अमेरिकाबाट देशनिकालापछि नेपालमा पक्राउ भूटानी शरणार्थीको निष्कासन रोक्न सर्वोच्चको आदेश
प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

अमेरिकाबाट देशनिकाला भई नेपाल पुगेपछि पक्राउ परेका भूटानी शरणार्थीहरूको निष्कासन रोक्न नेपालको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। हालै अमेरिकाबाट देशनिकाला भई भुटान पठाइएकामध्ये ४ जना पूर्व भुटानी शरणार्थीहरू नेपालमा पक्राउ परेका थिए। अशोक गुरुङ, सन्दीप दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई नेपाल प्रहरीले पक्राउ गरी अध्यागमनको जिम्मा लगाएको थियो। हाल उनीहरू झापाको काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा थुनामा छन्।
निवेदकहरूको तर्फबाट अधिवक्ता हिमेश कृष्ण खरेलले गर्नुभएको बहस र मिसिल अध्ययनपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो। अदालतले अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं र काँकडभिट्टास्थित अध्यागमन कार्यालयसँग समन्वय गरी निवेदकहरूलाई २०८२ बैसाख ११ गते इजलासमा हाजिर गराउन बन्दी प्रत्यक्षीकरण आदेशसमेत दिएको छ।
अदालतको अन्तरिम आदेशमा भनिएको छ, “निज निवेदकहरू विगतमा नेपालमा शरणार्थीको रूपमा दर्ता भएका र शरणार्थीकै रूपमा तेस्रो देशमा बसोबासमा परी उक्त देशमा अङ्गीकृत भई कालान्तरमा निजहरूको जीवन खतरामा पर्ने गरी निष्कासन गरी भुटानमा पठाइएको र पुनः भुटानबाट भारत हुँदै नेपालमा पठाई हाल थुनामा रहेको देखिँदा निजहरूको मातापिता जुन कारणद्वारा भुटानबाट नेपालमा शरणार्थी भई आएका हुन् सो परिस्थितिमा परिवर्तन नभएकाले निजहरू आफ्नो उत्पत्तिको देशमा स्वेच्छाले फिर्ता हुन नसकी पुनर्वासमा गएको अवस्थामा हाल नेपाली अध्यागमन अधिकारीहरूबाट निजहरूलाई पुनः भुटान वा निजहरूले नचाहेको देशमा फिर्ता गर्दा नेपालले अनुमोदन गरेको कन्भेन्सन अगेन्स्ट टर्चर एण्ड अदर क्रुएल, इनह्युमन अर डेरोगाटोरी ट्रिटमेन्ट अर पनिसमेन्ट १९८४ को धारा ३ तथा यस अदालतबाट विगतमा भएका निर्णयहरू र नेपाललाई समेत प्रथाजनित कानूनका रूपमा लागू हुने फिर्ता नपठाउने सिद्धान्तविपरीत हुने देखिँदा यी निवेदकहरूलाई भुटान तथा अन्य कुनै देशमा निष्कासन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२)(क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ। नियमानुसार गर्नु।”
सर्वोच्चको आदेशमा उनीहरु अमेरिकामा ‘अङ्गीकृत’ भएको उल्लेख गरिएपनि वास्तवममा उनीहरु अमेरिकामा अङ्गीकृत भइसकेका भने थिएनन् । उनीहरु अमेरिकामा ग्रिनकार्डवाहकका रुपमा रहेका थिए । तर उनीहरु विभिन्न अपराधमा संलग्न भएको भन्दै अमेरिकाको अध्यागमन अदालतले विभिन्न समयमा उनीहरुको ग्रिनकार्ड खारेज गरेर देशनिकालाको आदेश दिएको थियो । उक्त आदेशपछिपनि उनीहरु ट्राभल डकुमेन्टको अभावमा अमेरिकाबाट देशनिकाला हुन भने सकेका थिएनन् । तर ट्रम्प प्रशासनको दवावपछि भुटानले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएकाले उनीहरु अहिले देशनिकालामा परेका हुन् ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दिएको आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनसहितको मिसिल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री हिमेश कृष्ण खरेलले गर्नुभएको बहससमेत सुनियो। यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुत, प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाको म्याद बाहेक ३ दिनभित्र आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नुहोला।”
अदालतको आदेशमा भनिएको छ, “यसमा निवेदकहरू अशोक गुरुङ, सन्दीप दर्जी, रोशन तामाङ र आशिष सुवेदी नेपाली मूलका भुटानी भई नेपालमा शरणार्थीको रूपमा दर्ता भई शरणार्थीकै रूपमा तेस्रो देश संयुक्त राज्य अमेरिकामा पुनर्वास भएको देखिन्छ। निजहरू पुनर्वास भएको देशबाट २०२५ अप्रिल २४ अर्थात् मिति २०८१।१२।११ मा निष्कासनमा परी भारत हुँदै हाल नेपालमा अध्यागमन कार्यालय, मेचीनगर नगरपालिका वडा नं. ६, काँकडभिट्टा, झापामा थुनामा रहेको भन्ने देखिँदा निज निवेदकहरूलाई अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं र अध्यागमन कार्यालय मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टासमेत समन्वय गरी यस अदालतमा मिति २०८२।१।११ गतेको दिन हाजिर गराई इजलाससमक्ष पेश गर्नु।”
कस्ता अपराधमा उनीहरुको ग्रिनकार्ड खोसिएको थियो?
अमेरिकी अध्यागमन एजेन्सी आइसका अनुशार नेपालमा पक्राउ परेका मध्ये एक रोशन तामाङ अमेरिकामा यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका थिए । तामाङलाई ओहायोको सिनसिनाटीबाट अमेरिकी अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएर देशनिकाला गरेको हो । तामाङलाई पहिले नै देश निकालाको अन्तिम आदेश दिइएपनि उनी अमेरिकामा नै बस्दै आएको आइसले जनाएको छ । तामाङ गम्भीर यौन दुर्व्यवहार, पक्राउ गर्ने अधिकारीमाथि हस्तक्षेप, लागूऔषध सामग्री राखेको, आपराधिक दुराचार र आपराधिक घुसपैठको अभियोगमा दोषी ठहर भएका थिए । तामाङकोे यौन दुर्व्यवहारले समुदायमा गम्भीर खतरा निम्त्याएको भन्दै उनलाई देशनिकाला गरिएको हो ।
त्यस्तै नेपालमा पक्राउ परेका अर्का अशोक गुरुङ सन् २०१२ मा शरणार्थीको रूपमा अमेरिका आएका थिए । उनी त्यतीबेला न्युजर्सीमा आएका थिए । सन् २०१४ मा उनी जर्जियामा गम्भीर आक्रमणको दोषी ठहरिएका थिए । उनलाई अन्ततः तीन वर्षको जेल सजाय सुनाइयो। एटलान्टाका एक अध्यागमन न्यायाधीशले २०१७ को जुलाईमा उनलाई देशनिकालाको आदेश दिएका थिए । मार्च ९ मा ह्यारिसबर्गमा आइसले उनलाई पक्राउ गरेर देशनिकाला गरेको थियो । उनलाई झापामा सशस्त्र प्रहरीले पक्राउ गरेर अध्यागमनको जिम्मा लगाएको छ ।
त्यस्तै मैता सिंह गुरुङ नोभेम्बर २०१० मा अमेरिकामा शरणार्थीका रुपमा आएका थिए । साधारण आक्रमण र आतंकवादी धम्की दिएको आरोपमा प्रहरीले उनलाई २०१२ मा पक्राउ गरेको थियो । गुरुङलाई २०१३ को अप्रिलमा दुवै आरोपमा दोषी ठहराइएको थियो र १२ महिनाको प्रोबेशनको सजाय सुनाइएको थियो। त्यसपछि प्रहरीले उनलाई २०१४ को अक्टोबरमा फेरि पक्राउ गरेको थियो जहाँ उनलाई गैरकानूनी रूपमा सामान लिएर चोरी गरेको आरोप लगाइएको थियो । एक अध्यागमन न्यायाधीशले उनलाई २०१५ मा देशनिकालाको आदेश दिएका थिए । आइसले मार्च १२ मा ह्यारिसबर्गमा गुरुङलाई पक्राउ गरेको थियो। आक्रमणसँग सम्बन्धित आरोपहरू उनी र उनकी श्रीमती बीचको विवादबाट उत्पन्न भएको थियो। गुरुङले श्रीमतीलाई धकेलेका थिए भने ६ इन्चको भान्छाको चक्कुले मार्ने धम्की दिएका थिए।
त्यस्तै बहादुर सिंह राई २०११ मा न्युयोर्कमा शरणार्थीको रूपमा आएका थिए । उनलाई २०१३ मा आइदायोमा घरेलु आक्रमण वा बच्चाको उपस्थितिमा आक्रमण अभियोगमा दोषी ठहराइएको थियो । उनलाई ९० दिनको जेल, पाँच वर्षको प्रोबेशन र जरिवानाको सजाय सुनाइएको थियो। आइसले राईलाई २०१३ को अगस्टमा उपस्थित हुन सूचना गरेको थियो भने एक न्यायाधीशले उनलाई सेप्टेम्बरमा अमेरिका छाड्न अनुमति दिए। तर उनले अमेरिका चाडेनन् । राईले यस वर्षको मार्च ७ मा पिट्सबर्गमा आइसमा रिपोर्ट गरेका थिए । त्यसपछि उनलाई पक्राउ गरी देश निकाला गरियो ।
बुढा सिंह गुरुङ अगस्ट २०१२ मा अमेरिकाको न्यूयोर्कमा आएका थिए । उनले २०१४ मा ल्यान्कास्टर काउन्टीमा साधारण आक्रमणको लागि दोषी स्वीकार गरेपछि दुई वर्षको प्रोबेशनको सजाय सुनाइयो। उनले २०१६ मा फेरि ल्यान्कास्टर काउन्टीमा आपराधिक गतिविधि र वेश्याहरूलाई संरक्षण गरेकोमा दोषी स्वीकार गरेपछि एक वर्षको प्रोबेशनको सजाय सुनाइयो। त्यसपछि २०१९ मा उनले बलात्कार, जबरजस्ती बाध्य पार्ने, यौन आक्रमण, सहमति बिना अभद्र आक्रमण, नाबालिगहरूको भ्रष्टाचार, र नाबालिगसँग गैरकानूनी सम्पर्कको लागि दोषी स्वीकार गरे। ती यौन अपराधहरूको लागि उनलाई पाँच देखि दस वर्षको कैद सजाय सुनाइएको थियो। एक अध्यागमन न्यायाधीशले उनलाई अगस्ट २०२० मा देशनिकालाको आदेश दिएका थिए ।
बिदुर खड्का सन् २०११ मा न्यूयोर्कमा शरणार्थीको रूपमा आएका थिए । डिसेम्बर २०२२ मा खड्कालाई एलेघेनी काउन्टीमा घाँटी थिचेको आरोपमा दोषी ठहराइएको थियो र दुई देखि चार वर्ष जेल सजाय सुनाइएको थियो। बालबालिकाको कल्याणलाई खतरामा पारेको आरोपमा उनलाई पाँच वर्षको प्रोबेशनको सजाय पनि सुनाइएको थियो। २०२० को अक्टोबरमा उनलाई साक्षी र पीडितलाई धम्की दिएको आरोपमा सोही काउन्टीमा दोषी ठहराइएको थियो। जसको परिणामस्वरूप छ देखि बाह्र महिनाको जेल सजाय सुनाइएको थियो। आइसले २०२३ को अप्रिलमा खड्कालाई उपस्थित हुन सूचना दिएको थियो । त्यही वर्षको अगस्टमा एक न्यायाधीशले उनलाई देशनिकालाको आदेश दिएका थिए ।
रूपनारायण खरेल सन् २००९ को अगस्टमा अमेरिका आएका थिए । २०२३ को फेब्रुअरीमा खरेलले डाउफिन काउन्टीमा एक नाबालिगमाथि भएको अभद्र आक्रमणको दोषी स्वीकार गरे। महिनौं पछि मे महिनामा त्यो दोषको लागि छ देखि बाह्र महिनाको जेल सजाय र बालबालिकाको कल्याणलाई खतरामा पारेकोमा चार वर्षको प्रोबेशनको सजाय सुनाइएको थियो। उनलाई २०२४ को मेमा आइसद्वारा पक्राउ गरिएको थियो। यस वर्षको जनवरीमा एक अध्यागमन न्यायाधीशले खरेललाई अमेरिकाबाट देशनिकालाको आदेश दिएका थिए । खरेलले फेसबुकमा १५ वर्षीया केटीलाई भेटेर नदिनेर घुम्न गएका थिए । खरेलले घर जान आग्रह गर्नु अघि नाबालिगको काँध, तिघ्रा र ढाडमा रगडेका थिए। त्यसपछि उनले नाबालिगलाई सामुदायिक बगैंचामा लगेर आफूले चलाएको कारमा यौन दुर्व्यवहार गरेका थिए ।
झण्डै २० जना पूर्व भुटानी शरणार्थीहरु देशनिकालामा, सम्पर्कविहीन
अमेरिकाबाट देशनिकाला भएका ४ जना पूर्व भुटानी शरणार्थीहरु नेपालमा पक्राउ परेपनि अरु भने सम्पर्कविहीन भएका छन् । उनीहरुमध्ये केही नेपालभित्र प्रवेश गरिसकेको आशंका गरिएपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्नभने सकेको छैन । ट्रम्प प्रशासन आइसकेपछि अहिलेसम्म अमेरिकाबाट झण्डै २० जना पूर्व भुटानी शरणार्थीहरु देशनिकालामा परेका छन् ।
पक्राउ परेकाहरुलाई के गर्ने भन्नेबारे अध्यागमन विभागले अझै टुंगाउन नसकेकाले अन्यौल उत्पन्न भइरहदा सर्वोच्चको अन्तरिम आदेश आएको हो । उनीहरुलाई अमेरिकाबाट भने भुटानले स्वीकार गरेपनि भुटान पुगेपछि भने भारतीय सिमानामा ल्याएर छाडेको थियो । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई खानपिन गराएर भारतसँगको सीमावर्ति नाका फुन्सोलिङ ल्याएर भुटानी अधिकारीले छोडिदिएका थिए । त्यहाँबाट उनीहरू पानीट्यांकी नाका हुँदै नेपाल छिरेका देखिएको छ।
अमेरिकाबाट डिर्पोट गरिएका पूर्व भुटानी शरणार्थीहरु नेपाल प्रवेश गर्न सक्ने संभावना देखिएको भन्दै सीमा नाकामा भने कडाइ गरिएको छ । अमेरिकाले डिर्पोट गरेका पूर्व भुटानी शरणार्थीहरु झापाको बेलडाँगीबाट पक्राउ परेपछि सीमा नाका कडाइ गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपालका लागि यो घटना नौलो रहेको प्रहरीको भनाई रहेको छ । अमेरिकाले डिर्पोट गरेकामध्ये ४ जना पक्राउ परेपछि अन्य भुटानमा छन या नेपाल मै लुकेर बसेका छन भनेर अनुसन्धान प्रहरीले गरिरहेको बताएको छ ।
अमेरिकाले डिपोर्ट गरेर भुटान फर्काएपछि पनि भुटान सरकारले आफना नागरिकलाई अस्वीकार गर्नु विडम्वनापूर्ण रहेको अधिकारीहरुले बताएका छन । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यो घटना नेपालका लागि नौलो भएकाले माथिल्ला निकाय र अध्यागमन कार्यालयसँग समन्वय गरेर अगाडी बढ्ने जानकारी दिनुभयो ।
उनीहरु तेस्रो मुलुक पुर्नवास कार्यक्रम अन्र्तगत राष्ट्रसंघीय मिसनबाट प्रमाणीकरण भएर शरणार्थीका रुपमा अमेरिका पुगेका थिए। तर अमेरिका आइसकेपछि विभिन्न अपराधमा संलग्न भएका कारण उनीहरुका ग्रिनकार्डहरु खारेज गरिएको थियो । अमेरिकामा रहेका पूर्व भुटानी शरणार्थीहरुका अगुवाहरुले भने अमेरिकामा कुनै अपराध गरेका पूर्व भुटानी शरणार्थीहरुलाई अमेरिकामा नै आपराधिक कानून अनुशार सजाय दिएपनि देशनिकाला गर्न नहुने बताउँदै आएका छन् । उनीहरुलाई देशनिकाला गर्दा उनीहरु जाने ठाउँ कतै नभएको र राष्ट्रियताविहीन हुने भएकाले देशनिकाला गर्न नहुने उनीहरुको तर्क छ ।
३५ वर्ष पहिला नेपाली भाषी भुटानीलाई भुटानी सरकारले लखेटेपछि उनीहरु नेपाल आएर शरणार्थी जीवन विताउन बाध्य छन् । नेपालले कुटनीतिक पहल मार्फत शरणार्थी समस्याको समाधान निकाल्न ढिलाई गर्ने हो भने समस्या थप बढेर जाने अधिकारकर्मीहरुले बताएका छन ।
सन १९९० देखि भुटानी शरणार्थीहरुको नेपालका पूर्वी जिल्लाहरु झापा र मोरङमा रहेका विभिन्न शिविरहरुमा बसोबास गर्दै आएका छन् । उनीहरुबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट लखेटिएको भन्ने शरणार्थीहरुले दावी गर्दै आएका छन् ।
नेपाल र भुटानले स्वदेश फिर्ता सम्बन्धी सम्झौता कार्यान्वयन गर्न नसकेपछि अधिकांश भुटानी शरणार्थीहरु अमेरिका , ओशिनिया र युरोपमा पुनर्वास भएका छन् । उनीहरुको रेखदेख संयुक्त राष्ट्रसंघिय शरणार्थी उच्चायुक्तको कार्यालयले गर्दै आएको छ ।
कति भुटानी पक्राउ? कस्तो अवस्थामा अमेरिकाबाट देशनिकाला?
अमेरिकामा रहेका भुटानी र अन्य शरणार्थीहरूले गम्भीर अपराध गर्ने वा शरणार्थी स्थिति गुमाउने जस्ता विशेष परिस्थितिहरूमा देश निकाला आदेशको सामना गर्न सक्छन्। यदि देश निकाला गरियो भने तिनीहरूलाई सामान्यतया उनीहरूको मूल देशमा फिर्ता पठाइन्छ । तर भुटानी शरणार्थीहरूको लागि, भुटानले उनीहरूलाई स्वीकार नगरेको कारणले यो जटिल छ ।
चोरी वा सुरक्षा जोखिम जस्ता गम्भीर अपराध गरेमा उनीहरुले देशनिकालाको सामना गर्नसक्छन् । विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिहरू अन्तर्गत विगतमा अपराधको पृष्ठभूमि भएका भुटानी शरणार्थीहरुले देशनिकालाको सामना गर्नसक्छन् ।
भुटानी शरणार्थी समुदायमा विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुको संख्या उल्लेख्य रहेको छ । जसले गर्दा अहिले ट्रम्प प्रशासनले उनीहरुलाई पक्राउ गर्ने दर पनि तीब्र पारेको छ । जसमध्ये कतिपय विगतमा आपराधिक पृष्ठभूमि भएका कारण देशनिकालाको आदेश पाइसकेकाहरु समेत छन् ।
पुनर्वास कार्यक्रममार्फत नेपालबाट अमेरिका आएका भएतापनि अमेरिकाले उनीहरुलाई अमेरिकी नागरिकता नलिंदासम्म भुटानी नागरिकका रुपमा नै बर्गिकरण गर्छ । ट्रम्प प्रशासन आइसकेपछि विभिन्न स्थानबाट २० जना भन्दा बढी भुटानीहरु अध्यागमन एजेन्सी आइसद्वारा पक्राउ परिसकेका रिपोर्टहरु आएका छन् । यद्यपी भुटानीहरु पक्राउ पर्ने क्रम बाइडेन प्रशासनमा समेत थियो ।
बाइडेन प्रशासनका ४ बर्षमा ५१ जना भुटानीहरुलाई आइसले पक्राउ गरेको थियो भने उनीहरुलाई आइसको हिराशतमा राखिएको थियो । तर उनीहरुलाई आइसले देशनिकाला भने गर्न सकेको थिएन । आर्थिक बर्ष २०२१ मा १५ जना, २०२२ मा १२ जना, २०२३ मा १२ जना र २०२४ मा १२ जनालाई आइसले पक्राउ गरेको थियो । तर आइसका अनुशार उनीहरुमध्ये कसैलाई पनि अमेरिकाबाट देशनिकाला भने गर्न सकिएको थिएन ।
आर्थिक बर्ष २०१८ र २०१९ मा एकएकजना भुटानीहरुलाई देशनिकाला गर्न आइस सफल भएको थियो । शरणार्थी बाहेक अन्य च्यानलबाट अमेरिका आएका भुटानीहरुसँग भुटानको म्यादसहितको पासपोर्ट भएको खण्डमा भने अमेरिकाले उनीहरुलाई देशनिकाला गरेर भुटान पठाउनसक्छ । तर २०१८ र २०१९ मा देशनिकाला गरिएकाहरु कुन श्रेणीका थिए भन्नेबारे भने प्रष्ट छैन ।
झण्डै १ लाख भुटानी शरणार्थीहरु अमेरिका लगायत तेश्रो देशमा पुनर्वास भएका छन्, जसमा अमेरिकामामात्र पुनर्वास हुनेहरुको संख्या झण्डै ८५ हजार थियो । व्यापक पुनर्वास परियोजनाको बावजुद लगभग ७,००० भुटानी शरणार्थीहरू अझै नेपालमा नै रहेका छन् ।