ग्रिनकार्ड स्पोन्सरका लागि युएससीआईएसद्वारा स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बृद्धि


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बृद्धि गरिएको छ । यसै महिनादेखि लागु हुनेगरी युएससीआईएसले स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाएको हो ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले  पोभर्टी गाइडलाइन अपडेट  गरेपछि युएससीआईएसले त्यसको झण्डै डेढ महिनापछि आम्दानीको मापदण्ड बृद्धि गरेको घोषणा गरेको हो ।

यस अगाडि अलास्का र हवाई बाहेक ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नुपर्ने भएमा उसको बार्षिक आम्दानी कम्तीमा २५ हजार ५ सय ५० डलर  भन्दा माथि हुनुपर्ने प्रावधान रहेकोमा अब  युएससीआईएसले यो रकम २६ हजार ४ सय ३७ डलर  भन्दा बढी हुनुपर्ने प्रावधान ल्याएको छ ।

एकजना भन्दा बढी स्पोन्सर गर्नेहरुको सन्दर्भमा वा परिवारमा एकजनाभन्दा बढी हुनेहरुको सन्दर्भमा भने आम्दानीको मापदण्ड प्रतिव्यक्ति ६ हजार ८ सय ७५ डलर थप्दै जानुपर्छ । कसैलाई स्पोन्सर गर्नका लागि पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा माथि आम्दानी हुनुपर्ने भएकाले स्पोन्सरकर्ताको आम्दानीको मापदण्डमा परिवर्तन भएको हो ।

युएससीआईएसका अनुशार स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड ।

अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ । स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ ।

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

अलास्का र हवाईमा हुनेहरुका लागि भने अन्य राज्यको तुलनामा बढी आम्दानी भएको हुनुपर्छ । हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको तुलनामा अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ । अर्थात् आई १३४ फर्म भरेर स्पोन्सर गर्दा कम आम्दानी भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com