६ महिलालाई लागूपदार्थ खुवाएर यातना दिएको र बलात्कार गरेको न्युयोर्कका वकिलविरुद्ध अभियोग
प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

न्युयोर्कको म्यानहट्टनमा एक निजी इक्विटी वकिलमाथि अनलाइनमार्फत भेटिएका कम्तीमा छ जना महिलालाई सन् २०२४ को अक्टोबरदेखि २०२५ को मार्चसम्म आफ्नो मिडटाउन अपार्टमेन्टमा यातना दिने, नशालु पदार्थ खुवाउने र बलात्कार गर्ने गरेको आरोप लागेको छ । म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी एल्विन ब्रागले यी अभियोगहरु सार्वजनिक ग।रेका थिए ।
आरोपी रायन हेम्फिलविरुद्ध बिहीबार न्युयोर्क राज्य सर्वोच्च अदालतमा ११६ वटा अभियोगपत्र दायर गरिएको छ, जसमा यौन हिंसाको शृंखलाबद्ध घटनाहरू उल्लेख छन्।
ब्र्यागका अनुसार अक्टोबरदेखि हेम्फिलले कम्तीमा छ जना पीडितमाथि घण्टौंसम्म बलात्कार र शारीरिक यातना दिएको भिडियो खिचेको आरोप छ। उनले कहिलेकाहीं शक कलर वा पशुहरूका लागि प्रयोग हुने क्याटल प्रड प्रयोग गरेको बताइएको छ।
घटनाहरूका क्रममा उनले पीडितहरूलाई जबरजस्ती वा छल गरेर विभिन्न नियन्त्रित नशालु पदार्थहरू खुवाएर बेहोस वा गम्भीर रूपमा अशक्त बनाएर हिंसात्मक आक्रमण गरेको अभियोग छ । हेम्फिलले क्रेगलिस्ट र सिकिङ डटकम जस्ता वेबसाइटहरूबाट महिलाहरूलाई भेटेका थिए र यौनका लागि ठूलो रकम दिने प्रस्ताव राखेका थिए ।
तर धेरैजसो अवस्थामा उनले सहमति भएको रकम भुक्तानी गरेनन् । एक अवस्थामा नक्कली डलरले भुक्तानी गरेको अभियोजकहरूले बताएका छन् । यातना समाप्त भएपछि हेम्फिलले महिलाहरूलाई प्रहरीमा नजान धम्की दिएको बताइएको छ ।
उनले पीडितहरूलाई प्रहरी र संगठित अपराधसँग सम्बन्ध रहेको भन्दै धम्की दिएको जनाइएको छ । साथै प्रहरीमा गएमा उनीहरू नै पक्राउ पर्ने भन्दै धम्की दिएको जनाइएको छ । एक अवस्थामा एक महिलाले दायर गरेको उजुरी फिर्ता लिन २,००० डलर दिएको ब्रागले बताएका छन् ।
रायन हेम्फिलमाथि पाँच महिनामा छ जना फरक महिलामाथि बलात्कार र हिंसात्मक आक्रमण गरेको अभियोग लगाइएको र थप रूपमा उनले महिलाहरूलाई धम्की दिएको र वकिलको हैसियत प्रयोग गरेर उनीहरूलाई डर देखाएउदै अपराधहरूको उजुरी गर्नबाट रोकेको अभियोग लगाइएको म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी एल्विन ब्रागले बताएका छन् । यो अनुसन्धान जारी रहेको र थप पीडितहरू हुन सक्ने विश्वास गरिएको जनाइएको छ ।
मार्च १ मा अनुसन्धानकर्ताहरूले सयौं गोली, क्याटल प्रड, हेरोइन र फेन्टानिल सहित ठूलो परिमाणमा लागूपदार्थ, महिलाहरूको दर्जनौं भिडियोसहितका धेरै निगरानी क्यामेराहरू र अन्य सामग्रीहरू फेला पारेपछि हेम्फिल पक्राउ परेका थिए। यो मुद्दाका विवरणहरू अत्यन्तै विचलित गराउने खालका रहेको र कमजोर महिलाहरूलाई लक्षित गरी सञ्चालित हिंसा र क्रूरताको सुनियोजित अभियान रहेको प्रहरीको भनाई छ ।