तर ३० दिन अगाडि नै उनीहरुको टीपीएस समाप्त हुने भएकाले त्यसपछिको अवस्थाबारे पनि अन्यौल रहेको छ । दम्पती रिहा भएपछि सीबीपीका अधिकारीले बिना प्रमाण दम्पतीको गिरोहसँग सम्बन्ध रहेको आरोप समेत लगाएका छन् ।

यो घटना भेनेजुएलाहरूका लागि टीपीएस समाप्त हुनुभन्दा केही हप्ता अगाडि भएको हो । जसले टीपीएस समाप्त हुँदै गरेका नेपाली लगायतमा पनि त्रासको वातावरण श्रृजना गरेको छ । नेपालीको टीपीएसको अवधि आगामी जुन २४ सम्म कायम रहेको छ भने झण्डै साढे ७ हजार नेपालीहरु टीपीएसमा रहेका छन् ।

अर्को सन्दर्भमा गत महिना भेनेजुएलाका टीपीएसवाहकलाई आइसले न्यु मेक्सिकोमा नियन्त्रणमा लिएर २० दिन हिराशतमा राखेको थियो । उनी सीबीपी वान एपको प्रयोग गरेर सन् २०२३ मा अमेरिका आएका थिए । त्यतीबेला पनि उनलाई ३ महिना हिराशतमा राखिएको थियो । पछि क्रेडिबल फियर अन्तरवार्ता पास गरेपछि रिहा गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com