‘टाइम प्रभावशाली व्यक्ति’ ३ अमेरिकनकी आमा आप्रवासी अधिकारकर्मी आइसको हिराशतमा
प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

अमेरिकी अध्यागमन एजेन्सीले कोलोराडोमा एकजना आप्रवासी अधिकारकर्मीलाई हिराशतमा लिएको छ । राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा आप्रवासी प्रतिरोधको प्रतीक बनेकी डेनभरकी महिलालाई सोमबार संघीय अध्यागमन एजेन्टहरूले कामबाटै पक्राउ गरेका हुन् ।
डेनभर नजिकैको टार्गेट स्टोरमा काम गरिरहेकी ५३ वर्षीया जिनेट भिजगुएरालाई ब्रेकको समयमा पक्राउ गरिएको हो । कागजात नभएकी उनलाई पक्राउपछि एक अध्यागमन एजेन्टले अन्ततः फेला पारेरै छाडेको अभिव्यक्ति दिएका थिए ।
भिजगुएराले २०१७ को सुरुमा आफ्नो लुगा प्याक गरेर आफ्ना तीन साना बच्चाहरूसँग कोलोराडोको चर्चको बेसमेन्टमा सरेपछि राष्ट्रियरुपमा ध्यान आकर्षित भएको थियो । चर्चमा बसेपछि उनले ट्रम्पको निर्वासन योजनाबाट जोगिने अपेक्षा गरेकी थिइन् । २०२१ मा उनले बाइडेन प्रशासनबाट देशनिकालामा एक वर्षको स्थगन प्राप्त गरेकी थिइन् ।
उनलाई पक्राउ गरेपछि कोलोराडोका डेमोक्र्याटिक राजनीतिज्ञहरू र आप्रवासी अधिकार समर्थकहरूले प्रतिकृया जनाइरहेका छन् । ट्रम्प प्रशासनले आप्रवासन दमनका आलोचकहरूलाई चुप लगाउन खोजेको उनीहरुले आरोप लगाएका छन्।
डेनभरका मेयर माइक जोनस्टनले भिजगुएराको गिरफ्तारीलाई राजनीतिक असन्तुष्टहरूको पुटिन शैलीको उत्पीडनको संज्ञा दिदै निन्दा गरेका छन् । कोलोराडोका डेमोक्र्याट सिनेटर माइकल बेनेटले भिजगुएरालाई उनको समुदायको स्तम्भ भएको बताए । उनले आइसका अधिकारीहरूसमक्ष उनको रिहाईको माग समेत गरेका छन् ।
मंगलबार भिजगुएराका वकिलहरूले संघीय अदालतमा उनको पक्राउविरुद्ध लागि कानुनी चुनौती दायर गरेका थिए । उनलाई राखिएको अरोरामा रहेको आप्रवासन हिरासत केन्द्र बाहिर प्रदर्शनकारीहरू र परिवारका सदस्यहरूले निगरानी गरेका थिए ।
ट्रम्प प्रशासनले आप्रवासन कारबाहीलाई तीव्र पार्दै गर्दा संघीय अधिकारीहरूले भिजगुएरालाई हिरासतमा लिएको पछिल्लो उच्च प्रोफाइल घटना हो । मेक्सिकन नागरिक, भिजगुएरा १९९७ मा बिनाभिसा अमेरिकामा प्रवेश गरेकी छिइन् । उनले डेनभरमा घर सफा गर्ने र चौकीदारको रूपमा काम पाइन् । अदालतको फाइलिङ अनुसार उनका तीनजना बच्चाहरु सबै अमेरिकी नागरिक हुन् ।
उनको जटिल कथा २००९ मा सुरु भयो जब उनलाई डेनभरमा ट्राफिक स्टपमा रोकियो। अधिकारीले उनी अमेरिकामा कानुनी रूपमा भए नभएको सोधेपनि उनले जवाफ दिन अस्वीकार गरेकी थिइन् । त्यसपछि अधिकारीहरुले उनको झोला सर्च गरेका थिए । झोलाबाट कामको लागि आवेदन दिन बनाइएको नक्कली सोसल सेक्युरिटी नम्बर फेला पारिएको थियो । उनीविरुद्ध पहिचान चोरीको अभियोग लगाइएको थियो। उनले दोष स्वीकार गरिन् र २१ दिनको जेल सजाय सुनाइयो।
त्यसपछि उनलाई देशनिकालाको प्रकृयामा राखिएको थियो । २०१३ मा उनी आफ्नी मृत्यु शैयामा रहेकी आमालाई भेट्न मेक्सिको फर्किएपछि टेक्सास हुँदै अमेरिका फर्कने क्रममा उनलाई पक्राउ गरेर अवैध प्रवेशको दोषी ठहराइएको थियो ।
पाँच पटक देश निकालाको स्थगन पछि २०१७ मा ट्रम्प निर्वाचित भएसँगै उनी चर्चमा गएर बसेकी थिइन् । राजनीतिज्ञहरूले उनको मुद्दामा साथ दिएका थिए भने टाइमले उनलाई २०१७ को सबैभन्दा प्रभावशाली व्यक्तिहरू मध्ये एक घोषित गरेको थियो ।